“खुसुर-फुसुर” सम्बाद
-लुना / बेल्जियम
‘कस्तरी सुकुला हुन सक्या हजुर ! उठ्स्यो न भन्या ! ह्या आफूलाई कस्तो मज्जा आईरा’ बेलाँ ‘
उसले लोग्नेलाई घच्घच्याई तारम्तार ।
‘ओ ! यस्तरी डिस्टर्ब नगर न ! निदाउ तिमी पनि ! पार्टी / पेगले टाउको उठाउन नसकी रा’ बेलाँ’
उसले तकियाले अनुहार ढाकेर निदाउने चेस्टा गर्यो ।
‘म कसरी निदाउँ हजुर ! यस्तो रमाईलो लाई’रा बेलाँ ।
हिजो तेल्ले हाम्लाई कम्ता गिराएन । हाम्रो निद चैन कम् खोस्या थ्यो तेल्ले अनि तिनीहरुले ।
आहा ! यी हेरीबक्स्योस त हजुर । भंगेरे अक्षरमा कस्तरी लेख्या छन् मिडियाले तेल्लाई । अनि तिनीहरुको कामलाई । मलाई त यो अखबार च्यापेरै निदाउन मन लाग्या हो । बरु निद नै आएन र पो हजुरलाई उठाई रा’ नि !
हेरीबक्स्योस् न भन्या मिडियाले कस्तरी लेख्या छ तेस्को अनि तिनीहरुको बारेमा ।
हजुरबाट यस सम्बन्धमा केही भनाई राख्नु पर्छ । हजुरले केही नबोल्ने हो भने म भोलि नै पत्रकार सम्मेलन गर्छु हाम्रै निवासमा टन्न भोजको ब्यबस्था गरेर ।
तेल्लाई अनि तिनीहरुलाई मौकामा किन छोड्ने उँधो घचेट्न ।’
पत्रकार आ’सी हजुरले क्यै नबोल्सेर सुख्ख !
आहा ! मलाई त क्या मज्जा आई’रा छ भन्या ।’
अघि सम्म जबरजस्ती निदाउन खोजेको उ ऐले चैं नराम्रो सपनाबाट ब्युँझे झैँ भएर झस्कँदै बोल्यो, ‘हँ ! हँ ! हँ ! के भन्यौ तिम्ले ? तिम्रो होश त ठेगानमा छ ? पत्रकार सम्मेलन गर्छु रे । त्यो पनि हाम्रो निवासमा । हेर हेर यो आईमाईको बुद्दी । हरे ।
उसले आफ्नै हातले आफ्नो निधार ठोक्यो अनि बोल्यो, ‘भुल्यौ तिम्ले हिजोका ति दिन मेरा ? कसरी म गाउँबाट राजधानी छिर्या थेँ ? एउटा झोला त्योपनि फाटेर टालेको अनि मैलो चप्पल त्यो पनि छिनेर टालेको अनि खिइएको । तिम्रा मिडियाले त्यो भुल्या छन् भन्ठानेकी छ्यौ तिम्ले ? ति आउने छन् । टन्न खाने छन् । अनि थालमा चुठेर हाम्रै बिरुद्द लेख्ने छन् । यस्तो कुरा कस्तो नबुझ्या तिम्ले ?
लोग्नेको कुरा सुनेर केही बेर गम खाएपछी स्वास्नी बोलि,’त्यो त हो हजुर । तर अब यस्तो हुँदा ति सबै हाम्रै दाँजोमा पुग्न सहज हुने भए भन्ने पिर ला’र हो ।
‘ ह्या ! तिमी पनि । यतिको पढे लेखेकी भएर पनि कत्ति लाटी भन्या । धत् ! उनेरको त्यो कामले त हाम्लाई हाईसन्चो नै बनायो नि । हिजो सम्म कम्ता डर लाग्दैनथ्यो हामी माथि ढुंगा बर्सेला भन्ने । अब त हामी जस्तै उनीहरु पनि भएपछी अनि उनीहरुले आफूलाई जोगाउन त्यस्तो नियम बसाउने भएपछी उनीहरु जोगिदा हामीपनि जोगिने भयौ । अनि आज उनीहरु त्यहाँ छन् मनलाग्दी गर्न । भोलि हामी त्यो ठाउँमा हुन सक्छौ । यो सब हाम्रै
भलाईको लागि भई’राको कुरा हो भन्ने हाम्ले बुझ्नु पर्छ बुझ्यौ । हाम्ले तेल्लाई र तिनीहरुलाई बिरोध गरेर पहिरोमा घचेटे हामीपनि तिनीहरु संगै पहिरो बाट उँधोमुन्टो गुल्टिन्छौं ।
नभुल तिम्ले !!! हाम्ले यतिका सम्पति सहजै थुपार्या होईनौ यति छिट्टै । कम्ता दुख्ख भएन त्यतिका ढाँट, छल, भ्रस्टचार गर्न । मुलुक लुट्न । त्यै भर बरु चुपचाप बसौं देखेको नदेखे झैँ गरि । सुनेको नसुने झैँ गरि । यसो गर्नुमा नै हाम्रो बुद्दिमानी
हुने छ । बुझ्यौ ?’
अहिले सबै कुरा बुझेकी उ फेरी पनि रमाएर बोल्न थालि, ‘बुझ्न त बुझें नि हजुर तर के गर्नु मन चै कस्तो कस्तो औडा भई’रा छ । का के का के जस्तो ।’
उ गनगन गर्दै निदाउने प्रयास गर्दै थिइ, खै के सम्झिएर उसको लोग्ने नजिकै पुग्यो र कानमा खुसुर फुसुर गर्न थाल्यो, ‘हेर ! यो कुरा तिम्ले मसंग गरे पनि अरु कोई कसैसंग नगर है ! यस्तो बिषयमा त तैं चुप मैं चुप हुनुमा नै फाईदा छ । बुझ्यौ ?’