गडुलध्वज गुरुङको गीति संग्रह “कोसिस” र मेरो बुझाई
-पुष्प बरुवाल / आमस्टरडम, द नेदरल्यान्डस
“सम्झनाको पानाभरि केवल दू:ख संगालेर
खुसी भाग्यो कोसौ टाढा पीर-वेदना अंगालेर
घामको तातो सौभाग्यनै सम्झी, उसैलाई नै पर्खिरहेको छु ।
संघर्ष रहेछ जीवन, संघर्ष गरिराखेको छु
सबले देख्छन फूलझै लाली जोवन
तर भित्र-भित्रै मरिरहेको छु……. ।”
जसै मैले यो गीत सुनेँ, म यसमा समाविष्ट शव्दमा हराउन वाध्य भएँ । सम्झिएँ मैले, यो परदेशमा रहेर म र मजस्तै लाखौं मानिसहरुले गरेको संघर्ष र त्यसको वावजुद पनि पाएका तीरस्कारहरु वा सफलतापछिका असन्तुष्टिहरुलाई । अनि लाग्यो यो कृतिमाथि केही लेखौं र चलाएँ मैले कलम ।
त्यसो त, मेरो समीक्षा वा समालोचना लेखन यात्रा रोकिएको पनि लगभग चार वर्ष भैसकेको छ । पछिल्लोपटक मैले नेदरल्यान्डसमा रहेका युवा गीतकार श्री सूर्यराज गिरीको “उपसना” नामक गीति एल्बममा रहेका प्रस्तुतिहरुको समीक्षा लेखेको थिएँ । त्यस उप्रान्त मैले आफूलाई समालोचना लेखनबाट झन्डै पलायन जस्तै बनाएँ भन्दा पनि हुन्छ । कलम चलाइयो, तर कुनै कृतिमाथि होइन, केवल राजनैतिक र सामाजिक पृष्ठभूमिमाथि मात्र । तर आज फेरि एकपटक म केही लेख्ने जमर्को गर्दैछु । र, यो अवसर प्रदान गरेको छ गायक तथा संगीतकार श्री गडुलध्वज गुरुङ (जिमी) जीको नविन गीति संग्रह “कोसिस” ले ।
“कोसिस” ! नामैले पनि प्रष्ट पार्छ -यो एउटा प्रयास हो । र, प्रयासको अर्थ हो आफूले सकेसम्म र भ्याएसम्म गरिएको वा गरिने मेहनत ! अर्थ प्रष्ट छ ! यसै भएरपनि होला जिमीजीले यसलाई उत्कृष्ट र कर्णप्रीय बनाउन अतिनै धेरै मेहनत गर्नुभएको देखिन्छ संग्रहमा रहेका गीतहरु सुन्दा । माया-पिरतीका कुरामात्र होइन आफ्नो गाउँघर र डाँडा-पाखाहरुको स्मरणहरुलाई गीतीलयमा पोख्नुभएको छ गायकले यो संग्रहमा ।
त्यो हाँसखेल गर्ने लाकुरीको चौतारी । त्यस्मा चल्ने सरर मन्द हावा । मेलापात जाँदा मायालुसँग साटिने मायाका कुराहरुलाई वर्षौदेखि परदेशमा रहेर पनि भुल्नु भएको छैन उहाँले । बरु यो पराई भूमिमा बसेर त्यस्लाई झल्झली सम्झिनु भएको छ र भक्कानिनु भएको छ गीतमार्फत । गीत सुन्दा लाग्छ, यो गीत एउटा प्रतिनिधि हो जस्ले आमा-बुबालगायत आफन्तहरुको सुटुक्क आँखा छल्दै भञ्ज्याङ चौतारीमा बसेर र त्यो पनि सम्भव नभए घाँस दाउरा र मेलापात गएको मौका छोपी आफ्नी मायालुसँग खुसुक्क भलाकुसारी गर्ने हाम्रो समाजमा अद्धापि रहेको प्रचलनलाई प्रतिनिधित्व गरेको छ । र उजागर गरेको छ, विभिन्न वाध्यताले गर्दा आफ्नो देश, जन्मे हुर्केको त्यो रमाइलो गाउँ-वस्ती र प्राणभन्दा प्यारा आफन्तजनलाई चटक्कै छोडेर परदेशमा रहन वाध्य तमाम नेपालीहरुको भावनालाई !
बहु-आयामिक यो संग्रहमा गायक केवल मायापिरतीमा मात्रै रमाउनु भएको छैन । जीवन र मृत्यूको निकटता तथा मृत्यूपश्चात देखिनसक्ने परिस्थितिलाई समेत बडो सजीव किसिमले उतार्नु भएको छ आफ्नो स्वर र संगीतमा यो संग्रहमार्फत । यस्तो लाग्छ, मानौँ की जीवनको भोगाईसँग अन्योन्याश्रित हुनुहुन्छ जिमीजी र मृत्यूको शास्वततासँग आत्मासात गर्नुहुन्छ उहाँ । त्यसैले त यो दु:खात्मक घडीमासमेत भावनामा रत्तिभर नकहालिई यथार्थलाई यसरि आत्मासात गर्नुहुन्छ र गुन्गुनाउनु हुन्छ-
“बज्न थाल्यो मंगल बाजा, गाउँ-बस्ती थर्काई
प्रीया मेरी रुन थालिन हातको चुरी चर्काई
रोए जस्तो गर्छिन भाउजु हातले मुख छोपी
भाइ बस्यो टोलाएर दाइले झिके टोपी
दङ्ग पर्यो सानो छोरो, सबको मुहार हेरी
मलाई भूँईमा सुताई दिए पिताम्बरले बेरी ।
के को कोलाहल हो मेरो घरमा आज,
म दूखिको शवको जन्ती पो हो कि?
बिदा गर्न आए कसैको छ आँशु
कोहि हाँस्छन कोही फूलमाला बोकी ।”
(“केको कोलाहल हो” बाट)
संग्रहमा रहेका यी शव्दहरुले मलाई पुराना गायक स्व. झलकमान गन्दर्भ दाजुको अतिनै प्रसिद्ध गीत “आमाले सोध्लिन खै छोरा भन्लिन” को सम्झना गर्न बाध्य गराए । कति धेरै यथार्थहरु बोकेका छन शव्दहरुले ! एउटाको लास (शव) को अगाडि हुने सम्पूर्ण कृयाकलापहरुलाई सजीवता प्रदान गरेको छन शव्दहरुले । यद्धपि म लाशलाई घाटमा लाँदा मंगल बाजा बजाइन्छ वा लामो स्वर निकाल्ने गरी एकहोरो शंखघोष गरिन्छ भन्ने कुरामा भने अलिक दोधारमै रहेँ । हुनसक्छ नेपालको कुनै क्षेत्रमा बसोबास गर्ने कुनै समूदायमा यस्तो प्रचलन पनि होला की ! किनकी नेपाल बहुभाषी र बहुजातीय संस्कृति भएको मुलुक हो । यहाँका अधिकांश जातजाति, धर्म र समूदायहरुमा जन्म, विवाह र मृत्यूमा गरिने संस्कारहरु फरक-फरक हुन्छन । तसर्थ पनि म यसमा धेरै टीका टिप्पणी गर्न आवश्यक ठान्दिन । बरु त्योभन्दा बढि धेरै राम्रा र यथार्थपरक शव्द संयोजन भेटेको छु यो गीतमा ।
आफ्नो ख्वामितको देहान्तका कारण विधवाको परिचयमा ढाल्न हातभरिका रंगीन चुराहरु फुटाउनुपर्ने सामाजिक वाध्यतामा रहेकी आफ्नी जीवनसंगिनीको पीडा । जिउँदो हुन्जेल देवरलाई परिवारमा भार भएको भनेर गाउँ चाहार्ने चोथाले भाउजुले (माफ गर्नु होला सबै भाउजु समान हुँदैनन) लाशको छेउमा बसेर समाजको अगाडि देखाउने रुवाईको स्वाङ । आफ्नो अभिभावकको रुपमा रहेको दाजुको मृत्यूबाट मर्माहत भएको भाइको चिन्तन । मृत्यू सत्य हो वा यो केवल आफूले साथीभाइहरुसँग खेल्ने गरेको पुतलीको खेल जस्तो मात्रै हो भन्ने कुरामा अनभिज्ञ सानो छोरोको कौतुहलताले गीतलाई भावनात्मकरुपमा जीवनतता दिने प्रसस्त कोशीस गरेको मैले पाएको छु ।
हो, निस्चय पनि मृत्यू एउटा ध्रुवसत्य कुरा हो । जन्मपछि मरण अकाट्य छ । यो धर्तिमा जस्तो आइयो त्यस्तैनै जानुपर्छ । त्यसैले यो केही समयको रामछाँया जस्तो जिन्दगीमा रिस राग किन ? मनमुटाव र कटुता समस्याका समाधान कदाचित होइनन भन्ने जान्दाजान्दै पनि यो तेरो र मेरो केका लागि? समाजलाई ठाडो प्रश्न तेर्स्याएको छ यो संग्रहले । जब शरीर निश्वास हुन्छ र त्यसलाई हरियो बाँसमा बाँधेर घाटको यात्रामा हिडाइन्छ अनि त्यो बेला मान्छेले केही चीज आफूसँग लाँदैन । जान्छ त केवल निर्जीव शरीर मात्र । त्यो पनि केवल घाटसम्म । यस्तो तथ्य जानेरै पनि तेरो र मेरो किन र केका लागि गर्ने ? यो अनिश्चित जिन्दगीमा वैरभाव होइन, मित्रताका साथ बाँच्न सिकौ भन्ने निकै राम्रो सन्देश दिन खोज्नुभएको छ गायकले यो संग्रहमार्फत ।
त्यस्तै जीवन र यथार्थता बोकेको अर्को निकै मार्मिक गीत पनि पाएँ मैले यो एल्बममा । त्यो हो – यो मुटुको पानामा (गीतको शिर्षक) को टुहुरोसम्बन्धी गीत । टुहुरो हुनुपर्दाको पीडा र उसमाथि आइपर्ने आर्थिक र सामाजिक लगायतका विविध समस्याहरुको बारेमा यो गीतमार्फत गायकले स्पष्ट बताउनु भएको छ । अझ यसो भनौं, यो गीतमार्फत गायक तमाम टुहुराहरुको प्रतिनिधि बन्नुभएको छ र आफ्नो वेदनाहरुलाई सुनिदिन यसरी झकझक्याउदै हुनुहुन्छ यो स्वकथित चेतनशील भनाउँदो आजको आडम्वरी समाजलाई ।
“यो मुटुको पानामा आशुले लेखेको टुहुरोको कथा
कस्ले बुझिदेला, यो दूखिको मर्म,
कस्को सामू पोखौं एक्लोपनको व्यथा
टुहुरो भै जिउन पनि श्रापनै रहेछ जीवन
ममताको छाँया खोज्दै भौतारिन्छ यो मन
कोही मलाई दया गर भोकप्यास लाग्दा
कसैलाई पाप लाग्ने छैन मेरो शरीर छुदा ।”
(“यो मुटुको पानामा” बाट)
अहो, कति मार्मिक शव्द रचना ! कत्रो वास्तविकता बोकेको गीत !! यो गीत सुन्दा यस्तो लाग्छ, यहाँ एउटा अभिभावकविहीन मानव आफ्नो बाँच्न पाउने अधिकार संरक्षणको लागि यो संभ्रान्त र सुखिन मानवसमाजकै आघिल्तिर करुणभावमा रुँदैछ । चिच्याउँदैछ । कहालिदैछ । र एकछाक गाँसका लागि, एकसरो कपासका लागि र एकओत वासको लागि अनुरोध गर्दैछ । र, यो गीतमार्फत यसको प्रतिनिधित्व गर्नुभएको छ यसका सर्जक (रचनाकार, गायक तथा संगीतकार) जिमी गुरुङजीले ।
प्रस्तुतिका दृष्टिकोणले भन्नुपर्दा यो “कोसिस” गीति एल्बमलाई समिश्रित भन्न रुचाउछु म । जसमा प्रेमरस, मधुरस र विरहीरसको प्रयाप्त समिश्रण छ । तिम्रो हाम्रो पुरानो चिनारी (शिर्षक – तिम्रो हाम्रो पुरानो), कहाँ जान लाग्यौ पगली, कोरिबाटी पछ्यौरीलाई भुईमा लतारी (शिर्षक- कहाँ जान लाग्यौ) जस्ता गीतहरु प्रेमरसमा छन भने यो मुटुको पानामा, केको कोलाहल हो जस्ता गीतहरु बिरहरसमा छन । तिमी हामी हाँस्ने, संघर्ष रहेछ्, यो मुटुको पानामा, भुतुक्कै पार्यो मलाई, नपिऊँ भने मायाले, कहाँ जान लाग्यौं, तिम्रो हाम्रो पुरानो, केको कोलाहल हो, ए कान्छी हेर न लगायत जम्मा ९ (नौं) वटा गीतहरु राखी म्युजिक नेपालले उत्पादन गरी बजारमा ल्याएको यो “कोसिस” एल्बममा संग्रहित अधिकांश गीतहरु गायक स्वयमले रचना गर्नुभएको देखिन्छ भने केही गीत रचनामा भने उहाँलाई गीतकार चन्द्र ब्लोन र राज कुमार थापाले समेत साथ दिनुभएको छ ।
शव्द रचनाका दृष्टिकोणले हेर्ने हो भने सबै गीतहरु उत्कृष्ट छन । केको कोलाहल हो र यो मुटुको पानामा बोलको गीतमा रहेका शव्दहरुले साँच्चिनै मानव संवेदनालाई छुन्छन र यथार्थलाई बुझ्न जो कोहीलाई पनि झकझक्याउदै आन्तरिक मर्मलाई चिमोट्छन । तथापि यसमा केही शव्दहरु भने बिल्कुलै अनुपयोगीरुपमा प्रयोग गरिएको पाएँ मैले । उदाहरणको लागि के को कोलाहल हो शिर्षकको गीतमा रहेको “केको कोलाहल हो मेरो घरमा आज, म दूखिको शवको जन्ती पो हो कि….लाई लिन सकिन्छ । यहाँ रचना गर्ने क्रममा शव्दकार आँफै नमज्जाले चिप्लिनुभएको छ । किनकी शव भनेको लाश हो र लाशमा जन्ती होइन मलामी गइन्छ भन्ने कुरा उहाँको सोचबाटै हराएको छ । जन्ती त विवाहमा मात्र गइन्छ भन्ने विद्धमान हाम्रो सामाजिक प्रचलनलाई हामीहरुले कदापि भूल्नुहुँदैन जस्तो लाग्छ मलाई । यो एउटा उदाहरणमात्रै हो । अरु पनि छन केही यस्ता अस्पष्ट र दोहोरो अर्थलाग्ने शव्दहरु । शव्द भावनाको मुटु हो र गीतको मर्म । त्यसैले गीतलाई जीवन्त राख्न शव्दले निकै ठुलो भूमिका निर्वाह गर्ने परिप्रेक्षलाई रचनाकारले सधैं हेक्का राख्नुपर्छ जस्तो लाग्छ मलाई ।
यो एल्बमको एकदमै सवल पक्ष भनेको संगीत संयोजन पाएँ मैले । जुन मेरो दृष्टिकोणमा ज्यादैनै तारिफलायक छ । ताल, वाध्यवादन संयोजन, र कोरस प्रस्तुति सबै दृष्टिले निकै उत्कृष्ट बनेको छ यो गीति संग्रह (एल्बम) । स्वर पक्ष पनि निकै राम्रो छ । तथापि गायकको गायकीकलामा (संगीतको भाषामा स्टेबल र सस्टेन बिटमा गाउनसक्ने कला भन्छौ हामी) भने सामान्यरुपमा कतै-कतै गायक चुक्नुभएको हो कि भन्ने आभाष मिल्छ । तर यसो भन्नुको अर्थ उहाँमा गायकीपन छैन भन्ने कदाचित होइन । ट्युनिङ र रिदममा गाउनसक्ने निकै राम्रो खुबी भएको गायकरुपमा उभ्याउनुभएको छ उहाँले आफूलाई यो संग्रहमा । आलाप र तानको ज्ञाता देखिनुभएको छ उहाँ यसमा ।
मैले यो संग्रहको शिर्षक हेरेर माथिनै पनि उल्लेख गरिसकेको छु- यो कोशीस हो र कोशीसको अर्थ प्रयास । कृतिकारुपमा उहाँको प्रयास सफल भएको छ । फेरि, राम्रो कामको लागि गरिने प्रयासहरुलाई राम्रैरुपमा हेरिनुपर्छ जस्तो लाग्छ मलाई । यसर्थ पनि हामीले उहाँहरुको कोशीसलाई मुक्त कण्ठले तारिफ गर्नैपर्छ भन्छु म त । समग्रमा भन्नुपर्दा कोशीस गीति एल्बम एउटा राम्रो र कर्णप्रीय बनेको छ नै । त्योभन्दा अधिक यसले नेपाली सांगीतिक जगमा एउटा अर्को ईटा थप्ने काम समेत गरेको छ । यसर्थ पनि हामीले यो गीति एल्बम र यस्का प्रस्तोता समेत रहनुभएका गायक तथा संगीतकार मित्र श्री गडुलध्वज गुरुङ (जिमी) ज्यूको यो कोशीसलाई सहृदय नमन गर्दै यसको अधिक सफलताको कामना गर्नैपर्छ ।
अन्तमा- यो लेखको बिट मार्नुअघि यो संग्रहमा रहेको गीतको एकहरफ पून: गुन्गुनाऊँ जस्तो लाग्यो मलाई –
“जस्तो आयो उस्तै जान्छु, दूईटा मुठ्ठी बाँधी
रीस ईर्ष्या छाडी सबै हाँसी रमाऊँ साथी ….”






