दूतावासको लेखा परिक्षणपनि शंकाकै घेरामा (लेखा परिक्षकको अडियो सहित)
पेरिसको राजदूत निवास मर्मत र संभारका नाममा अनियमितता र भ्रस्टाचार भएको तथ्य अब लुकाएरपनि लुक्दैन । छर्लंगै छ । राजदूतावासकै कर्मचारीको भनाईलेनै स्पष्ठ पार्छ । ति सबै खर्च लेखा परिक्षणबाट पास हुनुपर्छ । त्यसको सत्य तथ्य परिक्षण गर्न परिक्षक निस्पक्ष हुनुपर्छ । लेखा परिक्षण गर्नेहरु स्वतन्त्र हुनुपर्छ । निस्पक्ष हुनुपर्छ । प्रभाव र लोभलालचमा फस्नु हुन्न । स्वतन्त्र ढंगले लेखा परिक्षण गरिनुपर्छ । तर अहिले लेखा परिक्षण गर्न भनेर आएका महालेखा परिक्षकका कर्मचारी र परराष्ट्रका एक कर्मचारी राजदूत निवासमै बसिरहेका छन् । यसले उनीहरुको काममा शंका जन्माएको छ ।
नेपालबाट अहिले परराष्ट्र मन्त्रालयका लेखा शाखाका उपसचिव दूर्गा रायमाझी, महालेखा परिक्षक कार्यालयका मोहदत्त तिमल्सिना र नेत्रप्रसाद गौतम लेखा परिक्षण गर्न आएका छन् । तर जो जाँचबुझ गर्न आएका छन् तिनको काम कारवाहीपनि शंकास्पद छ । किनभने यसरि लेखा परिक्षण गर्न आएका यी तिनै जना कर्मचारीले टि ए डि ए लिन्छन् । टोलीको नेत्रित्व गरेका मोहदत्त स्वयंले यो स्विकारपनि गरे । यसरि ति कर्मचारी राजदूतकै निवासमा राजदूतकै खानपिनमा नबस्नुपर्ने हो । उनीहरु राजदूत श्रेष्ठकै निवासमा सँगै बसिरहेका छन् । लेखा परिक्षक कार्यालय र परराष्ट्रका लेखा शाखाका उपसचिव आएकोपनि पेरिसको हाम्रो राजदूतावासले अति गोप्य राख्न खोजेको थियो । तर यसको तथ्य नेपालप्लसले परराष्ट्र मन्त्रालय स्रोतबाटै पत्ता लगायो ।
राजदूतावास मर्मत र बिभिन्न शिर्षकमा अनियमितता र भ्रस्टाचार भएका तथ्यबारे बिभिन्न पत्रपत्रीकामा सार्वजनिक भएको थियो । यस्तो जानकारी हुँदा हुँदैपनि किन यी कर्मचारी राजदूत श्रेष्ठसितै बसिरहेका छन् ? लौ नेपालको मन्त्रालयले दिएको टि ए डि एले पेरिसको होटेलमा बस्न नपुग्ला रे । के तुलनात्मक रुपमा पैसा हिनामिना गरेको आरोप नखेपेका, आर्थिक थैलीको जिम्मेवारी नलिएका अन्यसित बस्न सकिने थिएन ? जसले गरेको कामका बारेमा छनबिन गर्न भन्दै आएको हो उसैसित बस्ने, उसैको खाने गरेपछि के स्वच्छ तरिकाले लेखा जाँच गरिएला ? आएर सरकारी घरमै बस्ने, राजदूतसितै मिलेर खानपिन र घुमघाम, सरकारी गाडीकै प्रयोग गर्ने हो भने किन यता आउँदा टि ए डि ए लिए ? यता सरकारी सुबिधामै बस्ने खाने गर्ने र उतापनि बस्न खान र भ्रमण भत्ता भन्दै रकम लिन मिल्छ ?
टोलीको नेत्रित्व गरेका मोहदत्त तिमल्सिनालाई मैले राज्यका तर्फबाट टि ए डि ए लिने र फेरी राजदूत निवासमै बस्ने गर्न नैतिक रुपमा मिल्छ ? भनेर सोध्दा उनले आफूहरु नैतिक रुपमा चुकेको स्विकार गरे । तरपनि आफ्नो लेखा परिक्षणलाई राजदूतसित बसेको आधारमा प्रभाव हुन नदिने बताए ।
सुशासन ऐन लगायत सरकारको नीति तथा कार्यक्रममा के कति बजेट आएको थियो, के कति खर्च भयो ? कुन शिर्षकमा भयो ? यो सूचनाको हकमा पर्छ र संवन्धित कार्यालयले (यहाँ दूतावासले) दिनुपर्छ । तिमल्सिनाका अनुसार त सरकारी निति अनुसार मासिक रुपमै कार्यालयले बजेट सार्वजनिक गर्नुपर्छ । सेवा दिँदा ठेकेदारको नामसमेत दिनुपर्छ । किन कार्यक्रम गर्न लागेको ? के उपलब्धि हुन्छ ? कार्यक्रमपछि के उपलब्धि भयो ? त्यो समेत उल्लेख गरेर सार्वजनिक गर्नुपर्छ । तर पेरिसका राजदूत मोहनक्रिष्ण श्रेष्ठले त यस्ता कार्यक्रम प्राय गोप्य राख्छन् । कार्यक्रम गर्दा आफ्नै नजिकका, आफ्नै चिनजानका र पर्यटन प्रवर्धनका नाममा सम्पूर्ण परिवारका सदस्यहरुलाई सरकारी गाडी कुदाउँदै लैजाने गर्छन् । कुनैपनि खर्च, कार्यक्रम, कार्यक्रमको उद्देश्य, कार्यक्रमको उपलब्धिबारे सार्वजनिक गर्ने गरेका छैनन् ।
मोहदत्त तिमल्सिनासितको सम्पादित अडियो रिपोर्ट सुन्नुस । अडियो सम्पादन गरिदिएकोमा रेडियो पत्रकार राजन भट्टराईलाई धेरै धेरै धन्यावाद । यस अघिको अडियोपनि उनैले सम्पादन गरेका हुन् ।
Moha Datta Timalsena – Interview With Auditers Of Nepal Embassy In France




