कथा : साँझदेखि साँझसम्म

विध्या सापकोटा 

‘अब पनि, तिमीलाई लाग्दैन कि हामी एक हुने बेला भयो ?’

‘अचम्म त मलाई यस कुरामा लागेको छ कि, त्यो केटो अरु कोही नभएर सम्राट थियो ।’

संवादहरु पालैपालो भित्र कतै लगातार ठोक्किरहेको थियो । मध्यरातमा उसको फोनले बढाइदिएको मुटुको धकधक साँझपख आमाको अजब सपनाको कहानी सुनेर अझ तेज भयो । अमर प्रेमका कहानीहरुमा प्राप्ति ठूलो हैन भन्न खोजिए पनि कतै न कतै सबैले आफ्नो प्रेम हासिल गर्न चाहेकै हुन्छन् । स्वभावतः म पनि चाहन्थें आफू उसको हुन, उसलाई आफ्नो बनाउन ।

हुनपनि, भन्नेहरु प्रेमलाई संसारकै सर्बोत्तम सुखानुभूति मान्छन् क्यार । हाम्रो साझा सपना आमाले देख्नु आफैमा रमाइलो कुरा थियो । तर त्यो अनुभूति आमाको सामुन्ने प्रकट गर्ने हिम्मत थिएन ममा, ‘ह्या आमापनि आफैं कस्तो–कस्तो सपना देख्नुहुन्छ अनि सपनाको कुरालाई लिएर बर्बराइरहनुहुन्छ?‘ ऐनकेन कुरालाई पन्छाउदै छततिर उक्लिएँ म । थाहै भएन, त्यो खुसि हुने बेला थियो वा दुःखी हुने ? 

म ढिलो गरी भान्छामा पस्दा आमाबाबा गफिइरहनु भएको थियो । मेरो पदचापको अड्कल गर्दै आमा बोल्नुभयो, ‘आजकल हर कुरालाई धनदौलतसँग जोडेर हेर्ने परिपाटी बसेको छ । पढाइ–गुनाइको अर्थ पनि समाजको नियम उल्लंघन गर्नु हो भनेजस्तै भएको छ । कसैलाई रितिथितिका बारेमा वास्तै छैन । हामीले कहाँ भनेका छौं र, तँ ठूलो र म ठूलो ?  हामीलाई पनि त थाहा छ, मान्छेकारुपमा संसारका सबै बराबर हुन्छन्, मात्र हाम्रा आफनै किसिमका संस्कारहरु छन, आस्थाहरु छन्, मूल्य र मान्यताहरु छन् । त्यसलाई हाम्रा बच्चाहरुले त्यसैगरि बुझिदिउन् भन्यो उल्टै पुरातनवादी भइन्छ, सामन्ती कहलाइन्छ ।’लामो बक्क्तव्य टुङ्याउदैं आमाले सुस्केरा छोड्नुभयो । 

उहाँ यति गम्भिर र अर्थपूर्ण कुरा गर्नुहुन्छ भन्ने त मैले सोचेकै थिइन । सपनाले राम्रै धक्का दिएछ क्यार । भन्छन्,सपनामा त्यो देखिन्छ जुन कुरा मनको भित्रिकुनामा सल्बलाइरहेको हुन्छ । कतै आमालाई साम्राटसँगको मेरो निकटताले पिरोल्न लागेको त हैन ? नत्र किन उहाँको सपनामा मेरो दुलाहा बनेर उही आयो ? म थर्र भएँ, नजिक गएर कुरा सुन्ने हिम्मत नै भएन । सपासप खाना निलेर ओछ्यायनतिर दौडिएँ । 

बाबाआमाको अनुहारमा दौडिएको शंका र त्रासको छायाँले डर लागेपनि म जान्दथे, उहाँहरुको चिन्ता निरर्थक थियो । सपनामा भिन्न सम्प्रदायको भएर आएपनि हुनलाई त सम्राट उहाँहरुले चाहेजस्तै हाम्रै संस्कारको थियो । मैले त हाम्रो सबन्ध शुरु हुनु अगावै उसलाई अवगत पनि गराएको थिएँ, भाग्यबश त्यो हाम्रो समस्याको बिषय थिएन । त्यसैले म निस्फिक्री थिएँ । आमाको सपना शुभसंकेत हो आउँदा दिनको, मनमा यस्तो ख्याल आउनासाथै फोन गरें तर उसले अनौठो प्रतिक्रिया जनायो ’मलाई तिम्रो सोचाइ देखेर अचम्म लागेको छ आस्था, खैर ! हाम्रो सबन्धको कडी यति नै रहेछ भने मेरो भन्नु केही छैन ।‘ त्यस्तो रुखो त ऊ कहिल्यै थिएन । त्यस्तो ब्यबहार देखाउनु पर्ने केही कारण भएजस्तो पनि लाग्दैन, मैले त बस् आमाको सपनाको बारेमा बताएको थिएँ, उहाँका विचार सुनाएको थिएँ । मलाई रोउँ – रोउँ लाग्यो । सास कतै अड्केजस्तो भयो । आँखामा दिनभर नाचिरहेको उत्सुकता आशुका गेडामा रुपान्तरित हुँदै झरे बर्र । के भयो सम्राट आज तिमीलाई ? सिरकमा गुटमुटिएँ म । आँखामा निद्रा हैन, ऊ आयो, उसको मायालु अनुहार आयो अनी ती गोरेटाहरु आए, जहाँबाट हामी एकिकृत भएका थियौं । 

प्रवासको लामो बसाइपछि नेपाल फर्किएको ऊ, ढल्न लागेको एक साँझ बसन्तपुरतिर टहलिदैं गफिदैं थियौं हामी । सपना र भोगाइका भिन्नभिन्न प्रसङ्गहरु चलिरहेको थियो । भइरहेको कुरालाई कहाँकहाँ छोडेर नजरमा नजर जुधाउदै बोल्यो ऊ, ‘मेरो सपना तिमीसँगको जीवन हो आस्था, के तिमी मसँग बिहे गर्छौ ?’

अपेक्षाभन्दा बाहिरको सन्दर्भले म पक्क परे, ‘कुन उपन्यास पढेर आयौं हो तिमीले ?’

‘हतार नगर सोचेर भन, तिम्रो कुनैपनि निर्णय मलाई मञ्जुर छ ।’ पूर्ण आत्मविश्वासकासाथ उसका ओठहरु पुनः चले ।

‘मलाई प्रेममा विश्वास छैन सम्राट, फेरी यो हाम्रो प्रेम गर्ने उमेर हैन ।’ ऊ ठट्टा गरिरहेको थिएनको आभास पाउनासाथ म बोलें ।

‘फेरीपनि एकपटक जरुर सोच ।’ उसका ढृण आवाजले पछिसम्म पनि पछ्याउँदै रह्यो ।

त्यसपछिका कयौं रातहरु कडा अन्तरद्धन्द्धकोबीच गुजारेँ मैले । आन्तरिक डर र संकोच त छँदै थियो । अझ हैरानी यस कुराले गराएको थियो कि उसले प्रेमको नभएर सिधै बिहेको प्रस्ताव राखेको थियो । कडा अनुशासनबीच मूल्य, मान्यता र इज्जतको पाठ घोक्दै हुर्किएको मान्छे म, प्रेम शब्ददेखी नै डर लागेर आउँथ्यो । फेरि उमेर, पढाइ, जागिर, शान सौगात हर कुरामा केटीभन्दा केटाहरु कम्तिमा एकपाइला हुनुपर्ने सामाजिक मान्यता छ हाम्रो । निसंकोच, ममा पनि त्यस्तै अपेक्षांहरु फुलेका थिए । आफ्नो साथी भावी दुलाहाका रुपमा उभिन लाग्दा–नलाग्दै हामीबीचमा थुप्रै फाटाहरु देखें मैले,जुन पहिले कहिल्यै अनुभब भएकै थिएन । ऊ अन्तरमूखी स्वभावको थियो, म चटपटे । म शहरमा हुर्केबढेकी, ऊ गाउँको । म कलेजको अन्तिम बर्षतिर थिएँ, उसको पढाइ एसएलसिपछि नै रोकिएको थियो । न ऊ हजुरआमाले सुनाउने कथाको घोडाचढी राजकुमार जस्तो देखिन्थ्यो, न त आफैंले सधैं हेर्ने फिल्मी हिरो राजेश हमालजस्तो नै । सम्झँदा सम्झँदै झनक्क रिस उठ्थ्यो, के हामी एकअर्काका लायक छौं  ? 

तथापि, भावनात्मक सबन्ध र समाजस्यताका कुराहरुका अगाडी यस्ता कुरा गौण हुँदा रहेछन्, तत्काल उसको माया लागेर आउँथ्यो । ऊ मेरो सबैभन्दा मिल्ने साथी, ऊबाट टाढिने कल्पना मात्रले पनि मनै अमिलो हुन्थ्यो । हाम्रा केही समान रुचीहरु थिए, सम्भवतः हामी समान पुष्ठभूमीका थियौं । मान्छेको रुपमा ऊ बडो असल थियो, समझदार थियो । मुख्यकुरा त ऊ मलाई आफैंलाई भन्दा धेरै चाहन्थ्यो । त्यो भन्दा सुन्दर राजकुमार परीका कथामा पनि कहाँ भेटिएला र ? त्यसै–त्यसै नतमस्तक हुन्थे म । अन्ततः लामो दुबिधापछि मस्तिस्कले मनलाई साथ दिएथ्यो ।  

बिगतको पात्रो कहाँसम्म पल्टाएर निदाएछु म, बिहान उठ्दा घाम लागिसकेको थियो । ब्यूँझिनासाथ एकअर्कालाई शुभप्रभातको सन्देश आदानप्रदान गरेपछि मात्र दिनचर्या शुरु हुन्थ्यो हाम्रो । हत्तपत्त मोवाइल हेरें, उसको अत्तोपत्तो नै थिएन । झल्याँस्स अघिल्लो दिनको कुरा सम्झिएँ । सपना र बिपनाको दोसाँधमा ऐना अगाडी उभिएँ, आँखा सुन्निएर मोटा भएका थिए । तीनबर्ष लामो प्रेमयात्रामा पहिलोपटक ठेस लागेजस्तो लाग्यो । मनमा नानाभाँतिका कुरा खेल्न थाले । ठट्टा गरेको न हो भनेर म त घुर्क्याउदै थिएँ तर ऊ ? सन्न भएँ म । के साँच्चै उसले आफ्नो वास्तबिकता ढाँटेको थियो ? हैन, उसले मसँग झुट बोल्नु नपर्ने । नभए उसले बिहान अबेरसम्म किन एउटा सन्देश पनि पठाएन ? म मेरा अभिभावकको बिरुद्ध जानेछैन भन्दा उसलाई किन रिस उठ्यो, कतै ऊ ? मनभित्र शंकाको समुद्र हुँडलिँदै आयो । सपनाको झस्को मै आमाको रातिएको, तातिएको अनुहार र बर्षैदेखी आफ्नो घर टेक्न नपाएकी फुपूलाई एकसाथ सम्झें मैले । 

सेकेण्ड, मिनेट, घण्टा हुँदै गह्रुंगो पाराले दिन ढल्दै गयो । ढल्कँदो दिनसँगै विश्वास पनि ओझेल पर्दै गयो । उसले झुट नबोलेको हुँदो हो त, ऊ त्यसरी बेखबर रहनसक्ने मान्छे नै थिएन । सुन्नेलाई त यो एकदम सामान्य कुरा थियो । आजको जमानामा यस्ता कुराहरुले खास अर्थ पनि नराख्नुपर्ने हो । तर मेरा लागि यो सामान्य कुरा थिएन । घरमा बिहेको चर्चा उत्कर्षमा पुगेको बेला परेको आघातले म पूर्णतः दुर्घटित भएको थिएँ । उसले मेरो भावनासँग खेलेको मात्र थिएन, आफैंप्रति बिश्वास नभएको प्रमाण पनि दिएको थियो । म जान्दथें, उसका पछिल्ला अभिब्यक्ति, ‘कुरै गर्ने हो भने त हामी तिमीहरुभन्दा उपल्लो कोटिका मान्छे हौं तर तिम्रो सोच…’ मेरो रहनसहन र पढाइप्रति लक्षित थियो । 

हो, म शहरमा बस्थें, पिएचडीको तयारीमा थिएँ । त्यसो भन्दैमा मलाई लाग्दैन कि धर्म, संस्कृती, मूल्य र मान्यताहरु पछौटेपनको प्रतिक मात्र हुन् । उसलाई मेरो सोचाइ देखेर अचम्म लागेजस्तै मलाई पनि अचम्म लाग्छ, ऊ मात्र हैन यो दुनियाँ नै सतही मात्र बुझ्छ । हामीकहाँ अधिंकांश ठाँउमा जस्तो कि चलचित्र, टेलिसिरियस वा कथा, उपन्यासहरुमा समेत धर्म, संस्कृती ,मूल्य र मान्यताको गलत ब्याख्या गरिएको हुन्छ । जसमा नचाहिँदोरुपले एकपक्षलाई ठूलो जात र अर्को पक्षलाई सानो जात, त्यसो भएन भने एक धनी अर्को गरिब भनिँदै भनाइँदै दुईपक्ष खडा गरिन्छ । कथाहरु यस्तो तयार गरिन्छ, मानौं साना भनिएकाहरु / गरिब मानिएकाहरुलाई प्रेम बाहेक केही चाहिन्न । मानौं, उनीहरुलाई आफ्नो संस्कार प्रति कुनै लिनुदिनु नै छैन । मानौं, तिनको कुनै इज्जत नै हुँदैन । कुनै संस्कार हुँदैन । मान्छेहरु किन बुझ्दैनन् ?  

जात भन्नाले त्यहाँ कुनै थर मात्र हैन उसका समाजिक संस्कारहरु, खानपान, रहनसहन, चालचलन, कामकाज, आफ्नै किसिमका आस्था र बिश्वास जोडिएको हुन्छ । सबैका आस्था र विश्वास उत्तिकै महत्वपूर्ण हुन्छन् । सबैलाई आआफ्नो सस्कार र संस्कृतीप्रति गर्व हुन्छ । एकैखालका मान्छेबीचको सबन्धले जीवन सहज होला भन्ने मात्र न हो, यसमा ठूलो–सानो, तल्लो–माथिल्लो भन्नु–भनिनु किन पर्यो र ? सबैभन्दा दुःखको कुरा उसले पनि उसैगरी बुझ्यो । दिनैभरिजसो आशा, विश्वासका तुवाँलाहरु छुटिरहे, प्रश्नका गुजुल्टाहरुमा बेरिइरहें म । 

उसले प्रत्यक्षरुपमा मेरो अहम् माथि प्रहार गरेको थियो । ऊ सोचिरहेको हुदोँ हो, अब मैले के गर्छु । म पनि सोचिरहेकै थिएँ, मेरी आमाको आफ्नै खालको ज्वाइको चाहना, आफैंमा अपराध पो रहेछ की ? नत्र कसरी ‘कुनै लिम्बुले लिम्बुसँगै बिहे गर्छु ‘ भन्दा अरु कसैको अपमान हुन्छ ? एउटा नेवार, क्षेत्री, बाहुन कसैले आफ्नै सम्प्रदायको मान्छेसँग जीवन बिताउन चाहेको आधारमा उसको सोचलाई दरिद्र आकलन गर्न पाइन्छ ? बिस्तारै म टुक्रिन लागेको थिएँ । ‘मेरो प्रेमी सजातीय रहेनछ’ले भन्दापनि ‘उसले आफैलाई विश्वास गरेन, आफ्नो प्रेममाथी भरोसा गरेन’ ले मलाई छिया–छिया बनाएको थियो । उसैले उठाएको सोचको सबाल ठूलै सवाल बनेर उभिएको थियो । उसले त कति सजिलै भनिदिएको थियो, तिम्रो सोच देखेर हाँसो उठेको छ भनेर । 

मेरो लागि त्यो त्यति सजिलो कहाँ थियो र फेरी मैले शुरु मै उसलाई आफ्ना कुरा नभनेको भए फरक कुरा ? एकातिर मेरा बूढा बाआमा र भाइबैनीको अबोध अनुहार थियो, अर्कोतिर मेरो प्रेमी थियो । एकातिर मेरो कर्तव्य थियो, अर्कातिर प्रेम थियो । मेरा बाबुआमा त्यो थिए, जसले आफू काडाँको जीवन बाँचेर मलाई फूल बनाएका थिए । ऊ त्यो थियो,  भ्रम नै सही मलाई आफैंलाई भन्दा बेशी प्रेम गर्थ्यो । म स्वाभिमान र सामाजिकताको माखे जुधाइँमा अचेटिदैं गएँ । अझ समाजतिर त मैले हेर्नै भ्याएकै थिइन जुन मेरा ससाना गतिबिधिमा आँखा गाडेर बसेको थियो । मैले यसो गर्दा पनि / उसो गर्दा पनि मेरो परिवेश, मेरो योग्यता, मेरा अभिभावक, मैले पाएको संस्कार र मेरो सोचकै उपहाँस गर्ने मौकाको खोजिमा थियो । हो, मैले सबैलाई एकसाथ लानुपर्थ्यो, लानसक्थें । परेको खण्डमा बिद्रोह पनि गर्दो हुँ तर त्यो मनको अन्तरप्रेरणाबाट आउनुपर्छ, आफै दुखेपछि के को बिद्रोह ? त्यो सहजता, त्यो रहर, एकअर्काका प्रतिको आग्रह बाँकि नै कहाँ थियो र ? त्यो प्रेमको कुरा मात्र थिएन,पहिचानको लडाइँ थियो । जो आफै मुकुण्डो लगाएर हिडिरहेको छ उसँग जोडिएर बन्ने आफ्नो आकृतिमा कस्तो सौन्दर्यको आशा राख्नसक्थे मैले ? त्यो हामीबीचको कुरा मात्र थिएन, ऊ र मसँग जोडिएका सयौं मनहरुको भरोसाको कुरा थियो । हाम्रा सपना र आकाक्षांको भविष्य थियो । सोच्दासोच्दै भाउन्न छुट्ला जस्तो हुन्थ्यो, कतै म प्रेमको नाममा भावनात्मक आत्याचार झेलिरहेकी त थिइन ? 

पछिल्लो साँझसम्म म झ्याउरीसकेको थिएँ, पुरै रित्तिइसकेको थिएँ । फेरी पनि म भित्र लोभ मरेकै थिएन, ऊ सँग कुरा गर्ने, झगडा गर्ने, माया गर्नें । कयौंपटक फोन नजिक पुगेकै पनि हुँ, साँच्चै उसले झुट बोलेकै रहेछ भने म उसलाई माफ गर्न सकुलाँ ? मुटु चीसो हुन्थ्यो, किनकिन मनै मरेर आउँथ्यो । बारम्बार एउटै प्रश्नले गिजोलिरहेको थ्यो, मलाई नीच देखाउन कै लागि यो प्रेमको जंजाल रचना गरिएको हो त ? मन, मस्तिक, शरीर सबै भयङ्गर निराशामा जगडिएको थियो,म पूर्णतः लाटिएको थिए । मैले त्यसैबेला थाहा पाएँ, ऊ मेरो आदत बनिसकेको रहेछ, मेरा हर क्रियाकलापमा लपेटिदैं आउथ्यो ऊ,  जता हेरे पनि बिरानो । 

म आफैलाई देखेर छक्क पर्न लागेको थिएँ, छिनमा मुटुको गति रोकिए झैं हुन्थ्यो, छिनमा बेतोडले दौडे झैं । घरीघरी यस्तो पनि लाग्थ्यो, मेरो जिन्दगी नै सकियो । ऊ के गर्दै होला भन्ने ख्याल त आउँथ्यो तर केही गरेपनि उसलाई पहिलाकै रुपमा देख्न सक्दिनथें । म बडो कमजोर भएकी थिएँ, परेली भिजिरहन्थ्यो । त्यो कसैलाई बताउन सकिने पीडा थिएन, घरमा त आमाको सपना बाहेक कसैलाई छनक पनि थिएन, हाम्रो प्रेमको बारेमा । अब के गर्छस् आस्था, के रोज्छस् ‘ऊ बीनाको जीवन वा माफी ?’ आफैंसँग प्रतिप्रश्न गरें मैले । जवाफ मिल्नु असम्भव प्रायः थियो । दुबैमा चोइटिनेवाला त मै थिए । 

प्रेम भन्नु अनुभूति न रहेछ, अघिल्लो दिनसम्म जो मेरो संसार थियो, जीवन थियो भोलिपल्टै ऊ को को बिरानोमा रुपान्तरित भइसकेको थियो । चौबिस घण्टाभित्रमा मैले एकयुग झेलिसकेको थिएँ, एउटा शीतयुद्ध चरमोत्कर्षमा पुगेको थियो । घरघरमा साँझका बत्तिहरु बलिरहेका बेला खैं कुन प्रेरणाले हो, मेरा हातहरु मोवाइलका कि हुँदै कानतिर दगुरे ।

‘तिमीले यो के गरेकी आस्था ? तिम्ले मलाई बुझेनौ, कहिल्यै बुझ्दैनौ पनि …………..तिमीले सोच्न पनि कसरी सक्यौ, म तिमीसँग झूट बोल्न सक्छु भनेर ?…..होस्, अब मलाई केही सुन्नु / भन्नु छैन ।  भोली नै मेरो बाबाआमा तिम्रो घरमा आउनुहुनेछ बस् ….।’ ऊ रोकिँदै रोकिँदै बोलिरहेको थियो । 

स्नायुहरु गहिरो विषादमा खुम्चेजस्तै भए । पर… क्षितिजमा, धर्ती र आकाशको सुदूर सिमानामा उज्यालो र अध्यारोकोबीच एउटा रेखा कोरिँदै गयो, बिल्कूल इन्द्रेणीजस्तै अनुपम सुन्दर ।। 

दिपावलीको दीपजस्तै उज्वल जीवनको कामना…..

तपाइँको प्रतिक्रिया