दूतावासमा दशैं: कतै मनपरी कतै पक्षपात
नेपालप्लसको प्रभावले सच्चिए दूतावास
अस्ति शनीवार पेरिसको नेपाली दूतावासमा दशैंको भोज भयो भब्यसित । बिगत देखि चलिआएको रिति यसपटकपनि निरन्तरता दिए राजदूत मोहन क्रिष्ण श्रेष्ठले । हुन त कसैकसैलाई यो पूर्वाग्रही लाग्न सक्छ । कसैकसैले भन्लान्, आफूले निम्ता नपाएर । मैले निम्ता ढिलै भएपनि पाएको हुँ तर गइएन । जे होस, जानेका मन हाँसे होलान् । निम्ता नपाउनेको भने मन कुँडेको गुनासो सुनियो । दशैं मानेर फर्केकाहरुले मलाई, ददि सर यस पटकको दशैंमा पक्षपात गरेर निम्ता गरिएछ । किन ? कसरि भनेर सोधें । सधैं भोज र भतेरमा जम्नेहरु मध्ये राजदूतका निकटहरु छुटेका थिएनन् । तर आलोचक ठानिनेहरुलाई निम्ता गरिएनछ ।
यस्तो खबर पाएपछि मैले हाम्रा अन्य दूतावासहरुमा के भएछ भनेर यस्सो बुझें । तिनले दशैं मनाएको देख्दा लाग्यो, हाम्रो पेरिसको दूतावास मात्रै रहेछ जसले छानी छानी निम्ता । हुन त मैले नेपालका करिब २७ वटा राजदूतावासका सबै समाचार हेरिन नै । तर चीन, उत्तरकोरिया, बेलायत, स्विजरल्याण्ड, संयुक्त राज्य अमेरिका, बेल्जियम, जर्मनीका राजदूतावासले दशैं मनाएको हेर्दा पेरिसको दूतवासले नेपालीहरुमाई पक्षपात गरेको प्रस्टै देखियो । कसरि त ?
माथि उल्लेख गरिएका दूतावासहरु मध्ये स्विजरल्याण्डको दूतावासले दिवा भोजको आयोजना गर्यो । त्यसमा पेरिसको दूतावासले झैं मान्छे छानी छानी निम्ता गरेन । बरु सबै नेपालीलाई बोलायो । अझ त्यहाँका राजदूत डा दिनेश भट्टराईले त निम्ता गरेको पत्र सबै नेपालीलाई पठाएर जानकारी दिन आव्हाननै गरेछन् । उता अमेरिकामा भने दशैंलाई सामान्य चियापान र भेटघाटका रुपमा मात्रै मनाइयो । आउनेजति सबैले चियापान गरे । भेटघाट र सामिप्यता साटे । हिँडे । सबैलाई रमाइलो भयो ।
जर्मनीको राजदूतावासले दशैं छुट्टै मनाएन । त्यहाँका बिध्यार्थीहरुले गरेको दशैंको भोजमा सामान्य पेय पदार्थको जोहो गरिदियो । त्यहाँपनि सरकारी बजेट जोगियो । बेल्जियमको दूतावासले पनि दशैंको भोज भन्दै खर्च गरेन । बरु राजदूत प्रमेश हमालनै दशैं मनाउन अमेरिका हानिएछन् । मस्कोको दूतावासमा दशैंको भोज गरियो । तर त्यहाँका नेपाली संघ संस्थाको सहयोगमा । मस्कोको दूतावासलेपनि पेरिसको दूतावासले झैं मन परेकालाई छानी छानी निम्ता गरेन । सबै नेपालीकालागि खुल्ला गर्यो । स्वच्छ र बुझक्की भनेर नाम कमाएका उत्तर दक्षिण कोरियाका राजदूत कमल कोइरालाले त झन पक्षपात गर्ने कुरै हुन्न ।
प्रश्न उठ्न सक्छ, धेरै नेपाली भएको ठाउँमा कसरि दूतावासले सबैलाई बोलाउन सक्छ ? यसको उत्तर सहज छ । जमाएर गह्रुंगो भोज दिन सकिन्न भने सामान्य चियापान मात्रै गराउने । अझ नेपाली संस्थाहरु प्रशस्त भएका ठाउँमा त त्योपनि आवश्यक छैन । किनभने नेपाली संस्थाहरुले नै मनाउने गर्छन् । तिनै संस्थालाई दूतावासले प्रशासनिक र अन्य सहयोग दिन सक्छ । पेरिसमा नेपाली सांस्क्रितिक ग्रिहले वर्षौं देखि स्वदेशी र विदेशीमाझ दशैं मनाउँदै आएकाले त्यहि संस्थालाई सहयोग गर्ने सक्थ्यो । अहिले त नेपाली एकता समाज र तमु समाजलेसमेत मनाउने गरेका छन् । तर पेरिसको दूतावासमा त भोज थपिँदै छन् । यस पटकबाट तीज थपिएकै हो ।
नेपालप्लसको प्रभावले सच्चिए दूतावास
त्यसो त यो पटक नेपालप्लसका यस अघिका नेपाली कूटनितिक नियोगहरुमा भएका अनियमितताबारेका समाचारले राम्रो प्रभाव पारेको देखियो । किनभने यस पटक भोज नै खुवाएपनि नेपाली दूतावास पेरिसको निम्तोमा राजदूत मोहनक्रिष्ण श्रेष्ठले आफ्नो नाम समेत नराखि निम्ता छापेछन् । उता बेलायतका राजदूतलेपनि दशैंको निम्तामा यस पटक आफ्नो नाम राखेनन् । यस अघिका निम्ताहरुमा बकाइदा नाम लेखेर छाप्ने गरेका थिए । आफ्नो गतिबिधीका समाचारमा अलि बढिनै चासो राख्ने मानिन्छन् बेलायतका राजदूत पनि । नेपालप्लसका यस अघिका अनियमितता र कमजोरी बारेका समाचार बरोबर नियाल्ने गरेका उनलाई पनि यस पटक प्रभाव परेछ । यद्दपी राजदूतको नाम भने राख्न सकिन्थ्यो नै ।
बेल्जियमका राजदूत प्रमेश हमालले त ‘दूतावासहरुमा अनियमितताका प्रश्नहरु बारम्बार उठिरहेका छन् । प्रधानमन्त्रीलेपनि मितब्ययिताको कुरो उठाएका छन् । बेल्जियमका संघ संस्थाले यसैपनि दशैं मनाइहाल्छन् । हामीले दशैंमा खर्च नगरौं’ भन्दै अ मेरिका हिँडेका रहेछन् । केहि दूतावासका स्वच्छ कर्मचारीले त नेपालप्लसलाई यस अघिपनि मेल पठाएका हुन् नेपालप्लसको लेख र सामचारले थुप्रै दूतावासका कर्मचारी र राजदूतलाई सतर्क गराएको छ भन्दै । कतिपय दूतावासमा त ‘लौ है पेरिसमा यस्तो आवाज उठेको उठ्यै छ, अब हामी सतर्क हुनुपर्छ’ भन्दै कर्मचारीहरुबिच बैठक नै राखेर सचेत गराएका रहेछन् ।
दिशाहिन सरकारी नीति
त्यसो त दशैं कसरि मनाउने ? दूतावासले मनाउन पाउने कि नपाउने ? मनाए कस्ता ब्यक्तिलाई निम्ता दिने भन्ने सरकारी नीतिनै छैन । सरकारको यहि दिशाहिन नीतिकै कारण धेरै दूतावासमा दशैं मनपरी ढंगले मनाइन्छ । सरकारी नीति स्पष्ठ नहुँदा राजदूतहरुले उहि पञ्चायती शैली अनुरुप आफू निकटका, मन परेका, आफ्ना भजन गाउने, कम्तिमा आलोचना नगर्ने, दूतावासको वरिपरि झुम्मिनेलाई बोलाएर ब्यक्तिगत संवन्ध बलियो बनाउने माध्यमका रुपमा प्रयोग गर्छन् । त्यसो हुँदापनि बिबेकी र देशप्रति चिन्तनशिलले ‘आखिर नेपाली संस्थाले मनाएकै छन्, किन फाल्ने सरकारी सम्पत्ती बेफ्वाँकमा फाल्ने’ भनेर मनाउँदैनन् । कतिपयले चाहिँ अख्तियारी लिएर बसेको साझा ब्यक्तिले जोसुकै होस् नेपालीलाई छुट्ट्याउनुहुन्न’ भनेर पक्षपात नगरि बोलाउँछन् ।
अर्को पक्ष के छ भने दूतावासको लागि जुन शिर्षक अन्तर्गत बजेट आउँछ त्यो अर्को शिर्षकमा खर्च गर्न दिँदैन सरकारले । त्यसो गर्दा आएको बजेट सिध्याउँ आखिर अन्त खर्च गर्न पाइन्न भन्दै त्यसलाई बरु सक्नै पर्छ भनेरपनि खर्च गर्छन् । मितब्ययी र चिन्तनशिल राजदूत भए अन्यत्र खर्च गर्न नपाएपनि आखिर देशकै सम्पत्ती त जोगिने हो नी भन्ने सोचेर जोगाउनपट्टी लाग्छन् ।
अहिले विश्वका अधिकांश मुलुक जहाँ नेपालीको उपस्थिती छ त्यहाँ गैह्र आवाशिय संघ सक्रिय छ । त्यस्ता मुलुकमा दूतावासलाई चाडपर्वमा खर्च गर्न बन्देज गराएर नेपाली संस्थालाई नै सक्रिय गराउनु राम्रो हो । यसो गर्दा ति देशका नेपाली संस्थापनि बलिया हुन्छन् । देशको बजेटपनि जोगिन्छ । दूतावासले खर्च नै नगरेपछि कोहि नेपालीलाई काखा र कसैलाई पाखा गर्यो भन्ने गुनासोपनि रहन्न । दूतावासको जनशक्ति अन्य रचनात्मक काममा सदूपयोग हुन पाउँछ । ‘देखिस् म त राजदूतको नजिक छु’ भन्दै निम्ता पाउनेले नपाउनेका अगाडि झारे फूइँ लगाउनपनि पाएनन्, सबै नेपाली समान देखिए । तर अहिले बिभिन्न मुलुकमा भए गरेका दशैंका भोज र निम्तामा पेरिसको दूतावास मात्रै एक्लो देखियो जसले नेपालीलाई पक्षपात गरेको । महामहिम राजदूत मोहन क्रिष्ण श्रेष्ठले चाहिँ कसरि लिन्छन् कुन्नी !






