लघुकथा : आयोग

रन्जु ‘मार्ग ‘

 फेरिपनि अस्पतालबाट मिर्गौला हरायो !!

अस्पतालमा खैलाबैला मच्चियो । एक पल्ट होइन, दुइ पल्ट होइन । पाँच पाँच पल्ट एकै ठाउँ बाट यसरी बारम्बार मिर्गौला हराउँदा अस्पताल एक रहस्यको केन्द्र बन्यो ।

विभिन्न पत्रपत्रिकाले मिर्गौला हराएको खबर प्राथमिकताका साथ छापे ।

सांसदहरुले यसबारेमा आवाज उठाए । उनीहरुले यस बारेमा आयोग गठन गर्नु पर्ने माग राखे । जनताहरुलेपनि छानबिन हुनुपर्ने कुरा उठाए । अन्तत, मिर्गौला छानबिन आयोग गठन भयो । आयोगमा अस्पतालका प्रमुख डाक्टर सहित तीन सदस्य सम्मिलित भए । छानबिन टोलीले आफ्नो काम सुरु गर्‍यो ।

सबैभन्दा पहिले छानबिन टोलीले अस्पतालमा काम गर्ने सम्पुर्ण कर्मचारीलाई सोधपुछको लागि बोलायो । उनीहरुलाई एक एक गरि सोध्ने क्रम जारि भयो ।

तपाइको नाडीमा लगाएको घडी नयाँ जस्तो छ नि ? कहिले किनेको ?

होइन हजुर, कहाँको नयाँ हुनु नि, पाँच वर्ष अगाडी विवाहमा ससुरालीले दिएको उपहार हो ! कहिलेकाही मात्र लाउँछु तेसैले नयाँ जस्तो देखिएको छ ।’

तपाई जानुस  ।

उ गयो । छानबिन टोलीले अर्को कर्मचारीलाई बोलायो ।

अर्को भित्र छिरेपछि छानबिन टोलीले उसलाई शिर देखि पाउसम्म हेर्‍यो ।

ओहो ! तपाइले नयाँ शर्ट-पाइन्ट पो लगाउनु भएको छ । कहिले किन्नु भयो ?

कहाँको नयाँ हुनु नि हजुर, पाँच बर्ष अगाडी बिवाहमा दुलाहा बन्दा किनेको । म यो कहिलेकाहीँ मात्र लगाउने गर्छु । त्यहि भएर नयाँ जस्तो देखिएको होला ।

ल तपाईपनि जानुस ।

यसै गरि त्यहाँ काम गर्ने सबै कर्मचारीसंग सोधपुछ गरियो ।

अन्तमा, आयोग टोलीले एउटा निर्णय गरे –

‘ हामीले सोधपुछ गर्दा दुइ जनाको जवाफ एकै हुन आएकोले यी दुवै जनामाथि शंका लागेको छ ! त्यसैले यिनीहरुलाई कारवाही गर्न निर्देशन दिइन्छ !!!! ________________आयोग_2011/5/5____

तपाइँको प्रतिक्रिया