नेपालप्लसलाई राजदूतको धम्की

ब्यक्तिका नाममा दूतावासको लेटरप्याड प्रयोग गर्ने र दूतावासको पैसो ब्यक्तिको नामबाट खर्च गर्न पाइँदैन भन्दै मैले केहि दिन अघि नेपालप्लसमा समाचार लेखेको थिएँ । त्यसो गर्न पाइन्न भन्नेमा म अझैपनि द्रिढ छु । तर त्यो विषयले राजदूत मोहनक्रिष्ण श्रेष्ठलाई खुब पोलेछ । समाचार मन पर्न र नपर्न पाइन्छ । समाचार मन पराउने र नपराउने दुबै थरी पाठक छन् । समाचार गलत भएमा दूतावासले खण्डन पठाउन सक्थ्यो । पत्रकारिताको मुल मर्म यहि हो । सञ्चार माध्यमले चाहे खण्डन छाप्छ । पीडित भएकै हो र संवन्धित सञ्चार माध्यमले खण्डन छापेन भने नेपाल प्रेस काउन्सिल वा नेपाल पत्रकार महासंघमा उजुरी हाल्न सकिन्थ्यो । कि त अदालतमै मुद्दा हाल्न सकिन्थ्यो ।

तर राजदूत मोहन क्रिष्ण श्रेष्ठले राजदूत निवासमा भोजको आयोजना गरे हिजो साँझ । ‘त्यस्तो राम्रो चेली बेटीलाई निम्ता गरेको कार्यक्रममा त्यस्तो लेख्यो, उसलाई कसरि कारवाही गराउने ?’ भन्दै निम्ता दिएका थिए । पहिले त समाचार किन आयो ? समाचारको विषय के हो सुन्नु पर्ने होइन ?

राजदूतावासको लेटर प्याड र रकम ब्यक्तिको नाममा प्रयोग गर्न पाइन्न भन्ने नेपालप्लसको समाचार यदि गलत थियो भने उनले यो विषयमा छलफल गर्न  किन दूतावासमै बोलाएनन् ? यो विषयमा छलफल गर्न किन घरमा भोज भतेर आयोजना गरिएको हो ?
समाचार राजदूतावासको कुनैपनि सामाग्रि त्यसरि ब्यक्तिका नाममा दूरुपयोग गरिन हुन्न भन्ने थियो । यो समाचारसित के नातो थियो पेरिसका नेपाली संघ संस्थालाई बोलाएर, समाचार लेख्नेकै कुरा नसुनि ब्यक्तिगत कुरा र आक्षेप लगाउनुको ? आफूले गल्ति गरेकै होइन भने हिम्मतका साथ खण्डन गर्न केले रोक्यो ? किन नेपालप्लसलाई सिधै सोध्न सकिएन ? के सरकारी सम्पत्तीको दूरुपयोग संघ संस्थाका प्रतिनिधी बोलाएर हारगुहार गर्दैमा रोकिन्छ ? दूतावासको समाचारसित संवन्धित विषयमा संघसंस्थाका ब्यक्ति बोलाउनुको उद्देश्य के ? कुन स्वार्थ ? कुन ब्यक्ति र संस्थालाई छ देशको राष्ट्रिय सम्पत्ती दूरुपयोग गर्ने अधिकार ?

पटक पटक भएका भेटमा उनले म सित कहिल्यै गुनासो गरेका थिएनन् । बरु लेखन शैलीको प्रशंसा गरेका हुन् । भेट हुँदा राम्रोसित कुरा गर्छन् सधैं। राम्रा कुरा गर्छन् । तर पिठ्यूँ पछाडी भने उनले सधैं आफ्ना आसे पासे र आउरे बाउरे जम्मा पारेर उचाल्ने, गाली गर्ने गर्थे तर त्यसले मलाई खासै फरक् पार्थेन । यो पटक भने संघ संस्थाका प्रतिनिधीसमेतलाई बोलाएर भोज खुवाए । अबेरसम्म भएको पार्टीमा उनले ९० प्रतिशत समय नेपालप्लसलाई गाली गर्दै बिताएका थिए । उनकी श्रीमती सजनापनि निकै बम्किएकि थिइन् । उनले हिम्मतका साथ सिधा बोल्न नसकेर यसरि अप्रत्यक्ष धम्की दिएका हुन् ।

राजदूतले संघ संस्थाका ब्यक्ति भनेपनि विशेषगरि उनलाई समर्थन गर्ने र संघ संस्था बाहिरका थिए । त्यो के का लागि ?  राजदूतले समाचारको विषय प्रसंगलाई ननिकालेर ब्यक्तिगत विषयलाई प्राथमिकता दिएका थिए । कार्यक्रममा अधिकांश उनैका निकट भएकाले उनैको पक्षमा माहौल बन्नु स्वभाविक भएपनि तमु समाजका अध्यक्ष लक्ष्मण गुरुङले नेपालप्लसको समाचारकै विषयमा छलफल गर्ने हो भने नेपालप्लसलाईपनि बोलाएर उसका तर्क सुन्नुपर्ने भनाई राखेका थिए । कसैले पत्रकारलाई लागेका कुरा नलेख भन्ने अधिकार हामीसित छैन भन्ने तर्क दिएका थिए । दूतावासमा कर्मचारीहरु नियुक्त गर्दा तोकिएको शैक्षिक योग्यता नपुगेकालाई नियुक्ति गरेको र दूतावासमा योग्यताबिहिन आफ्ना मान्छे भर्ति गरेको, त्यसरि कर्मचारी नियुक्ति गर्दा खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने तर्कपनि उठेका थिए ।

उनलाई मर्का परेको विषयमा कहिल्यै पनि राजदूतले नेपालप्लससित सिधा भनाई राखेका छैनन् । जहिलेपनि उनका आसेपासे मार्फत् जुठेल्नाका गफ झैं अरुलाई सुनाउन लगाउने गर्थे । उनलाई सधैं आफ्ना बारेमा प्रशंसा गर्दै समाचार र फोटो नछापिएकोमा गुनासो हुने गर्थ्यो । उनले कतिपय कार्यक्रम गर्दा संघ संस्थाका नेपालीलाई फोन गर्न लगाएर पनि नेपालप्लस र अन्य सञ्चार माध्यममा समाचार लेख्न आग्रह गर्थे । उनले त्यसरि बिन्ति बिसाउँदै नेपालका सञ्चार माध्यमलाई पनि इमेल लेखिरहन्थे । त्यसका केहि मेल नेपालप्लससित सुरक्षित छन् ।

पाठक प्रतिक्रिया पाठकका तर्क हुन् भन्नेसम्म पनि नबुझ्ने राजदूत महाशयलाई के भन्ने ? त्यसो हो भन्ने पत्रकारलाई झुण्ड्याउनुपर्छ भन्दै राजदूतका पक्षमा नेपालप्लसमा प्रतिक्रिया जनाउनेको जिम्मा राजदूतले लिनु परेन ? पत्रकारलाई झुण्ड्याउने हो भने तपाइलाई झुण्ड्याउनु पर्छ भनेर कसैले भन्यो भने ? नत्र सार्वजनिक पदमा बस्नेको बारेमा टिका टिप्पणी उठाउनु सामान्य होइन र ? सार्वजनिक आलोचना सुन्न नचाहने ब्यक्ति राजदूत जस्तो सार्वजनिक पदमा किन बस्ने ? देशको महत्वपूर्ण पदमा बस्ने अनि जनताका गुनासा सुन्न नसक्ने, लागेका आरोपको संयमतापूर्वक हल गर्न नसक्ने हो भने हुम्लाका पूर्व सांसद छक्क बहादुर लामा झै भेडी गोठ चहार्नु र चौंरी गोठालो बन्नु नै राम्रो होइन र ?

राजदूतले अब नेपाली दूतावासमा उपस्थित गराएर  राजदूतका बारेमा लेखिएको समाचारको बारेमा स्पष्ठिकरण लिने भन्दै उड्डी हाँकेका रहेछन् । महाशय कुन नीति नियम र अधिकारले म सित स्पष्ठिकरण लिने अधिकार छ ? तर राजदूतलाई हेक्का रहोस् म तिम्रो बाउ बाजेको गोठालो, तिम्रो नोकर र नेपाली दूतावासको  कर्मचारी होइन जो तिम्रा पछि पछि लागेर हिँड्ने गर्छन् । हिम्मत भए सार्वजनिकरुपमा खण्डन गर । गल्ति भए माफी माग्ने हिम्मत गर पहिले जाँड धोकेर नेपालीहरुलाई तथानाम गाली गरिसकेपछि माफी मागे झैं । कि त गल्ति भएकोमा महसुस गरेर सच्चिने प्रयास गर । कि अदालतमा मान हानीको मुद्दा हाली हेर । 

मोरिस हेर्जोगलाई अभिनन्दन गर्ने साँझ जाँडका सुरमा तथानाम गाली बेइज्जति गर्दै तान्डव न्रित्य देखाएका राजदूतले पछि नेपाली सित दूतावासमै माफी मागेका थिए । त्यो बेला यस घटनालाई नतन्काउने सहमती भएको थियो । तर त्यो सहमतीलाई उल्लंघन गर्दै उनले त्यो बेलाका प्रसंगपनि उठाउने गरेका छन् । राजदूत स्वयंले सहमती उल्लंघन गरेपछि त्यहाँ उपस्थित अरु नेपालीलेपनि पालना गर्नुपर्छ भन्ने रहेन । त्यसैले त्यो प्रसंगका बारेमापनि अब उल्लेख गर्नु मनासिव हुने छ । म यो प्रसंगलाई आवश्यकता अनुसार उठाउने छु तर त्यसबेला सहभागि मित्रहरुलाई कुनै असर नपर्ने गरि ।

त्यसो त उनले यस अघिपनि सउदी अरेबियामा हुँदा यस्तै ताण्डव न्रित्य देखाउने गरेका रहेछन् । त्यसका बारेमापनि नेपालप्लससित जानकारी सुरक्षित छ । एम आर पी काण्डमा तत्कालिन परराष्ट्रमन्त्री सुजाता कोइरालासित मिलेर कसरि भारतलाई गोप्य सूचना दिए भन्ने केहि तथ्यपनि परराष्ट्रका केहि कर्मचारीबाट प्राप्त भएको छ । माओवादीका तर्फबाट राजदूतमा प्रस्ताबित राम कार्कीको एग्रिमो मन्त्रालयमा लुकाइदिएर फ्रान्सले एग्रिमो नै पठाएन भन्दै पछि आफू राजदूतमा आएको र त्यसरि एग्रिमो रोकिदिएर फ्रान्सलाई दोष लगाउनाले अहिले फ्रान्सले कसरि लिन्छ उनलाई ? माओवादीले के कसरि हेरिरहेका छन् ? यसका बारेमा पनि केहि कर्मचारीले जानकारी दिएका छन् । पहिले परराष्ट्रमा हुँदा उनको दरबारसित के कस्तो संवन्ध थियो । को थिए ? परराष्ट्रका समकालिन कर्मचारीसित कसरि झगडा भयो ? कसको पालोलाई कसरि मिचेर उनी राजदूत भए ? परराष्ट्रका कर्मचारीले कसरि लिन्छन् ? यी केहि तथ्यहरु नेपालप्लससित सुरक्षित छन् । तिनलाई केलाएर राख्ने कोसिस गर्ने छु ।

अहिलेलाइ यत्ति भन्न चाहन्छु, दूतावासको लेटर प्याड र रकम ब्यक्तिका नाममा खर्च गर्न पाइन्न भन्ने मेरो बुझाइ हो । खर्च होस् नेपाली चेलीबेटीको तीज पर्वमा । तर दूतावासकै नाममा हुनुपर्छ । म त्यसरि राजदूतका पक्षमा बुझ्दै नबुझि हो मा हो मिलाउने मित्रहरुलाई के भन्न चाहन्छु भने यो घटनामा राजदूतले ब्यक्तिगत रिसिइबी साँचेर तपाइहरुलाईपनि प्रयोग गर्न खोजेका छन् । नत्र दूतावासको समाचारका विषयमा संघसंस्थाका प्रतिनिधीलाई हार गुहार माग्नुको कारण के ? र राजदूत महाशयलाई के जानकारी गराउन चाहन्छु भने ‘आर्थिक कार्यबिधी ऐन २०५५’ का अनुसार त्यसरि नेपाली दूतावासको लेटरप्याड र पैसो खर्च गर्ने अधिकार ब्यक्तिलाइ रहेनछ । त्यसका बारेमा बाँकी अलि बिस्तारमा फेरी लेखौंला ।

म भन्न चाहन्छु कि यो घटनामा राजदूतले नेपाल सरकारको धन प्रयोग गरेर, बत्ति र पानी प्रयोग गरेर, दूतावासको कार्यक्रम भन्दै घरमा भोज गराएर धाक धम्कीमा उत्रिएका छन् । यो घट्नालाई उनैले चर्काउने कोसिस गरेका छन् । त्यसैले परराष्ट्र मन्त्रीका पिए वा निकटका कोहि ब्यक्तिसित सम्पर्क गरेर भएपनि म केहि जानकारी दिएरै छाड्ने छु । स्वास्नीका नाममा लेटर प्याड प्रयोग गर्न सक्ने राजदूत महाशयलाई म के चुनौती दिन चाहन्छु भने, कुन नियम, कुन नियमावली र दफाले त्यसरि दूतावास बाहिरको ब्यक्तिका नाममा प्रयोग गर्ने अधिकार दिएको छ लेटरप्याडमा खण्डन छपाउने हिम्मत होस् ।

(लेख राजदूतले धाकधम्कि दिए भन्ने छ । त्यसैले त्यहि विषयमा प्रतिक्रिया जनाउनुहोला । किर्ती नाम र आइपी प्रयोग गरिएका प्रतिक्रिया हटाउने र त्यस्ता पाठकको आइपीलाई नेपालप्लस पढ्नबाट बन्द गर्न सकिनेछ-नेपालप्लस)

तपाइँको प्रतिक्रिया