‘एभरेस्ट’ मार्फत् नेपाल चिनाउँदै खाँड दम्पती

हुनेलाई परिपरि आउँछ त भन्छन् । तर त्यो भनाइ मात्रै रहेछ । कम्तिमा हाल फ्रान्स निवासी  अशोक खाँड र रेनुका खाँडका जोडीलाई आएन । के थिएन उनी सित ? उच्च शिक्षा थियो । ठूला गैह्र सरकारी संस्थामा छिर्न पाए ! भन्दै मुख्य मिठाउनु परेको थिएन । किनकि अशोकले केयर नेपाल र पार्क एण्ड पिपल प्रोजेक्टमा राम्रै भूमिका पाएका थिए । आर्थिक रुपमा हतासिनै पर्ने थिएन । तरपनि नेपालको हावा न हो । बिदेश बिदेश ! स्वर्ग भन्ने कसैले नभोगेको, नदेखेको तर सबै थोक भरिपूर्ण हुने थलो झैं सुन्दै जाँदा ति सबै कामबाट बिदा लिएर हान्निँदै जापान पुगे ।

ओहो त्यो जापानको दौडधूप । त्यो दुख र हुटहुटी । मेशिनलाई उछिनेर काम गर्नुपर्ने बाध्यता । न दुख साट्ने आफन्त । न हाँसो बाँड्ने कोहि । उकुसमुकुस भयो । गाउँ ठाउँका स्थानिय मान्छेसित हाँस्दै र रमाउँदै हिँडेको मान्छे । चारैतिर साथी भाइ र आफन्तसित बिताएका क्षण । घरका परिवारको माया । शरिर जापानमा मनजति नेपाल । आ…….बस्दिन मन मारेर भन्दै फर्किए नेपाल । तिन वर्षमै उनी आत्तिए ।

नेपाल फर्केपछि दुई चार दिन त परिवारसित रमाइलै भो । साथीभाइसितको हाइ हेल्लो । ठट्टा र रमाइलो । गाउँलेसित भेटघाट । के इलम गर्ने ? चितवन भरतपुरको सिडियो कार्यालय छेउमा थाले रेस्टुरा ब्यवसाय गर्न । पौरखी हातहरु रित्ता बस्नु पर्दैन । उनले राम्रोसित चलाए । घर खर्च मात्रै होइन, मन हाँस्ने, सन्तोष मान्ने गरिनै अर्थको कुटुरोपनि जम्मा हुन्थ्यो । तर उनले त्यसबाट हात धुनुपर्ने स्थिति भयो । माओवादी जनयुद्दको कालो बादल मडारिएको बेला । सरकारी भवन र कार्यालय कतिखेर बमको निशाना बन्ने हो । कैले कुन भवन दनदनी बल्ने हो । कसको ज्यान गयो फलानो कार्यालयमा भनेर सुन्नु पर्ने हो । हत्या, हिंसा, आक्रमणका डरले सरकारी भवन छेउको बाटो हिँड्नपनि डर मर्नु थियो । सिडियो कार्यालय छेउको रेस्टुरेन्ट आएर ढुक्कले खाने बस्ने कसले गर्ने ? ज्यान जोखिममा राखेर अशोकको पेशा धानी दिने ग्राहक हुन्छ कोहि ? पैसो खेलाएको हात । अब कसो गर्ने ?

जागिर खोज्दै जाउँ त फेरी कसलाई नमस्कार ठोक्दै हिँड्नु ? कुन कार्यालयमा ब्यक्तिगत बिवरण पेश गर्दै जागिरकालागि धाउनु ? आतंकले छेउ र कुनो भन्दैन । हरेक दिन धुकचुक, हुटहुटी । अर्को ठाउँमा खोलेपनि के भर ? ‘लौ ठिटा हान्नीइ बिदेश’ भन्यो मनले । फेरी हान्निए उनी ‘स्वर्ग नगरी’ यूरोपतिर । जर्मनी छिरे । त्यहाँ मेसो होला झैं भएन । फेरी हान्निए बेल्जियमतिर । दुखका कथाहरुले पछ्याएका बेला के हुन्थ्यो । अनेक दुख झन्झट ब्यहोरेर बसेपनि उनले कानुनी कागज पाउन सकेनन् । हातमा कागज नहुँदाको पीडा नेपाल बसेर सोच्न सकिन्न । बस चढ्दापनि डरै डर कतिखेर प्रहरीको खानतलासीमा परिने हो । कैले च्याप्प समातेर नेपाल फर्काउने हो । न बाटोमा हिँड्दाहिँड्दै त्यहिँ बाट एयरपोर्ट पुर्‍याउने हो । कोठा खोजौं कानुनी कागज माग्छन् । काममा गयो खान दिएकै भरमा काम लिन खोज्छन् । स्वदेशीले कागज नभइ काम दिन्न । बिदेशीले तलब नदिइ लाउन खोज्छन् । कमजोरलाई जहाँपनि शोषण ! मनमा त्रास र आतंक त छँदै छ । त्यहिमाथि परिवारसित टाढिनुको पीडा ! कागज नभइ त नर्कै हुन्छ भन्ने सोचेर संभावनाका त्यान्द्रा खोज्दै फेरी हान्निए उनी फ्रान्सतिर ।

आफ्नै देशमा त बलियो टेक्ने आधार भएन । पराइको मुलुक बदल्दैमा के नै मिल्थ्यो र ? फेरी शुरु भए उनका दुखका कहानी । नेपालको डिग्री यो मुलुकमा खोस्टो समान मान्छन् । नेपाली र अङ्रेजी भाषाले यहाँ जागिरको मेसो बनाउँदैन । फ्रान्सेली भाषा सिक्न जाउँ काम नगरि के खाने ? कहाँ बस्ने ? यहाँको महँगो भाडा केले तिर्ने ? भाषा सिक्न नगए सधैं बेइलमी भइने सुर्ता । फेरी कानुनी कागज नभए भाषापनि कहाँ सिक्न पाइन्छ र ? उपाय के ? नेपाल र भारतमा भारतीयका दास बनेका हामी नेपाली यहाँपनि तिनैका फन्दामा । महिनाको तिन सय यूरोमा जिवनमा सबैभन्दा कठिन, सबैले छोडेको काम गर्न पुगे ।

सरकारले मासिक तोकेको तलब छ कम्तिमा एक हजार ५० यूरो । दिनको ८ घण्टाका दरले पाँच दिन काम गरे पुग्ने हप्तामा । तर भारतीयको शोषणमा उनले सातै दिन झैं गरे । दिनको १२ घण्टा भन्दापनि बढि । त्यहिँमाथि भारतीयको पेलान, हेपाइ । उनले सहेनन् । अबुझहरुले ‘यो अशोक कहिँ टिक्दैन’ भन्दिए भयो । छुद्रहरुले ‘यो तिउन चाखेझैं रेस्टुरेन्टमा काम फेर्दै हिँड्छ’ भनेर गिल्ला गरेपनि भएकै छ । सहनेले आमा चकारी गाली गर्दापनि फिस्स हाँसेर सहेकै हुँदाहुन् । तर उनी परे अन्याय नसहने । हेपेको कत्ति खप्न नमान्ने । स्वाभलम्भीहरुलाई सम्मानमा चोट परेपछि नाथे जागिरले के टिकाउँछ ? उनी ड्याम ड्याम जवाफ फर्काउने, बहस गर्ने अनि केको टिक्थे ? निकै ठाउँ चहारे ।

तर त्यसबाट उनलाई एउटा शिक्षा भयो, उनले पेरिसका भारतीय रेस्टुरा कसरि चल्छन् ? कस्ता ग्राहक आउँछन् ? तिनलाई खुशि पार्न के गर्नुपर्छ ? कस्ता ठाउँका मान्छे कस्ता ? रेस्टुरा ब्यवसायलाई नजिकबाट बुझे । भारतीय र नेपाली खाना बनाउन आफैंले दक्षता हाँसिल गरे । यता कागजका लागि पनि लड्दै गरे । सायद साहसीहरुसित दुखपनि डराउँछ क्या रे एक दिन । फ्रान्सेली सरकारबाट उनको स्थायी बसोबासको कागज बन्यो । अब उनका ढोका खुले । पत्नी रेनुलाई बोलाए । अब भने दम्पतीले कम्मर कसेर काम गर्न लागे । मेहनती जोडीलाई बैंकले तुरुन्तै पत्यायो । अपार्ट्मेन्ट लिए । दुई छोराहरु यतै बोलाए ।

सधैं भारतीयका कारिन्दा कति बन्ने ? आफूले बनाइदिएको खाना बेचेर ति घुमी घुमी, थर्काइ थर्काई  खान्छन्, कमाउँछन् । स्थानिय ग्राहकका भावना पनि नबुझि यस्तो बना र उस्तो बना भनेर कचकच उस्तै । यता आफ्नो सिप छँदै छ । उता पत्नी रेनुका पौरखी हात तयार छन् । साहस, जाँगर र उत्साहले साथ छोडेको छैन । सधैं भारतीय मालिकलाई धारे हात लगाउँदै तिनैका सेवामा नारिनुभन्दा नेपालीले पनि ब्यापार ब्यवसाय गरेर देखाउनुपर्छ भन्ने सोचले आफैंले रेस्टुरेन्ट खोल्ने योजना बुने । ‘तिमी आँट म पुर्‍याउँछु’ भने झैं फेरीपनि मेहनतीहरु असफल हुंदैनन् भन्ने विश्वासले होला, बैंकले साथ दियो । हालसालै पेरिसबाट अलिकति पर भिलिय सुरमान भन्ने ठाउँमा उनीहरुले त्यस क्षेत्रकै पहिलो नेपाली र भारतीय खानाको रेस्टुरा खोलेका छन् करिब एक करोड नेपाली रुपियाँको लगानीमा । ।

नेपालभरिको माया परदेशमा कसरि पोख्ने ? कसरि सेवा गर्ने आफ्नो गुजारापनि चलाउँदै ? बिदेश बस्ने अनि आफ्नो देशतिर धारे हात लगाएर धिकार्ने ? उनी मान्दैनन् । त्यसैले उनले यो थलोलाई नेपाल चिनाउने माध्यमपनि बनाउन खोजेका छन् । त्यसैले उनको रेस्टुरेन्टमा बुद्द बसेका छन् । हाम्रा हिमालहरु ठडिएका छन् । नेपाली भेषभुषाका अनेक रुपले चिहाउँछन् । नेपालका हिमाल र विविध क्षेत्रका पुस्तक देखाएर आएका ग्राहकलाई बेलिबिस्तार सुनाउँछन् अशोक । रेस्टुरेन्ट उद्घाटन गराउँदापनि उनले नगपालिकाका उच्च अधिकारीलाइ बोलाए । कहिल्यै नेपाल नपुगेका जँ फिलिप बेगालाई पनि उनले त्यसदिन नेपालका विविध क्षेत्रबारे बेलिबिस्तार सुनाउने मेसो मिलाए ।

आफ्नो क्षेत्रमा पहिलो नेपालीलाई स्वागत गर्न पाएकामा जति प्रफुल्ल देखिए बेगा उतिनै पहिलो पटक नेपाली खाना जिवनमा चाख्न पाएकोमा रमाए । नेपाली खानाको प्रशंसा गर्न निकै शब्द खर्चेका उनले नेपाल चिनाउने उनको एभरेस्ट रेस्टुरेन्टलाई नगरपालीकाको पत्रीका मार्फत प्रचारप्रसार गरिदिने भन्दै सहयोगी मनपनि बाँडे । रेस्टुरेन्टबाट कमाउँला, थुपारौंला भन्दापनि नेपालकालागि केहि गर्न सकिएला, चिनाउन सकिएला भन्ने अशोकको आशा अलि बाक्लो छ । उनले सुनाए- पहिलो खुशि त मेरालागि एभरेस्ट भन्ने नामनै हो । हरेक क्षण म यहि हुन्छु, मलाई नेपाल वरिपरि घुमेको भावना दिने छ यसले ।

संयोगपनि कस्तो परेको छ भने उनको रेस्टुरेन्टको भवनपनि नेपाली घर जस्तै छ । पहाडी भूभागको कुनै घर जस्तो । पुरानो ढाँचा, धुवाँले स्पर्ष गरेझैं लाग्ने धमिला दलिन । काठैले बनेका । नेपालकै गाउँतिर जस्तो काठको फलेक । बुइँगलसमेत भएको । ‘मैले त नेपालकै कुनै घरमा भएझैं महसुस गर्छु नै, आउने पाहुनालाईपनि त्यो झलक चखाउने योजना छ” अशोकले सुनाए ।

सन् २००४ सालमा जर्मनी र बेल्जियम हुँदै फ्रान्स पसेका यीनको दुख र बेदनाको जति लामो फेहरिस्त छ, उतिनै उनले तिनलाई छिचोलेका छन् । छामेका छन् । त्यसैले उनी पटक पटक ‘यस्तै त छ परदेशको दुख’ भनेर दोहोर्‍याइरहन्छन् । तरपनि यत्ति छोटो समयमा यो सारा छिचोएर आर्थिक रुपमा यति सबल हुन, आफूलाई मात्रै नभएर आफ्नो देशकालागिपनि काम लाग्ने थलो जुराउन बिदेशीलाई त के यहिँका स्थानियलाईपनि गाह्रै पर्छ । सकारात्मक आँखाले हेर्ने हो भने यी जोडीबाट कम्तिमा बिदेशका थुप्रै नेपालीले केहि न केहि त पक्कै सिक्न सक्छन् । साँच्चै नमूना हुन् यी ।

तपाइँको प्रतिक्रिया