सत्ता भित्र र बाहिर
● रमेश गौतम “पाल्पाली”
सत्ताहीन भए हुन्छन् राष्ट्रवादी सबै यहाँ
सत्तासीन भए हुन्छन् समदर्शी सदा यहाँ
सत्ताहीन सबै देख्छन् भ्रष्टाचार जहाँ पनि
सत्तासीन हुँदै हुन्नन् भ्रष्टाचारी कहीँ पनि
●●●●●●●●●●●●●●●●●●●●●
सत्ताहीन भए देख्छन् नराम्रा देशका सबै
सत्तासीन भए देख्छन् राम्रामात्र यहाँ सबै
सत्ताहीन भए हुन्छन् जे भएका असुन्दर
सत्तासीन भए हुन्छन् नराम्रा पनि सुन्दर
●●●●●●●●●●●●●●●●●●●●●
सत्ताहीन भए देख्छन् बलात्कारीहरू पनि
सत्तासीन हुने हुन्नन् बलात्कारी कुनै पनि
सत्ताहीनहरू देख्छन् अपहारीहरू यहाँ
सत्तासीन भने हुन्नन् अपहारी कुनै यहाँ
●●●●●●●●●●●●●●●●●●●●●
सत्ताहीनहरू सारा अयोग्य र नकाम हुन्
सत्तासीनहरू मात्रै ठेक्काका ठेकदार हुन्
सत्ताहीनहरू मात्र सार्वभौम फलाग्दछन्
सत्तासीन भए भैगो सार्वभौम नकाम हुन्
●●●●●●●●●●●●●●●●●●●●●
सत्ताहीनहरू गर्छन् सभ्यता धर्मको कुरा
सत्तासीन भए भैगो सभ्यता कुन हो चरा
जनताको निहुँ पारी चुस्दछन् जनता यिनी
गर्दैनन् काम आफैंले देख्दैनन् अरुको पनि
●●●●●●●●●●●●●●●●●●●●●
हत्यारा चोर डाँका र भ्रष्टाचारी भए पनि
सत्तासीनहरू दिन्छन् माफी निर्दोष छन् भनी
मुद्दा फिर्ता समेत् हुन्छन् हत्यारा चोरको पनि
सत्तासीनहरू भन्छन् यो साधु भक्त हो भनी
●●●●●●●●●●●●●●●●●●●●●
अर्काको यदि त्यो मान्छे साधु रैछ भने पनि
हत्यारा चोर हो भन्दै थुनिन्छ दुष्ट हो भनी
पार्टीभित्र भए आफ्नो साधु ठान्ने छ रोग यो
पराई साधु नै होला झुठो चोर ठहर्छ त्यो
राजनीति भयो हावी दण्डनीति कहाँ गयो ?
राम्रो को हो नराम्रो को छुट्याउनै असाध्य भो
(सन्तान महाकाव्यको एक टुक्रा)





