कविता : सडकमा म

●  विध्या सापकोटा

तुषारोले झम्टेको विहान

आशाको चुस्की पिएर

जिजीविषाको पछ्यौरीमा लपेटिँदै

निस्किएँ म मूल सडकमा ।।

………………………

पर्दामाथी पर्दा

पत्रमाथी पत्र

ढुङ्गाको/ माटोको / बालुवाको / सिमेन्टको

उस्तै सिमेन्टेट मन

बाध्यताको / आडम्बरको

ढोङ्गको / केके केके को

………………………

उफ……….

किरणमुनि तुवाँलो

तुवाँलोग्रस्त सम्भावना

शून्य भरोसा……………… ।।

………………………

(निराशामा बर्बराएछु कि क्या हो ?)

प्रतिउत्तरमा

ओइरिए एक हूल

खर्पन बोकेका श्रमजिवी पाइलाहरु

बगे सलललल…

झोला भिरेका सम्भावनाका नदीहरु

फैलिए मुसुक्क

क्षितिजभरी बालसूर्यका आभाहरु…….. ।।

………………………

सायद ! 

हुस्सुको विहानीमा

कायरताबश निद्रा कोतर्दै रहेछु

…………………………….

यहाँ

घाम छ,पानी छ

ढुङ्गा छ, माटो छ

सिमेन्ट छ अनि मन पनि छ

रङ्ग छ र त विविधता छ  ।।

………………………

वास्तवमा,

जहाँ माटो छ त्यहाँ जीवन छ

जहाँ भोगाइ छ त्यही सृष्टी छ

सडकमा आशा हिँड्दैरहेछ

म सडक नाप्दैरहेछु…………….।। 

– शंकरदेव कलेज, काठमाडौं

तपाइँको प्रतिक्रिया