पेरिसमा नेपालको तिर्खा मेट्ने पर्व

धेरै भो सेलरोटी नचाखेको ? असनको गल्लीतिर सुक्कुलमा ट्याक्क चाकलमाडे लाएर मम झ्याम कि झ्याम नपारेको नि निकै भयो कि ? गोलभेंडा र मटरको अचारमा टिमुर मोलेर जिब्रो फट्कार्दै नखाएको पनि त निकै भो होला । चरचरी पुत्ताउँदै दाउरा बालेर हनहनी बलेको आगोमा बनाएको सेकुवा र नेपालकै गोर्खा बीयरको चुस्की ? भेडीगोठ र गौचरण, मेला पात र घाँस दाउरा गर्दा गुनगुनाएका गीत गाउन त के घाँटी तन्काउँदै सुन्न नपाएको’नी निकै भो होला । थुप्रै नेपाली दाजुभाइ दिदी बहिनीहरुसित लस्करै बसेर गामठामका गफ हाँक्कै नाङ्ला जस्ता थालमा झपका झप दालभात खाएको त अब संझना मात्रै बाँकी होला हैन ? रोदी र चौतारीको स्वादमा खुट्टा छड्के पार्दै नाचेको संझिँदा नाचौं नाचौं लाग्दैन ? तर बिदेशको बसाइ के पाउनु है यस्तो ? धन्दा नमान्नुस्, नेपाली सांस्क्रितिक ग्रिहले यो सबै रहर मेटाइदिने कार्यक्रम आयोजना गरेको छ फ्रान्सको राजधानी पेरिसमा ।

हो, आगामी जूनको ४ र ५ तारिख ग्रिहले पेरिसको सातो द भाँसेन भन्ने ठाउँमा नेपाली पर्वको आयोजना गरेको छ । बुद्दको विशाल मूर्ती भएको त्यस ठाउँमा माथी उल्लेख गरिएझैं नेपाल झल्काउने सारा चिज हुनेछन्। पशुपतीको दर्शन देखि बौद्दनाथ र स्वयम्भूको अवलोकन त्यहिँ गर्न पाइन्छ विशाल फोटोहरुमा । एरिक भालीलाई त सबैले चिनेकै हुनुपर्छ, उनका मन रसाउने तस्विर हुनेछन् नेपाल संवन्धि । जिवित देवी कूमारीको यात्रा त्यहिँ हेर्न पाइन्छ । काठमाण्डौंमा तानिने रथसम्म छुट्दैन । 

बिदेशमा जन्मेका वालवालिका गतिलोसित नेपाली बोल्न’नी जान्दैनन् नेपाल त के चिन्ने ? धेरैले भन्छन् यस्तो । तर यहाँका वालवालिकाले यस्ता यस्ता न्रित्य देखाउने छन् कि सबैलाई हेरेको हेर्‍यौ पार्नेछन् । झ्याउरे, लोकगित, कूमारी, आधुनिक लगायतका अनेक अनेक ह्रिदय छचल्काउने गीतमा समूहगत र एकल न्रित्यहरु प्रशस्त तयार पारेका छन् । दुई दिन कार्यक्रममा दिनभरिनै वालवालिका र पाका अनि केहि पेशागत कलाकारले न्रित्य देखाउने छन् । संगित सुनाउने छन् । त्यति मात्रै होर ? नेपालमा नाम कमाएको सुकर्मको कलाकार टोली पनि हाजिर छ । यहि सूकर्मको संगित साँझ चाख्न पर्‍यो भने कति लाग्छ दस्तुर लाग्छ याद होला’नी हैन ? यहाँ त आयोजकले सित्तै सुन्न पाइने व्यवस्था गर्दिएका छन् ।

रमाइलो मात्रै होइन, नेपालका बारेमा विविध क्षेत्रका गम्भिर विषयमा जान्न चाहनेकालागिपनि विशेषज्ञहरुले प्रवचन दिँदैछन् । विश्वमा बढ्दो क्रममा रहेको तापक्रमले हाम्रो देशको कुन कुन क्षेत्रमा के कस्तो असर पार्छ ? यसका विषयमा डा अनील मिश्रले सुनाउने छन् । नेपालमा द्वन्दका बेला पनि कुनै डर नमानी एक्लै नेपालका डाँडा पाखा चहारेर नेपालमा पर्यटक भित्र्याउन विश्वलाई उत्साहित पार्ने पूर्व फ्रान्सेली राजदूत माइकल जोलिभेटले “नेपाल र फ्रान्स – एउटा प्रेम को ईतिहास” भन्ने विषयमा आफ्नो ज्ञान सुनाउँदै छन् । नेपालका विविध क्षेत्र र विषयलाई झल्काउने आकर्षक फोटो र पोष्टर त कति छन् कति । नेपाली हस्तकलाका सामान, गर गहनाका स्टल त छुट्ने कुरै भएन ।

कार्यक्रममा पुगेका वालवालिकालाई झ्याउ नलागोस् भनेर वाल खेलहरुको व्यव्स्थापनि गरेका छन् आयोजकले । खाने कुरामा त भनिहालियो- मम, सेकुवा, बारा, सेल, जेरी, समोसा लगायतका विविध परिकार छानी छानी लिन पाइन्छ । नेपालै पुगे जस्तै लाग्ने भिडियो रहर पुगुन्जेल हेर्न पाइन्छ । यत्रो कार्यक्रम अवलोकन गरेको दस्तुर नाम मात्रै को छ । जम्मा दुई यूरो । कार्यक्रम बिहान ११ बजेबाट शुरु हुन्छ । त्यहाँ पुग्न लाइन ८ को मेट्रो चढेर पोख्त दोरे (Porte Dorée) मा ओर्लिनुपर्छ । पुग्न कठिनाइ भए पागोदा द भाँसेन् कहाँ पर्छ भनेर सोधे जसलेपनि बताइदिन्छ ।

तपाइँको प्रतिक्रिया