म पेवा हुँ अकिन्चनको

-तिलकराम आंदेम्बे

मेरो छेउ नआऊ 
म कङ्गाल गनाउँछु
तिम्रो लुगामा लाग्छ, अकिन्चन 

°°°°°°°°°°°°°°°°°°°°°°

तिम्रो अत्तरे कोटमा 
ह्वास्स गनाउँछु पसिना 
उठ्छु धुँवा तिम्रो शिरमा 
र गनाउँछु तिम्रो  अबयाब भरि 
छेउ नआऊ बिन्ति 

°°°°°°°°°°°°°°°°°°°°°°

कनिका खेर्दैछु याँ, बाँच्नलाई 
च्याप्लिन दुख्छु सडक भरि 
फाटेका थाङ्नाहरु 
चिसो छल्न उठ्छु 
मेरो छेउ नआऊ 
म फ्रान्कल गनाउँछु 
तिम्लाई दाग लाग्न सक्छ, म्लेच्छको
कृपा म छेउ नआऊ  
मेरो अबध्य अकिन्चन 
म पेवा हुँ मेरो 
म आर्थार्थी होइन याँ 
नियन्ता 
अ हँ चाहन्न 
म अमर्ष होइन 

°°°°°°°°°°°°°°°°°°°°°°

म बिभिषण होइन ता कि दाजुको बध गर्ने 
म याँ एक्लो दुख्छु 
अकिन्चन दुखि बस्छु 
म पेवा हुँ मेरो 
पर जाउ याँ घाम छेलिन्छ 
म सिकन्दर होइन 
म आर्त होइन 
म झुप्रो उठ्छु 
दायोजनिस  सल्बलाउँछु 
मेरो  नाङ्गो आङबाट 
तिम्लाई पसिनाको बाफ गनाउँछु  
छेउ नआऊ 
अकिन्चन सल्किन्छ , तिम्रो आङ्म़ा

°°°°°°°°°°°°°°°°°°°°°°

बिन्ति 
मेरो यो वसीयत 
म एकल रहन देउ याँ 
नबनाऊ मेरा कथाहरु 
इँट्टा थप्ने तिम्रो घरको, अकिन्चन 

°°°°°°°°°°°°°°°°°°°°°°

यदि त्याँ यो भए 
डुंडुंति गनाउँछ तिम्रो घर 
अत्तरे कोटहरु 
कृपामा छेउ नआऊ 
म पेवा हुँ मेरो 
याँ त्याँ जहाँ 
अकिन्चन …अकिन्चन …अकिन्चन…
फगत् मेरो अकिन्चन 
तिम्रो घर थप्ने इटा होइन 
इति प्रतिस्ठा

तपाइँको प्रतिक्रिया