हामी संकल्प गरौं
– सुभासचन्द्र देवकोटा
आउ, हामी, सहस्र मनहरु खिपेर, एउटा देश कोरौ,
जहाँ हिमाल उठेको हुनुपर्छ
हरीया पहाड मुन्तिर
पहेंला धानको वाला झुलेको हुनुपर्छ ।
यसवेला हातमा हात बाँधेर वस्ने वेला छैन,
स्कुल जाने नानीहरु कापी र कलम च्यापेर आउ,
मेलापात हिँड्ने वैनीहरु डोको र नाम्लो वोकेर आउ,
हलो जोत्ने कान्छहरु आउ, सगरमाथा चढ्ने तेन्जिङहरु आउ
अव हामी एउटै संकल्प लिएर, एउटा देश कोरौ,
जहाँ कोशी र कर्णाली सुस्साएको हुनुपर्छ
गुराँस फूल्ने पाखा मुन्तिर
वुध्दले गीत गाईरहेको हुनुपर्छ ।
यतिन्जेल कहिले, अर्काको मुख ताकेर वस्यौ,
कहिले विचारको द्वन्द ओडेर, आआफैमा भिड्यौ,
यसवेला अव, द्वन्दका स्वरहरु उठाउने बेला छैन,
गाउँतिर बस्ने कान्छा आउ
शहरतिर बस्ने काजी आउ
नक्सा बनाउने इन्जिनियर पनि आउ
बाटो खन्ने माईला पनि आउ
अव हामी सहस्र मनहरु उनेर,
एउटा एउटा देश कोरौ,
जहाँ स्वयम्भूको आँखा उघ्रिएको हुनुपर्छ,
राष्ट्रभक्तिको गीत गाउँदै गाउँदै,
भक्ति थापाले हलो जोतीरहेको हुनुपर्छ ।
(सुभासजी, तपाई नेपाल बाहिर बस्नु हुन्छ बह्ने यो कविता नेपाली साहित्य समाज, मस्कोलाई पठाउनुहोस। समाजले नेपाल बाहिर रहेका नेपालीको साहित्य र कला संबन्धि एक पत्रिका निकाल्दै रहेछ-नेपालप्लस) ।