पेरिसको दूतावासमा प्रजातन्त्र दिवस
हिजो प्रजातन्त्र दिवस । मनाउँ भने देशमा अहिले के प्रजातन्त्र छ र मनाउने ? नमनाउँ भने झन प्रजातन्त्रकै वकालत, संरक्षण गर्न त हो मनाउने । प्रजातन्त्रको बिकल्प पो के छ र ? यो यूगमा खै अरु एकतन्त्रीय कुन शासन पो पचाउन सकिन्छ ? ल्याएपनि टिक्छ र ? भएका त धमाधम ढल्दै छन् ।
मनाउन गइयो प्रजातन्त्र दिवस । आयोजना पेरिसको नेपाली दूतावासमै थियो । आफ्नो त प्रजातन्त्र दिवस मनाए लगत्तै सानो बैठकपनि थियो कार्यबाहक राजदूत जिवनप्रकाश श्रेष्ठसित । फ्रान्समा नेपाललाई प्रवर्धन गर्ने विषयमा । सायद दूतावासलाई आएको निर्देशन, नेपालको क्षमता हेरेर होला, थोरै थियौं । केहि संघ संस्थाका मित्रहरु सहित ।
देशमा अन्यौल, अनिश्चय जस्तो देखिएपनि प्रजातन्त्रको संस्थागत विकासकोलागि प्रयास भइरहेको र प्रजातान्त्रिक संविधान लेख्न सरकारले प्रतिबद्दता जाहेर गरेको प्रसंग निकाले श्रेष्ठले । को कोले के के बोले भन्नु भन्दापनि सबैको चिन्ता कतै फेरी प्रजातन्त्र मासिने पो हो कि ! जनताले साह्रै दुख र मेहनत गरेर ल्याएको प्रजातन्त्र नेताहरुको कमजोरीका कारण गुम्ने पो हो की ?
यो भन्दा बढि चिन्ता राजनितिक दलका नेता गम्भिर भएनन् । जनतालाई धोका दिन थाले । आफू आफूमा लडाई गरेर जनता र देशप्रति गरेका बाचा भुले । राष्ट्रियतानै खतरामा पर्ने अवस्था देखिएकाले कतै हाम्रो सार्वभौमसत्ता गुमुन्जेलसम्मपनि सत्ताकैलागि मरिहत्ते गरेर बस्छन् की ?
हामी अहिले सामान्य विवाद र कष्ट भोगिरहेका छौं । कतै नेताहरुको कमजोरी, फूट, सत्ता लिप्साका कारण प्यालेस्टाइन जनताले झै आफ्नो भूमी खोज्दै हिँड्नु पर्ने हो कि ! आज प्रजातन्त्रका लागि आवाज उठाएका हामीले भोली देशकै माटो खोज्दै हिँड्नुपर्ने होकी ? प्रजातन्त्र संस्थागत भएन, देश सम्पन्नशाली भएन भने हामी झैं हाम्रा पुस्तापनि विभिन्न मुलुकमा चहार्दै हिँड्नुपर्ने हो की ! चिन्ताहरु निकै ब्यक्त गरिए । शहिदहरु संझँदै एक मिनेट मौन धारणपनि गरियो। तस्विर लिइएकोपनि त्यहि बेला हो ।
विदेशमा बसेपनि तन, मन, मस्तिष्क, आफ्नो सारा उतै छ । अफ्नो थात थलो उहि हो । त्यसैले विदेशमा बस्ने नेपालीहरुले प्रजातन्त्रको रक्षाकोलागि विगतमा झैं सजग रहनु पर्छ । प्रजातन्त्रका पक्षमा वकालत गर्नुपर्छ । हाम्रा नेताहरुलाई विदेश भ्रमण लगायत बेकारका काममा अल्झिन विदेश आउँदा विरोध गरेर नेपाली जनताको भावना के हो त्यसको बोध गराउनुपर्छ । नेताको विरोध गर्नु कुनै पार्टी विशेष र सधैंको लागि होइन । देशमा संविधान नबनुन्जेल सम्मकालागि हो । त्यसैले विदेशका नेपाली मिलेर आफ्नो देशका साझा समस्यामा हातेमालो गर्नुपर्छ । हाम्रा नेता फुटे झैं हामीपनि फूट्नुहुन्न भन्ने तर्क गरिए ।
करकर लाग्दा भाषण भएनन् । परि आउँदा नेताको चाकरी गर्ने । माइक पाएपछि झम्टिने पनि भएन । पानाका पाना पल्टाउँदै लोकतन्त्रको कथापनि सुन्नु परेन । थोरै वक्ताले छोटकरीमा कुरा राखे । प्रजातन्त्र प्रति प्रतिबद्दता जाहेर गनु न थियो । स्मरण गर्नु न हो । छोटो, मिठो र छरितो ।





