मृत्यु
-दिलीप योन्जन / अस्टिन, अमेरिका
मस्त जवानीमा
सात समुन्द्रपारी
कल्पनामा डुब्दै
यातनामा जल्दै
सम्झनामा रुँदै
एकान्तमा भुल्दै
रुन्चे हाँसो हाँसेर
मान्छेहरूको भीडमा
ज्यानको बाजि लगाएर
युद्धको तयारीमा
मेसिनगन पड्काएर
नाङ्गो खुकुरीको भरमा
बहादुर हुन्छौ………….?
°°°°°°°°°°°°°°°°°°°°°°°°
सीमा रेखा पारिको देशमा
चुप चाप कति बस्ने
हामी गधा होइनौ
जति भारी बोकाए पनि हुने
जमिनदारको जग्गा हैन
ठेक्का र अधियाँमा लाग्ने
किनबेच हुने
सिठीको भरमा होमिनु पर्ने
बीर गोर्खाली बनी
वीरता बेच्नु पर्ने
रुन्छ यो आत्मा रुन्छ
°°°°°°°°°°°°°°°°°°°°°°°°
पाखा पखेराले सोध्छ
बन पाखा सुस्साउँछ
चाड पर्वले खोज्छ
दियो रुँदै पिलपिल जलिरहन्छ
सयपत्री र गोदावरीको माला उनेर
दिदी बहिनी बाटो हेरिरहन्छ
°°°°°°°°°°°°°°°°°°°°°°°°
तर तिमी हातमा मेसिनगन बोकेर
कम्मरमा खुकुरी भिरेर
कुन साहेब वा सिमाना
मृत्युबाट डराई डराई
कहालि लाग्दो ठाउँमा
खाई नखाई
खुल्ला आकाश मुनि
सुनसान सुनसान सडकमा
त्रसित मुद्रामा
न रात न दिन ।
°°°°°°°°°°°°°°°°°°°°°°°°
छुट्टी र हाजिरीमा
मस्त जवानी बित्छ
कहाँ कुन बेला मृत्यु
बम मिच्छ्याएका डोबहरूमा
नाङ्गो खुकुरी टल्काएर
आत्मा नमानी नमानी
रगत सहितको खुकुरी
बिरानो माटोको लागि
मृत्युको पीडाले छटपटिई
मुखभरि रगत च्यापी
सम्झनामा दुई थोपा आँसु
वेदनामा डुबेर
बालुवा र पखेरामा लड्दै
रित्तो हातसँगै
खोक्रो तक्मा थापेर ।
°°°°°°°°°°°°°°°°°°°°°°°°
फर्किने त फर्किए
नफर्किने हराए
सुनसान बगर अनि सहरमा
चुपचाप उभिरहेछ
आश्चर्य मान्दै प्रश्न गर्छ
बहादुरी के को लागी…?
मर्नु के को लागी…..?
कुन माटोको लागी……?
कुन अधिकारको लागी……?
°°°°°°°°°°°°°°°°°°°°°°°°
सडक रक्ताम्य छ
आफ्नै खुकुरी र गोलीले
रगत जताततै बग्दै छ
पाइला राख्ने ठाउँ छैन
रुँदै छ कराउँदैछ
बाच्ने आसा लिएर
के थाहा लडाकूहरूलाई…….?
यो कसको रगत हो……..?
किन जीवन बलि चढाउँदैछ………?
कसको माटोको लागी…………?
न त रगतको महत्व छ
न त माटो नै रङिएको छ
न त खोसिएको अधिकार फिर्ता हुने हो
न त हाम्रो झन्डा नै फहरिएको छ
न त समानता र स्वतन्त्र नै छ
न त माटोमा समान हक अधिकार नै छ
त्यहाँ त मान्छेहरूको
केवल मृत्यु मात्र हुन्छ ।





