मधेशी दलको प्रचण्डलाई खतरनाक प्रस्ताव
अलि पहिले यीनै मधेशी दल एक मत भएर भने- यदि एनेकपा माओवादीका नेता डा बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने हो भने हामी समर्थन गर्न तयार छौं । त्यति बेला माओवादी भित्र प्रचण्ड-वैद्य र भट्टराई पक्षबिच टकराव देखिएको थियो । तिनले भट्टराईको मनोमानी चल्ने र उनी माओवादीको पार्टी नीति र निर्देशनबिनानै चल्छ झैँ गरेर समर्थनको जालो फ्याँके ।
अहिले माओवादी, नेपाली कांग्रेस र एमालेबिच सरकार गठनका विषयमा टकराव छ । यो बेला फेरी तिनले अर्को जाल फ्याँकेका छन्- माओवादीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेर माओवादी लाई बदनाम गर्ने, तिन दललाई मिल्न नदिने । यो प्रस्तावभित्र उनीहरूको स्वर्गीय नेता गिरिजा प्रसाद कोइरालाले भने झैँ ग्र्याण्ड डिजाईन लुकेको छ ।
स्रोतका अनुसार अहिले सरकार गठनका विषयमा यी प्रमुख दलबिच हानथाप चलेका बेला अस्ति साँझ मधेशी दलका नेता सुटुक्क प्रचण्डलाई भेट्न गएछन् । उनीहरूले प्रचण्डलाई फकाउन “मधेशका विषयमा मिल्ने नीति भनेकै हाम्रो र तपाईको पार्टी को हो । एमाले र कांग्रेस मधेशका नारा सुन्नासाथ तर्सिन्छन् । उनीहरू मधेशीलाई अधिकार दिनै चाहन्नन् । ती वर्षौंदेखि जनताकाबीचमा अलोकप्रिय भैसकेका छन् । त्यसैले तपाइ र हामी नयाँ पार्टी मिल्नुपर्छ” भनेछन् ।
उनीहरूले कांग्रेस र एमालेलाई सत्तोसराप गर्दै प्रचण्डलाई उचालेनन् मात्रै अब प्रधानमन्त्रीमा तपाइनै उठ्नुस् हामी मधेशी दलले तपाइलाई सहयोग गर्छौं भन्दै प्रस्ताबसमेत राखेछन् । उनीहरूको योजना प्रचण्डलाई उचालेर बुरुक्क उफार्ने अनि फेरी एमाले र कांग्रेस कहाँ गएर मोलमोलाई गर्ने थियो “लौ हाम्रो यो यो माग पुरा गर्ने भए, तराईका यी यी मुद्दामा सहमति गर्ने भए समर्थन गर्छौं नत्र प्रचण्डलाई समर्थन गर्छौं । माओवादीले यो यो पुरा गर्दिने भो” भन्दै । तर पटक पटक धोका खाएका प्रचण्डले के पत्याउँथे ? उनले सिधै भनेछन्- तपाइहरूको योजना सामान्य छैन । पहिलेपनि धोका दिनु भएको हो कसरी विश्वास गर्ने ? प्रचण्डले यिनले अहिले समर्थन गर्छन् र एकाध महिनामै बखेडा अनेक अनेक झिकेर सरकार ढलाउँछन् भन्ने बुझेर त्यस्तो जवाफ दिएछन् ।
खास योजना अहिले मधेशी दलको के रहेछ भन्ने बुझेर त्यस्तो जवाफ दिएछन् अहिले तिन दल मारमुंग्री गरेका बेला प्रचण्डलाई उचालेर सरकार बनाउन सहयोग गर्ने । अनि यो सरकारले काम गर्ने सक्दैन । भनेको नमाने, तलमाथि काचाककुचुक भए ढालिदिने । सरकारको ताला चाबी आफूले लिने । आफ्ना स्वार्थ पूरा गराउने । त्यस्तो सरकारले हलचल गर्न सक्दैन । अनि पार्टी भित्र नेता नेताबिच फूट आउँछ । कार्यकर्ता आगो हुन्छन् । नेताबाट चूर हुन्छन् । जनताबाट झन् टाढिन्छन् । प्रचण्ड झन् थाङ्नो बन्छन् ।
त्यसो हुँदा बाबुराम र प्रचण्डबिच झन टकराव पार्न पाइने । पार्टीमा भाँड भैलो र बदनामी गराइदिएपछि ? आगामी चुनावमा “हामीले त माओवादीको सरकार बनाउन समर्थन गरेकै हो । तैपनि केही गर्न सकेन” भनेर हराउन सकिने । अनि त्यसो गर्दा एमालेमापनि आफू आफूमै झगडा गर्नाले प्रचण्डलाई प्रधानमन्त्री बन्ने वातावरण मिलाइदिएको भनेर एमालेका झलनाथ खनाल, केपी ओली र माधव नेपालबिच झन झन आगो झोस्न पाइने । मधेशी दलको अहिले यहि रहेछ योजना । यसरी उनीहरू प्रमुख तिनलाई कुनैपनि हालतमा मिल्न नदिने गुरु योजनामा लागेका छन् । तर के यो बुझेर एमाले, माओवादी र कांग्रेस मिलेर जान सहमत होलान् त ?




