पेरिसमा पहिलो पटक ल्होसार जम्दै छ है सोल्टी हो !!
(जनवरी २ आइतवार हुने, कार्यक्रमको पूर्ण रुप भित्र हेर्नुस्)
‘यसपाली हामी गुरुङले नी ल्होसार मनाउ’नी हो । त्यसैकोलागि मिटिङमा आइदिनु पर्यो’ । लौ गुरुङको लोसार मनाउने मिटिङमा म बाहुनलाई बैठकमा निम्ता ? जिल्लै परें । पुगियो अनिता गुरुङ र प्रेम गुरुङको पोखरा रेस्टुरेन्टमा । त्यहाँ त माया प्रिति भन्ने गुरुङको असाध्यै चलेको गितमा नाच पो चल्दै रैछ । मिटिङ भने यो आउँछ, नत्र आउन्न अनेक कारण देखाउँदै भनेर होला नाचगान र रमाइलोमा आज बोलाएछन् भन्ने सोचेँ ।
तर मिटिङनै रहेछ । गज्जब लाग्यो पेरिसका यी गुरुङ साथीहरूको पारा । मिटिङमा रमाइलो त हुँदै हुन्न । बहस, छलफल, कहाँ हुनी त्यस्तो ? किन हैन ? हुँदै हुन्न । म सक्दिन । कसैले, गरेन । यस्तै कुरा । कतै त तात्तेरै हुन्छ प्रतिवाद । आलोचना खप्यो फर्क्यो, जिम्मेवारीको झोला घसार्यो आयो । तर गज्जब निकाले यी गुरुङ साथीहरूले । मिटिङ अगाडिपनि गीत संगितमा न्रित्य गरेर रमाउने । हाँसेर रमाएर मिटिङ सुरु गर्ने रमाएको मनले । अनि बैठकमा के के भनाभन, झोंक सोंक चल्छ, गम्भिर बहस हुन्छ । साथीभाइमा आरोप प्रत्यारोप भएपनि पछि फेरे नाचेर गाएर रमाइलो सित हाँस्दै छुट्टिने । ओ !!!!! सोल्टी रिसाउन पाइन्न के रे ! भन्यो हिँड्यो ।
अस्ति आइतवार त्यसै गरे । मिटिङ शुरु भो । लु सोल्टी भन्नोस् । ‘आ दुइ चार कुरा मत्तै राख्च’ भन्छन् । झ्याप कि झ्याप हो । मन परोस्, नपरोस्, राम्रो सोचोस् नसोचोस् अँहँ मतलब छैन । हेप्ने खोजेको होइन तर हामी बाहुन क्षेत्रीको भए ‘मेरा हजुर बा ले’नी भन्दै आकास जमिन, हावा, घाम पानी साराका सारा जोडेर के के हो के के प्रसंग निकालेर निर्णय गर्न हैरान हुन्थ्यो । सबैलाई पालो पुग्नै पर्थ्यो यस्सो भाषण हान्न ।
यो जनजाती जुन देशमा, जुन समाज र संस्क्रितिमा बसुन् अझै सिधा, बिना छलछाम कुरो नचपाइ बोल्ने, व्यवहार गर्ने बानी हराएको छैन । अरुले बोल्दा आनन्दले सुन्छन् । खासखुस् गरे लोग्ने होस् कि छोरो, साथी, छोरा छोरी सातो खान्छन् । तमु समाज गठन गर्ने सल्लाह गरे । एक्कै छिनमा निर्णय गरे एकाध जना बोलेर । ‘यो समाज चाहिन्छ कि चाहिन्न खुरुक्क भन सोल्टी’ भन्छ कोही । ‘चाहिन्न भने लु ऐले निर्णय गरेर छोड्दिहालम’ भन्छ अर्को । एक्कैछिनमा सहमती गरे । कुन अकम कसले गर्ने ? ‘ भटाभट जिम्मेवारी लिए सकियो । जनवरी २ तारिख गुरुङहरूले आफ्नो नयाँ वर्ष ल्होसार मनाउने निर्णय गरे । गुरुङ गित र न्रित्य सहित मनाउने । गुरुङ संस्क्रिति, संस्कार र पर्वको परिचय दिने, आफ्नो पहिचान कायम राख्ने ।
नाचगान, स्वागत, व्यवस्थापन सबै विषयमा बुँदागत छलफल हुँदा दस्तुर कति लिने त प्रवेश र खाना सबै गरेर ? सोध्दा त सित्तैमा खुवाउने पो भन्छन् । पहिलो चोटि गर्न लागेको रे ल्होसार गुरुङले, अनि ठूलो मन गरेर सित्तैमा खुवाउने रे आए जति सबैलाई । संस्था गठन छैन । संस्थानै नभएपछि संस्थाको नाममा दाम हुने कुरो भएन । बल्ल बल्ल दुखजिलो काम गरेर जोगाएको पैसो गोजीबाट खर्च गरेर अनि सित्तैमा खुवाउने रे । हप्ता दिन तयारी गरेर, काम छोडी छोडी, निन्द्रा मारी मारी कामपनि गरेर । हैन यी गुरुङ त उतै नेपालमै ‘आ सोल्टी हेइँ आइसकेसि ‘नी के जानी हो भन्या, कुख्रा मासु र यस्सो रौसी सौसी खाएर, एक दुइ दिन नबसी, रोंधी नजमी त’ भन्दै चौताराँ बसेकालाई हात समाउँदै घर ल्याएर खानपिन गराउने नेपालकै पाराका रैछन् ।
मलाई त चित्तै बुझेन । २०० जना आएपनि ५ युरोका दरले उठाए २००० युरो उठ्छ । त्यसले कि त कतै खानी पानि को धारो हाल्न पुग्छ नेपालमा । कि कतै पुस्तकालय बनाउन सहयोग हुन्छ । कि भत्केको स्कूलको छानो हाल्न पुग्छ । आफ्नै देशका केहि दुखियाको दुखमा साथ दिए झैँ हुने । पहिलो कार्यक्रमबाटै आफ्ना देशका लागि गुरुङ समाजले केही गर्यो भन्ने राम्रो सन्देश’नी जाने । अरूलाई हौसला’नी हुने । यसो भनेको त पास भो यो प्रस्ताव । वाल वालिका र काम धाम नहुने, पैसो छैन भन्नेलाई निःशुल्क गर्दिने भने ।
झ्यापझुप जिम्मेवारी भटाभट लिए । अरूले तैले यो गर भन्नु भन्दापनि ल म यो बेला आउँच, म यो गर्च भने आफैँले । अनि खत्तम । फेरी गुरुङ, गीत लगाए । समूहगत रुपमापनि नाचे । तिन घण्टामा बैठक, दुई दुई पटक सम्म नाचगान सारा सकियो । मलाई त गज्जबै लाग्यो । कुनै कामको लागि बैठक बस्दा नाचगान गरेर यस्सो रमाउनेपनि । गजबकै पारा निकाले । बरु सोल्टीहरूलाई एउटा कुरो संझाउन मन लाग्यो – सोल्टीहरू हो फेरी फेरी’नी यसै गरौं है ?
कार्यक्रमको रूप
कार्यक्रम हुने दिन– जनवरी २ तारिख आइतवार
कार्यक्रम शुरु -१२ बजे (पहिले घोषणा गरिएभन्दा बदलिएको)
स्थान- पोखरा रेस्टुरेन्ट
प्रवेश दस्तुर- ५ युरो (वालवालिका र रोजगार नभएर पैसाको अभाव हुनेलाई निःशुल्क)
ठेगाना- 19 Avenue de la République
94700 Maison Alford
फोन- 01 49 77 61 71
मेट्रो- Maison Alford Stade/ Line- 8
RER D – Maison – Alford Stade Alfortville
(कार्यक्रमबारे आफन्त, साथीभाई र पेरिस निवासीहरुलाई खबर गरेर सहयोग गरिदिन गुरुङ समाज, पेरिसको आग्रह) ।




