यथार्थ
-निरज मान श्रेष्ठ / काठमाडौँ
उ,
शङ्ख बज्यो
सायद युद्धको होला ।
लाग्छ अब शान्तिको बाटो सकियो ।
अब यहाँ,
हजारौ गंगापूत्रहरु बिवशतावस युद्धमा होमिने छन्,
सयौं द्रोणाचार्यहरु मिलेर बाण चलाउने छन् ।
°°°°°°°°°°°°°°°°°°°°°
सारा भूमिहरु धुवाँ र धुलोको चपेटामा किन नपरोस ,
सम्पूर्ण मानब इतिहास नै संकटमा किन नपरोस
उनीहरु बाँण चलाउने छन्, बस…, बाण चलाउने छन् ।
तर पनि यहाँ
अर्जुनले प्रतिउत्तरको बाँण चलाउने छैन
भीमले प्रतिबाद्को गदा उठाउने छैन ।
किनकि, आजको अर्जुनमा आफ्नुत्वको भावना अति छ,
धर्म प्रतीको विश्वास उडेको छ ।
°°°°°°°°°°°°°°°°°°°°°
दुर्योधन र दुशासनको अभिमान मात्र बढेको होइन
यहाँ,
युधिष्ठिरले पनि सत्य बोल्न छाडिसकेका छन् ।
अनि कृष्ण ?
ए ..कृष्ण….
उसको कुरै छोडौं
उतै रानीबन तिर गोपिनीहरुसंग नै मस्त होलान
उसलाई कंश मारेकोमा पश्चताप छ रे,
पुतनाको अभाब खट्केको छ रे ।
शुदर्शन चक्र त त्यागिनै सकेका छन
मुरलीमा विश्वास बढेको छ रे ।
°°°°°°°°°°°°°°°°°°°°°
त्यसैले,
अब ढुक्क भए हुन्छ
द्रौपदीको चिर हरणमा कोहि बोल्ने छैन
किनकि,
आजकल द्रौपदीहरु चिर हरणकै लागि जन्मेका हुन्छन
जुवामा कपट भयो भनेर कोहि कराउने छैन
किनकि
आजकल जुवा कपटकै लागि रचिएको हुन्छ ।
°°°°°°°°°°°°°°°°°°°°°
ऊ हेर त,
द्रोणाचार्यले चक्रब्युहको रचना गरे जस्तो छ
अब स्वाभिमान त्यसमा कैद हुनेछ
किनकि,
सबलाई थाहा छ,
चक्रब्यूह तोड्न सक्ने कृष्ण र अर्जुन धर्मको साथमा छैनन् ।
अनि,..अभिमन्यु ?
ऊ त अझै जन्मेकै छैन ।
त्यसैले सबैलाई भनिदिए हुन्छ
भोलि,
सत्य पिँजडामा पर्नेछ
धर्मशालामा आगो झोसिने छ
मन्दिरहरु भट्टी पसलमा परिणत हुनेछन
अनि इमान्दारिताले कोकोहोलो हालेर रुनुपर्नेछ
किनकि ,
यो अर्को एउटा महाभारत हो, तर यहाँ पाण्डब बिजयी हुनेछैन ।
हाल : ताइवान




