मुटु दुख्यो भन्दै पारसद्वारा डाक्टरको माग
चितवन जंगलभित्र टाइगर टप्समा भएको गोली काण्डको अभियोगमा पूर्व युवराज पारस शाह मात्रै पक्राउ परेका छैनन्, नेपाली सेनाका एकजना क्याप्टेनसमेत कारबाहीमा परेका छन् । सैन्य हेडक्वार्टरले क्याप्टेनलाई फिर्ता बोलाई कोर्ट अफ इन्क्वायरी गठन गरेको छ । उता हिजो पोखराको फूलबारी रिसोर्टमा आफूलाई पक्रन आएको प्रहरी टोलीसित शाहले गरेको गलफत्तीको विवरणसमेत जनआस्थाले फेला पारेको छ ।
सैन्य हेर्डक्वार्टरले पारस शाहका एडिसी क्याप्टेन सरोज थापालाई फिर्ता बोलाएको हो । थापा पारससाग घटनाभन्दा अघि टाइगर टप्समा पुगेको र घटनापछि पनि त्यहीँ रहे तापनि उनले माथिल्लो निकायमा खबर नगरी बसेको आरोपमा उनीमाथि कारबाही भएको हो । घटना भएको स्थानबाट तीन किलोमिटर दूरीमा नेपाली सेनाको भीम्ले पोष्ट रहे तापनि थापाले कुनै रिपोर्ट नगरेको स्रोत बताउँछ ।
घटनापछि पोखरा पुगेका पारसलाई हिजो दिउासो साढे ११ बजे पक्राउ गर्न गृह मन्त्रालयले पोखरा प्रहरीलाई खबर गरेको थियो । त्यसपछि पुगेको प्रहरी टोलीलाई होटलको ३१२४ नम्बर कोठामा बसेका पारसले भने, ‘मलाई सञ्चो छैन, म किन वहाँ (चितवन) जाने ? म यहीँ फेस गर्छु, हाकिमहरु यहीँ आउन् ।’ पारसका साथमा पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहका छोरा प्रभञ्जन सिंह र अस्ट्रेलियाबाट आएका बस्नेत थरका युवा थिए । केही बेरमा काठमाडौंबाट फिस्टेल एयरको हेलिकोप्टर लिएर अनिल अधिकारी नाम गरेका गाडी चालक पनि फूलबारी पुगे ।
प्रहरीले पारसलाई गाडीमा चितवन लैजाने कुरा गर्दा उनले मानेनन् र पहिले जानै नमानेका उनी हेलिकोप्टरमा मात्रै जाने जिद्दी गर्न थाले । ‘हामी पैसा तिर्न सक्दैनौं, हेलिकोप्टरमा लैजाने आदेश पनि छैन,’ प्रहरीले यसो भनेपछि पारसले भने, ‘म आफैं पैसा तिर्छु ।’ तर, हेलिकोप्टरमा जाने कुरा सकिएपछि पारसले फेरि अर्को माग तेर्स्याए, ‘म बिरामी छु, मेरो हर्टको प्रोब्लम छ, मलाई डाक्टर पनि साथैमा चाहिन्छ, वकिल पनि चाहिन्छ ।’ केही बेरमा पारसका ज्वाइँ प्रमुख सेनानी डा. राजीव शाही र वकिल भरतपुर पुगेको खबर आयो ।
अनेक गलफत्ती र आलटाल गर्दागर्दै साँझ पर्न लाग्यो । अब २० मिनेटपछि हेलिकोप्टर उड्न नसक्ने जानकारी आयो । त्यसपछि प्रहरीले अलि कडा हुनुपर्यो, ‘अब ढिलो गर्यो भने हेलिकोप्टर उड्दैन, माथिको आदेश भएकाले तपाईंलाई कुनै हालतमा पनि लान्छु ।’ प्रहरीले यसो भनेपछि एयरपोर्टमा फिस्टेलको हेलिकोप्टर तेल भर्न लगियो । तर, त्यहाँ सोही एयरको अर्को हेलिकोप्टर भेटिएकाले त्यसैमा हालेर पौने ५ बजे पारसलाई उडाइयो र ५ः१० मा चितवन प्रहरीलाई जिम्मा लगाएर पोखराको प्रहरी टोली जिल्ला फर्कियो ।
आफूलाई पक्रन प्रहरी आएपछि पारसले सकेसम्म संयमित हुने प्रयास गरेका थिए । उनी बसेको भन्दा भित्रपट्टि अर्को कोठा थियो । उनी पटक-पटक बाथरुम पस्दै-निस्कँदै गर्थे । ‘म फेस गर्छु,’ उनले बारम्बार यो शब्द दोहोर्याएका थिए । ‘मेरो हर्टको प्रोब्लम छ,’ उनको भनाइ थियो । हुन पनि पारस मुटुका बिरामी हुन् । अघिल्लो वर्ष नर्भिक अस्पतालमा मुटुको भल्भको सल्यक्रिया गरेपछि डाक्टरले उनलाई रक्सी र चुरोट नखान सल्लाहसमेत दिएका थिए ।
पोखराबाट हिँड्ने बेलामा पारसले खाना मगाए र थोरै खाए । उनी फ्रेस हुने कोसिसमा थिए, त्यसैले हिँड्नु घि उनले नुवाइधुवाइसमेत गरे । तर, वारेन्ट पुर्जीमा हस्ताक्षर गर्नचाहिँ मानेनन् । ‘उतै गएर गर्छु,’ पारसले पुर्जी लिएर गएका प्रहरीलाई भने ।
को–को थिए टाइगर टप्समा ?
गोलीकाण्ड मच्चिएको चितवनको टाइगर टप्समा त्यसरात एभरेस्ट होटल मालिकका जेठा छोरा सारिक लारी, धीरेन्द्र शाहका कान्छा ज्वाइँ आदर्श राणा थिए । दरबार हत्याकाण्डमा बचेका महेश सिंहका छोरीज्वाइा हृदयेश सिंह र दीप्ति राणा रुबेलका असल मित्र हुन् । सुजाता कोइरालाले आˆना ज्वाइा रुबेललाई वर्ल्ड्स रिचेस्ट बंगाली लिभिङ इन लन्डन (लन्डन बसिरहेको विश्वको धनी बंगाली) भनी गर्व गर्दै आएकी थिइन् । पछिल्लो समय दीप्ति र रुबेलले काठमाडौंको महाराजगन्ज र झम्सीखेलबाट अर्डरअनुसार होम डेलिभरी गर्ने मुस्लिम बिरयानीको व्यापार गर्दै आएकाले उनीहरु ‘बिजनेस पार्टनर’समेत हुन् । त्यसो त सुजाताले भर्खरै दीप्तिका श्रीमान हृदयेशलाई मलको ठेक्कासमेत मिलाइदिएकी थिइन् । टाइगर टप्समा राजावादी र गणतन्त्रवादीबीच भनाभन भएको भनिए पनि सुजाताका छोरीज्वाइाका व्यापारिक पार्टनर हृदयेश र दीप्तिका पिता-ससुरा महेश सिंह पूर्वराजा महेन्द्रकी सौतेनी बहिनीका श्रीमान हुन् ।
स्रोतका अनुसार टाइगर टप्समा पारस बसिरहेका ठाउामा रुबेल पुगेका थिए । पहिले राम्रै कुराकानी गरिरहे पनि रक्सी लागेपछि पारसले ‘आइज बाघ हेर्न जाऔं, अहिल्यै जंगल जाऔं, आइ इन्सिस्ट यू अल कम नाऊ (म जोड दिएर भन्छु- सबै जना आऊ)’ भन्दै उर्दी लगाए । ‘मेरो त बच्चा छ’ भन्दै मेलानी तर्सेर कोठातिर लागेकी थिइन् ।
टर्यो अर्को कालो शुक्रबार
शुक्रबार उसै पनि राजपरिवारका लागि कालो दिन मानिन्छ । तर, हिजो पारस पोखरामा पक्राउ पर्नाले आगामी शुक्रबार सोल्टी होटलमा हुन लागेको सम्भावित भिडन्तको घटना भने टरेको जानकारहरु बताउँछन् । स्रोतका अनुसार पाँच वर्षअगाडि एभरेस्ट होटलमा पारसका हातबाट निर्घात पिटाइ खाएका सिद्धार्थ राणा र पारसबीच शुक्रबार सोल्टीमा भेट हुने निश्चित भइसकेको थियो । उक्त दिन बेलुका ८ बजे ७८ वर्षीय पूर्व शाही पाश्र्ववर्ती भरतकेशर सिंहका ५० वर्षीय माहिला छोरा अजयकेशर सिंहको बर्थ डे पार्टी हुँदैछ । पूर्वराजा ज्ञानेन्द्र प्रमुख अतिथि रहने नाचगानसहितको सो रात्रिभोजमा भर्खरै पाँच महिनाको छोरो बोकेर लन्डनबाट आएका सिद्धार्थ राणा र श्रीमती निलिमा लिम्बूलाई पनि निम्त्याइएको छ । पारसको पिटाइपछि सिद्धार्थले नेपाल छाडेका थिए । यो घटनापछि सिद्धार्थ र पारसबीचमा मात्रै होइन, पुराना साथी मानिने उनीहरुका पिता प्रभाकरसमशेर र ज्ञानेन्द्र शाहका बीचमा समेत मनमुटाव बढेको छ ।
शुक्रबारको पार्टी आयोजनाकर्ता भरतकेशरका छोरा र नेपाली कांग्रेसबीचमा पनि फरियाको नाता छ भन्ने कुरा कमैलाई जानकारी होला । अजयकेशर शेरबहादुर देउवाकी पत्नी आरजु राणाका बहिनीज्वाइँ हुन् । देउवा प्रधानमन्त्री भएका बेला अजयकी श्रीमती -देउवाकी साली) सम्झना उनको पीए बनाइएकी थिइन् । देउवाका पालामा लुट्नुसम्म लुटेका अजयले युएन मिशनमा नेपाली सेना पठाउादा चार्टर्ड फ्लाइट ठेक्का लिएर अहिले पनि अकूत कमाइरहेका छन् । शुक्रबार करिब दुई सयका लागि खानपिनको व्यवस्था गर्न सोल्टी होटललाई अर्डर दिइएको छ । सो पार्टीमा दुई एलिट ग्याङहरुबीच ग्याङफाइट हुने सम्भावना भने पारस शाहको गिरफ्तारीपछि तोडिएको छ ।
(आज बुधवार अंक ३८, मंसिर २९, २०६७ को जन आस्था साप्ताहिकबाट)




