पदक

कपिल अधिकारी  / ताईपे, ताइवान

यो जुम्साले के गर्ला र भन्दा भन्दै

नपत्याउँदा नपत्याउँदै कस्तो झिलिक्क आयो आँधी

डग डग भो भूमि

खाँबो धरमरायो

दलिन कट्कटायो

जरो गाडेको भनेको अग्राखे थामको

भरै नभएपछि

आफ्नो टोपी समातेर दम्पच भो धनीराम

गजुर ढल्यो

ओहो ! छाना उडायो मालिकको ! 

+++++++++++++++

 तेल मालिस

बूट पालिसका केही बक्सिस थिए

मालिक आफैँ न्वारन गर्थ्यो

ढाल्थ्यो

बाँड्थ्यो

आफूलाई, आफन्तलाई पदक !

धनीरामको भागमा केही परे

दाद ईदी अमिन जस्तै

आफैँ ढालेर, आफैँ भिरेर

दंग पर्थे, दंग पर्थ्यो

कति गर्व गर्थ्यो धनीराम

छातीमा टाँसेर टमटम पर्थ्यो

कसैले देख्लान् की ?

आज घाँडो भो

++++++++++++++++++

चतुर धनीराम

लम्पसार पर्‍यो, बिचेत भा झैँ गर्‍यो

आँधी थामिएपछि

डोब हराएपछि

बिर्सेकी लोकले ?

मालिक छाना छाउन थाल्यो

टुप्पी पलाएछ क्यारे …….

अब उ

चल्मलाउन थाल्यो

सल्बलाउन थाल्यो

नाडी छाम्यो वरिपरिको

वारि पारीको

कुहिरीमण्डल छ

कस्तो फुङ्ग धूलो उडेको 

+++++++++++++++++++

गुरु दिन्छ अमिन र पदक

ढाल्न थाल्यो

गर्न थाल्यो न्वारन

बाँड्न थाल्यो बक्सिस पदक

सुन्न थाल्यो हजुरी

पढ्न थाल्यो हजुरी

बक्सिसले हो की चस्माले हो

झुण्ड कलम बोकेर आए

उसको गुणगान गाए

घुमिरहेछन् उसलाई ! 

+++++++++++++++++++ 

आज उसको दिन आएको छ

भाले भएको छ

हिजोको इख

आजको बिख ओकल्न लागेको छ

छ्यास छ्यास्ती देखिएको छ धनीराम

आफ्नै पुरानो रंगमा फेरी फर्केको छ धनीराम

औँला उठाउनेलाई दावा धर्न लागेको छ

दिन दुखीलाई दपेट्न लागेको छ

चुच्चोले ठुँग्न लागेको छ

उपहारको करामत हो की !

चुप लागेको छ सत्य बक्ने भनेको कलम

मौन समर्थन ? 

+++++++++++++++++++ 

छेउमै छ की धनीराम

थापेको छौ कि बक्सिस

अन्जानमै गाएको छौ कि भजन ?

उपहार लिएर आउँदै छ कि कोही तिम्रो आँगनमा ?

तपाइँको प्रतिक्रिया