मेरो मौनता
-विद्या सापकोटा
एकफाँट सिङ्गापुरे नर्सरी
हलक्क बढेर
आफ्नै नेपाल छोपिँदै गर्दा
पीडामा चोपलिएर म मौन छु ।।
०००००००००००००००००००००००
देश बोक्ने, लाखौँ काँधहरू
प्रमाणपत्ररुपी मुर्दा बोक्ने
घाटे/मलामी मात्र बनिरहँदा
शोकाकुल भएर म मौन छु ।।
०००००००००००००००००००००००
सिलसिलाबद्ध समाचार
गरिबी घट्दैछ/भोकमरी बढ्दैछ
तारे होटेल र कर्णालीको चेपमा
आफैँलाई ढाँट्न नसकेर म मौन छु ।।
०००००००००००००००००००००००
सहअतिस्व,समानता र स-प्रेमको
सुगन्धी ढडियाभित्र
नाजवाफ फूलहरू छटपटाउँदै गर्दा
विवशताको परिबन्धमा म मौन छु ।।
०००००००००००००००००००००००
चोखिने बहानामा
नदीका किनार पुग्दा-नपुग्दै
एक हूल भ्रूणहरूको उपहास
सहन नसक्दा त्यसैत्यसै म मौन छु ।।
०००००००००००००००००००००००
तिम्रो, मेरो र उसको
बेमेल सबन्धलाइ
टुक्राइहाल्न नसकेर/नचाहेर
सुधारको थोरै अपेक्षामा अझै म मौन छु ।।
०००००००००००००००००००००००
इमानको सीमा नाप्ने
युगबोध छ ममा
चेतन आँगन पनि
आगोको लप्का ओकल्न नपरोस्
प्रसव आग्रहमा,फेरीपनि म मौन छु
खुल्छ भने खुलोस् बिहान, अझैपनि म मौन छु ।।
–हालः शंकरदेव कलेज, काठमाडौं
( सूचना: स्पष्टसित नखुलाईकन कुनै एक भन्दा बढि सञ्चार माध्यमलाई कुनैपनि रचना दिनु लेखकिय मान्यता विरुद्ध हो । अन्यत्र प्रकाशित भएका कुनैपनि रचना नेपालप्लसको लागि आवश्यक र स्वीकार्य छैनन् । त्यसैले अन्यत्र प्रकाशित भएका वा अरू सञ्चार माध्यमलाईसमेत पठाएका कुनैपनि रचना नेपालप्लसलाई नपठाउन अनुरोध छ । त्यसरी पठाएको खण्डमा जानकारी गराउनुहोला । झुक्क्याएर पठाएको जानकारीमा आए त्यसता लेखकहरूका सामाग्री कहिल्यै पनि प्रकाशित गरिने छैन र त्यसता लेखकको विश्वसनीयताबारे अन्य सञ्चार माध्यमलाईसमेत सचेत गराइने छ- नेपालप्लस डट कम) ।





