पन्छी जगत

किताबः पन्छी जगत
लेखकः ददिराम सापकोटा
सम्पादकः विनोद ढुङ्गेल
प्रकाशकः राजेन्द्र अधिकारीर्/बर्ड एजुकेशन सोसाइटी, काठमाडौं, २०६१
पृष्ठः २२८, मूल्यः रु. ३००


चरा र पत्रकार

पत्रकार ददिराम सापकोटा चराको बारेमा रिपोर्टिङ गर्दा गर्दै यति गहिराइसम्म पुगे कि त्यसको परिणाम स्वरूप एउटा कृति जन्मिएको छ- पन्छी जगत् । ददिराम यति बेला मुलुकबाहिर छन् । उनले त्यही बसेर पुस्तक लेखन कार्य पूरा गरेका छन् र केही जिज्ञासुहरूबीच बुधबार पुस्तक र्सार्वजनिक भएको छ । पत्रकार विनोद ढुंगेलले सम्पादन गरेको उक्त पुस्तकमा चराको परिचय, तिनको आनीबानी र मानिस तथा चराको सम्बन्धलाई प्रस्ट्याउने काम गरेको छ ।

संरक्षणविद प्रह्लाद योञ्जनले पुस्तक विमोचन गर्दै एउटा राम्रो थालनी भएकोमा प्रशंसा गरे । यस्ता कृतिहरूको अध्ययन पैसा तिरेर गर्नुपर्ने आग्रह गर्दै उनले भने- हाम्रो समाज र पश्चिमा समाजबीचको फरक के हो भने उनीहरू पैसा तिरेर पढ्छन् हामी सित्तैँ पाए पनि पढ्दैनौं ।
पत्रकार महासंघका सभापति तारानाथ दाहालले चरालाई समाचारमा ल्याउँदाको रोचक प्रसंग उल्लेख गरे भने लुम्बिनी सारस संरक्षक केन्द्रका राजेन्द्र सुवालले चारमाथिको आफ्नो विशेषज्ञतालाई प्रस्तुत गरे ।

-कान्तिपुर दैनिक, बिहीबार, ३ मंसिर, २०६१

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

चरा-निर्देशिका

किताबः पन्छी जगत
लेखकः ददिराम सापकोटा
सम्पादकः विनोद ढुङ्गेल
प्रकाशकः राजेन्द्र अधिकारीर्/बर्ड एजुकेशन सोसाइटी, काठमाडौं, २०६१
पृष्ठः २२८, मूल्यः रु. ३००

चराको आनीबानी र तिनको पर्यावरणीय महत्त्वबारेको लामो अनुसन्धानको निचोड हो, पन्छी जगत । वन्यजन्तु र वातावरणमा रुचि राख्ने पत्रकार ददिराम सापकोटाले पहिल्याएका चरासम्बन्धी तथ्यहरूको यो सँगालोमा चरा र प्रकृतिको पारस्परिक सम्बन्धको रोचक पक्ष भेट्न सकिन्छ । नेपालमा पाइने ८ सय ६१ प्रजातिका चरा, तिनको भाषा र सञ्चार, चराचुरुङ्गीको धार्मिक, सांस्कृतिक तथा कृषिजन्य महत्त्वको लेखकले राम्रो विश्लेषण गरेका छन् ।
विवरणात्मक पुस्तकले धेरै ठाउँमा चरा अवलोकन गर्ने निर्देशिकाको झझल्को दिन्छ कहाँ, कुन समयमा, किन र कसरी हेर्ने जस्ता जानकारीका साथ । नेपालको ‘पेवा चरा’का रूपमा परिचित काँडेभ्याकुरदेखि डाँफे, मुनाल, सल्लेकालिज, सारसजस्ता संरक्षित चराहरूबारेका लोभलाग्दा जानकारीहरूले यसको वजन र महत्त्व बढाएका छन् । चरा-अवलोकन पर्यटनको नयाँ आयाम हुनसक्छ भन्ने लेखकीय निष्कर्षँग असहमत हुने ठाउँ छैन । एउटै पुस्तकभित्र चरासम्बन्धी यावत् जानकारी अटाउने रहर र आतुरताका परिणामहरू प्रशस्तै देखिए पनि पन्छी जगत चराजिज्ञासुहरूका लागि भरपर्दो ‘गाइडबुक’ र सर्न्दर्भग्रन्थ बनेको छ ।

-पेशल

-हिमाल खबर पत्रीका, १६-२९ पुस २०६१

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

चरा महात्म्य

नेपालभन्दा करिब १ सय ३६ गुणा ठूलो अ मेरिकी महादेशमा भन्दापनि बढी प्रजातिका चरा हामीकहाँ पाइन्छन् । नेपालमा ८ सय ६१ प्रजातिका चरा पाइन्छन् भने अ मेरिकी महादेशमा ७ सय ५० थरीका प्रजातिमात्र ।

विश्व मानचित्रमा शुन्य दशमलव तीन प्रतिशतमात्र क्षेत्रफल ओगटेको नेपालमा विश्वमा पाईनेमध्ये ८ प्रतिशत प्रजातिका चरा पाइन्छन् । चरा अध्ययनको ईतिहासपनि छोटो छैन नेपालमा । २ सय ११ वर्ष भयो,नेपालमा चरा बारेमा वैज्ञानिक अध्ययन भएको ।पहिलो पटक सन् १९९३ मा कर्णेल जे कर्क प्याट्रिकले नेपाली चराका बारेमा केहि तथ्य विश्वसामु ल्याएका थिए । त्यसपछि २३ वर्ष नेपालमा बसेका बेलायती दूत बाईट हड्सन सन् १८२० देखि १८४३ सम्ममा ९ हजार ५ सय वटा चराका नमुना सङ्कलन गरेर आफ्नो देश पठाए ।

तर, अफसोच, चरा अध्ययनको यति लामो ईतिहास बोकेको र यति धेरै प्रजातिका चरा पाइएपनि चराका बारेमा लेखिएका किताब नेपालीमा पाइँदैनन् । अंग्रेजीमा लेखिएका बर्ड वाचिङ्ग (चरा अवलोकन) का केहि किताब ठमेलतिर पाइएलान् तर, नेपाली भाषामा चरासम्बन्धी किताब भने पाउन साँच्नै नै मुस्किल छ । कारण स्पष्ठ छ, चराका बारेमा नेपाली किताबनै लेखिएका छैनन् । किन लेखिदैनन् त नेपालीमा किताब ? उत्तर स्पष्ठ छ, लगानी धेरै आम्दानी कम । चराका विषयमा किताब लेख्न धेरै मेहनत गर्नुपर्छ, किताब छाप्नमात्र होइन, डिजाईनिङमा समेत निकै आर्थिक लगानी गर्नुपर्छ, तर किताब किनेर चरा अवलोकन गर्ने संस्क्रितिको विकास नेपालमा भएको छैन । यसको अर्थ चराका बारेमा राम्रो किताब लेख्नु, नाम कमाउनु त हो, तर आम्दानीका हिसाबले यो बालुवामा पानी हाल्नुसरह मात्रै ।

ददिराम सापकोटा र उनको टोलीले यो कुरा नबुझेका होइनन्, तैपनि दुस्साहस गरेका छन् उनीहरुले, ‘पन्छी जगत’ नामक ए उटा उत्क्रिष्ठ पुस्तक प्रकाशन गरेर ।ददिराम, कुनैबेला नेपाली पत्रकारितामा कार्यरत थिए, वातावरण र चरामा बढी नै रुचि राख्थे तर कम पारिश्रमिक, बढी मेहनत अनि आफ्नो विषयभन्दा बढी अन्य विषयमा समाचार लेख्नुपर्नेजस्ता अनेकन बाध्यताले ददिराम पत्रकारितामा टिकेनन्, बिदेशिन बाध्य भए । तैपनि नेपाल बिर्सन सकेनन् उनले नत बिर्सिन सके आफ्ना वरिपरि देखेका चराहरुलाई । चराप्रतिको उनको समर्पणले नै यो पुस्तक निक्लेको छ ।

यो पुस्तकमा ददिरामले गरेका सबैभन्दा राम्रो काम नेपालमा उपलब्ध चराहरुको अंग्रेजी, वैज्ञानिक र नेपाली नामका साथै स्थानिय नामसमेत दिनु हो । यसले नेपालमा चराका बारेमा अध्ययन गर्न चाहिनेदेखि लिएर चरा विशेषज्ञ र वैज्ञानिकहरुलाई समेत सहयोग पुग्ने छ । पुस्तकमा नेपालमा चराका विषयमा कार्यरत संस्थाहरुको परिचय र ठेगानासमेत दिइएको छ ।
नेपाली र नेपाली भाषाका अन्य कविहरुले चराका बारेमा आफ्ना कुरा र मिथकहरु नराखेका होइनन् तर ददिरामको यो पुस्तक वास्तवमा नेपाली भाषामा निक्लेको एक मात्र चरा महात्म्य हो । यो चरा महात्म्यभित्र चराको परिचयभित्र उनले चराको हरेक अङ्गको परिचय त दिएका छन् नै, विश्वमा चराको विकासक्रमलाई समेत समेटेका छन् उनले । यसबाहेक नेपालमा चरा अध्याय अन्तर्गत तराई, पहाड र हिमालका क्षेत्रगत वर्णनसँगै झाडी र जङ्गल, सिमसार, गाउँवस्ती लगायतका ठाउँको वर्णन र तिनमा पाइने चराको व्याख्यासमेत गरेका छन् ।

ददिरामले चराको अवलोकन गर्न चाहने तर, नेपाली भाषामात्र बुझ्नेहरुको लागि पनि सजिलो पारिदिएका छन् आफ्नो पुस्तकमार्फत । किनकि, उनले चराको अवलोकन कसरि गर्ने कुरा मात्र लेखेका छैनन्, अवलोकनपछि त्यसको टिपोट कसरि बनाउने, अवलोकनकालागि कस्तो यन्त्र प्रयोग गर्ने,चरा गणना, अ वलोकनकर्ताका पहिरनसम्मका कुराहरुलाई बिस्तारमा वर्णन गरेका छन् । यति मात्र होइन, ददिरामले नेपालमा चरा अवलोकन गर्न सकिने क्षेत्रहरुका बारेमा समेत बिस्तारमा वर्णन गरेका छन् आफ्नो पुस्तकमा ।

सानातिना गल्तिहरु र केहि कमिकमजोरी रहँदा रहँदै पनि उनको यो पुस्तकलाई यहाँ चरा महात्म्य भन्नुपछाडि थुप्रै कारण छन्, यो पुस्तकले नेपाली धर्म संस्क्रितिमा चरा संबन्धि मिथक र महत्वका साथै चरा जोगाउनु पछाडिका अर्थिक, सामाजिक र वातावरणिय कारणसमेत समेटेका छन् उनले । यतिमात्रै कहाँ हो र, उनले नेपालमा चरा खतरामा पर्नुका कारणदेखि लिएर नेपालमा चरा अवलोकनको ईतिहास, चराको व्यापार, चरा संरक्षणसंबन्धि कानुन, तिनका कमजोरी पनि केलाएका छन् । अनि चराको यात्राको रोमाञ्चक वर्णन पनि छ किताबमा । त्यसमाथि यो पुस्तकमा समेटिएका हीरालाल डंगोलका रङ्गीन र मिसेल बोरी श्यामश्वेत चित्र र अन्य तस्बिरहरु थप आकर्षण हुन् ।

समग्रमा भन्नुपर्दा २ सय ४२ प्रिष्ठको यो पुस्तकले यति धेरै कुरा अटाउन सकेकोमा विश्वास गर्न गाह्रै पर्छ, तर अटाएका छन् सबैकुरा र सबैकुरा अल्छी नलाग्ने हिसाबले पस्किएका छन्। त्यसैले त नेपालका नामुद चराविद हरिशरण नेपालीले यो यो पुस्तकको भूमिकामा भनेका छन्, ‘यो पुस्तकलाई मैले दोस्रो पुस्ताको महत्वपूर्ण उपलब्धिका रुपमा लिएको छु।’

-राजेश घिमिरे

समय मङ्सिर २४, २०६१

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

चराको संसार समेटिएको पुस्तक

काठमाडौं, (नेस)
चराहरुका बारेमा जान्न चाहनेहरुका लागि ‘पन्छी जगत’ नामक नयाँ पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा चराका प्रजाति र तिनका विशेषता, चराको उत्पत्ति र विकासक्रम, चराको भाषा, सञ्चार, गीत, नेपालमा पाइने चरा, वासस्थान, नाम र वर्गीकरण, मान्छेसँगको सम्बन्ध, बसाइँसराईको रहस्यजस्ता कुरा समेटिएका छन् । हाल फ्रान्समा रहेका पत्रकार ददिराम सापकोटाले चराबारेमा अध्ययन गरी लेख्नुभएको सो पुस्तकको जैविक विविधताविज्ञ डा प्रल्हाद योञ्जनले बुधबार विमोचन गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघको हलमा आयोजित सो कार्यक्रममा डा योञ्जनले चराबारेमा प्राप्त गहन जानकारीलाई किताबको रुपमा प्रस्तुत गरेर नेपाली पाठकका लागि जानकारी दिने प्रयास गरेकोमा लेखकप्रति धन्यावाद दिनुभयो। ‘विदेशी सहयोग नपाई यस्ता पुस्तक प्रकाशित नभईरहेको वर्तमान परिप्रेक्ष्यमा अध्ययनमा लागेका युवाहरुको आफ्नै प्रयासले प्रकाशित भएको पुस्तक यो पहिलो हुनसक्छ’-उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सभापति तारानाथ दाहालले नेपालमा लेखन-संस्क्रितिको विकास हुन नसकिरहेका बेला पत्रकारहरुले समाचार लेखनका क्रममा भेटेका तथ्यलाई अझ बढि खोजी गरी पुस्तकको रुप दिनु यो आफैंमा एउटा उदाहरण भएको बताउनुभयो । पत्रकार विनोद ढुंगेल सम्पादक रहेको सो पुस्तकका प्रकाशक बर्ड एजुकेशन सोसाईटी चितवन र राजेन्द्र अधिकारी रहेका छन् । कार्यक्रममा चराविद् राजेन्द्र सुवालले पुस्तकको समीक्षा गर्नु भएको थियो ।
-नेपाल समाचारपत्र, बिहीबार, ३ मंसिर, २०६१

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

चराको जिन्दगानी


राजधानी समाचारदाता
काठमाडौं, २ मंसिर

-चराको दाँत तपाईले देख्नु भएको छ ?

-मंगोलियाबाट तिब्बत र नेपाल हुँदै दक्षिणतिर हान्निएका सारसहरु कहाँ पुगेर अडिन्छन् ? बाटामा बास पनि बस्छन् कि ?

-ट्वीनेटर विमानको गतिमा आकासमा हुइँकिएको चीलले एक किलोमिटर तलको दुलाबाट छुचुन्द्रोले टाउको बाहिर निकाले सजिलै देख्छ भन्ने तपाईलाई थाह छ ?

-एकैचोटी चारैतिर आँखाका गेडी नचाउने चराबाट मानिसले के सिके र के सिक्ने बाँकी छ ?

यस्ता थुप्रै रमाईला प्रश्नहरुको जवाफ पाउन अब कुनै गाह्रो छैन । पहिला यस्ता थुप्रै चरासंबन्धी रोचक जानकारीकोलागि नेपालीले बिदेशीको मुख ताक्नुपर्थ्यो, अंग्रेजीमा पसिना काढ्नुपर्थ्यो तर अव ददिराम सापकोटाले यस्ता सयौं प्रश्नहरुको जवाफ नेपालीमै दिएका छन्।

हो, यिनी नेपाली पत्रकारितामा परिचित हस्ताक्षर ददिराम सापकोटा नै हुन् । वातावरण पत्रकारितामा विशेष रुचि राख्ने र त्यसैमा कलम चलाउने सापकोटा प्रवासमा बसेर आफ्नो क्षमता र लगनमा कसी घोटिरहेका छन् । ददि पेरिसमा बसेर किताब लेख्ने र उनका सहयोगीहरु काठमाडौंमा प्रकाशन गर्ने, यो संयोग पनि चरासम्बन्धी कुनै रोचक तथ्यभन्दा कम रमाईलो लाग्दैन ।

राजधानीमा बुधवार सम्पन्न किताब विमोचन कार्यक्रमका वक्ताहरुले पनि यस पुस्तकको रोचकता र उपयोगिताका बारेमा धक फुकाएरै प्रशंसागरे । पन्छी जगतका सम्पादक विनोद ढुंगेलले कितावभित्रका दर्जनौं रोचक प्रसंगहरु सुनाएर उपस्थित सहभागिहरुलाई कतिखेर किताब पाउँला र पढौंला बनाए भने वातावरणविद डा प्रल्हाद योञ्जनले चराको संरक्षणकालागि वातावरण जोगाउनु कति आवश्यक छ भन्ने तथ्य प्रस्तुत गरे । अर्का चराविद राजेन्द्र सुवालले त किताबको केस्रा केस्रा केलाएर तराजुमा जोख्ने काम गरेर पाठकको रुचि बढाए । समारोहमा चराप्रेमी पत्रकार तारानाथ दाहालले पनि नेपालमा पाइने चरा, तिनको अवस्था, स्वभाव र जिवनचक्रका बारेमा कलम चलाउन नपुगेको बिचार राखेका थिए । पत्रकार महासंघका सभापतीसमेत रहेका दाहालका शब्दहरु थिए-‘पत्रकारले सानो समाचार खोज्यो,छाप्यो र आफ्नो काम सकियो भन्ने ठान्यो भने यस्ता किताब प्रकाशित हुँदैनन् । ददिराम सापकोटाजीले जस्तै आफ्नो विषयमा किताब लेख्ने हदसम्मको गहिरो अध्ययन हुनु र किताबपनि लेख्नु आवश्यक छ।’

नेपाल चराचुरुङ्गीकालागि निकै धनी मुलुक मानिन्छ तर यसका बारेमा आम नागरिकलाई चासो जगाउन पत्रकार, लेखकहरु नै अघि सर्नु अनिवार्य छ भन्ने तथ्यलाईपनि सहभागिहरुले महसुस गरेका छन् । चराका ज्ञाता स्वर्गिय पत्रकार श्रीविक्रम राणाले प्रारम्भ गरेको पत्रकारितामा चराको अध्याय युवा पत्रकार सापकोटाबाट सबल बनाइएको विश्लेषण पनि सहभागीहरुको थियो । कार्यक्रममा काजीदाई अर्थात हरिशरण नेपाली, गोविन्दबहादुर गुरुङलगायतका चरा विशेषज्ञको नाम पनि वारम्वार लिईयो र यस क्षेत्रमा उनीहरुको योगदान सधैं शिखरमा रहने विश्लेषण सहभागीहरुले गरे ।

यससम्बन्धी योगदानको भण्डारमा सापकोटाले नेपालीमा २२८ प्रिष्ठको किताब लेखेर जुन पसिना बगाए, त्यसमा भने उनी आदिपुरुष नै भएका छन् । ३६ वर्षको कलिलो उमेरमै उनले जुन मेहनत गरेका छन्, त्यसले भविष्यमा उनीबाट अझ बढी र निरन्तर योगदानको अपेक्षा गर्न सकिन्छ । निरन्तरताको संकेत देखिई पनि सकेको छ, किनभने पेरिसमापनि सापकोटा वातावरण र चराचुरुङ्गीकै संसारमा डुबिरहेका छन् भने आगामी दिनमा यस विधामा अझ खारिएका ग्रन्थहरु प्रकाशित नहोलान् भन्न सकिन्न । र, नेपाली चराप्रेमीहरुको भावनाको सम्मानकालागि पनि उनले यस कार्यलाई निरन्तरता दिनै पर्छ ।

अन्त्यमा, तीन सय रुपैयाँको यस किताबले पाएको जयराम सुवेदीको आकर्षक ग्राफिक डिजाईन हेर्दै प्रकाशकीयमा राजेन्द्र अधिकारी र ओमबहादुर रिजालको भनाईमा सहमति जनाउँ । उहाँहरु लेख्नुहुन्छ-‘पुस्तकबाट पाठकहरुले चरा र तिनीहरुका विविध महत्वबारे थाह पाउनुहुनेछ । चरा अवलोकन गर्ने तरिका, तिनीहरुको भाषा र गीत, चरा अवलोकनका द्रिष्टीले नेपालका महत्वपूर्ण भू-भाग (संरक्षित क्षेत्र, सिमसार, घाँसेफाँट, हिमाली तथा पहाडी र तराई क्षेत्र), चराहरुको धार्मिक, सांस्क्रितिक तथा क्रिषिजन्य महत्वजस्ता विषयहरु पनि यसमा समेटिएका छन् । यसका साथै सञ्चारका साधनको रुपमा तिनीहरुको प्रयोग, नेपालको संरक्षित सूचीमा रहेका चराहरु र नेपालको अहिलेसम्मको पेवा चरा काँडेभ्याकुरबारेको वर्तमान अवस्था, चरासम्बन्धी कानुनी व्यवस्था र चरा अवलोकनको नेपाली इतिहास पनि यस पुस्तकमा उल्लेख गरिएको छ ।
यसैगरि, पुस्तकमा चरा अवलोकनका क्रममा सबैभन्दा रोचक लाग्ने तिनीहरुको वसाइँसराइको पक्ष समेटिएको छ ।

राजधानी दैनिक, बिहीबार, ३ मंसिर, २०६१

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

‘पन्छी जगत’ विमोचित

पत्रकार ददिराम सापकोटाद्वारा लिखित ‘पन्छी जगत’ पुस्तक वातावरणविद डा प्रल्हाद योञ्जनले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा विमोचन गर्नु भएको छ । लेखक सापकोटा फ्रान्सको राजधानी पेरिसमा रहेको वातावरण संबन्धि संस्था ‘सेन्टर डी इन्फरमेसन सर एल ईन्भाईरोमेन्ट’ सँग संबन्धित हुनुहुन्छ ।

पुस्तकमा चराहरुको धार्मिक, सांस्क्रितिक तथा क्रिषिजन्य महत्वजस्ता विषय समेटिएको छ । योञ्जनले अन्य पत्रकारलाईपनि यस्तै खालका विविध विषय समेटेर पुस्तक प्रकाशित गर्न सल्लाह दिनुभयो । नेपाल पत्रकार महासंघका सभापति तारानाथ दाहालले चराहरुको दुनियाँमा प्रवेश गराउने खालको यो पुस्तकले जोसुकैलाई पनि भरपुर आनन्द दिन सक्ने बताउनुभयो । राजेन्द्र अधिकारी द्वारा प्रकाशित उक्त पुस्तक विनोद ढुंगेलद्वारा सम्पादन गरिएको छ ।

-अन्नपूर्ण दैनिक, बिहीबार, ३ मंसिर, २०६१

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

BOOK OF THE WEEK

Title : Bird’s World
Author : Dadiram Sapkota
Edited by : Binod Dhungel

Publisher : Rajendra Adhikari, Bird Education Society

Price : Ra. 300
Cover Design : Basu Kshitij

Art : Michael Bori, France and Hiralal Dangol, NEPAL

The author is basically a journalist possessing a special inclination towards the world of the birds.The author in this book has highlighted the inter-relation in between the world of the birds and the environment.

The book is perhaps a first venture of its own kind written and published by Nepali citizens. The author is currently based in PARIS and is associated with Centre D’information sur L’environnement, France.

The book hopefully will arouse interest even among the laymen. Worth reading ! Kudos to the writer and the publisher-Editor

The Telegraph Weekly, Wednesday 01, December 2004