के हुन्थ्यो सहमति ? कुकुर बिरालाझैं बाझेर निस्केछन् नेता
हात्तीवन वार्ता सकेर निस्किँदा त नेताले भनेका थिए- हाम्रा कुरा मिल्नैलागेका छन् । सबै कुरा बतायो भने चलखेल हुन्छ । विदेशीले थाह पाउँछन् । अनि पत्रपत्रिकाले लेखिदिए भने भाँड्छन् । अस्ति एकदम सकारात्मक भएको र अबको वार्ताले सबै टुंग्याउने भनेका नेता आज सिंहदरबारमा बसे वार्तामा । तर के मिल्थे हाम्रा नेता । सहमति त के हुन्थ्यो बरु कुकुर बिराला झैँ बाझेर पो अन्त्य गरेछन् बैठक ।
काठमाडौंबाट विनोद के.सीले त्यस्तै जानकारी दिए । उनका अनुसार सहमति हुन्छ भनेपनि नेताहरूलाई पहिल्यै थाह थियो रे आज सहमति हुन्न भनेर । कारण रहेछ- कांग्रेसलाई जसरीपनि सत्ता छोड्न मन नभएको । माओवादीलाई जसरीपनि चाहिएको । अनि वार्तामा बस्नासाथ कुरो निक्लिएछ- माओवादीले राज्यको तलव खुवाएर लडाकूलाई विस्तारित बैठकमा लैजाने ? त्यो राज्यको मातहतमा आइसकेका लडाकू हुन् भने माओवादीको बिस्तारिक बैठकमा तिनलाई किन लाने ? लडाकू राज्यको मातहतमा राख्ने भनेर तलव खुवाउने राज्यबाट अनि आफ्नो पार्टीको बिस्तारित बैठकमा परेड खेलाउँदै लाने ?
तिनलाई कारवाही गर्नुपर्छ भन्ने माग पनि उठेछ । माओवादीले लडाकूलाई राज्य अन्तर्गत राख्न खोजेको होइन । खाली देखाउन, ढाकछोप गर्न खोजेको भनेर कांग्रेस र एमालेले आरोप लगाएछन् । माओवादी अध्यक्ष प्रचण्डले चाहिँ ‘यस अघिसम्म जाने गरेका लडाकूलाई अहिले नलाने हो भने षडयन्त्र गरेको भनेर झन् बिच्किन्छन् लडाकूहरू’ त्यसैले, लानुपर्छ भनेर थामथुम पार्न खोजेछन् अरू पार्टीका नेतालाई । बरु त्यहाँ लगेर लडाकू समायोजनका बारेमा संझाउनुपर्छ भन्ने तर्क गरेछन् । तर अरू दलका नेताले के पत्याउँथे ?
अनि सत्ता साझेदारीको कुरो निस्कन नपाउँदै लडाकूका बारेमा आपत्ति जनाउन थालेछन् एमाले र कांग्रेस नेताले । त्यो सत्ता साझेदारीका बारेमा त कुरै निस्किएन रे आज के को समझदारी बन्थ्यो ? लडाकूले किन माओवादीको बैठकमा भग लिए त भन्ने विषयमै कुकुर बिराला जसरी झगडा गरेर निस्केछन् नेताहरू ।




