हातीवन वार्ता: नेतालाई मस्ति, उपलब्धि शून्य

विनोद के.सी / काठमाडौं

नेताहरू सधैँ गोप्य वार्ता भन्छन् केही निर्णय गर्नु पर्‍यो, अप्ठेरोमा पर्‍यो भने । मिडियाले खबर पायो भने देशी विदेशी भँडुवाले बिच्काउँछन्  । पार्टीकै भँडुवाहरुलेपनि बिच्काउँछन् । विदेशीका कानमा पुर्‍याउँछन् भनेर होला । देशको लागि बन्धक हुनबाट जोगाउन, देश र जनताको लागि असल मनसायले यसो गर्नु नजायज होइन । तर नेताहरूले कति गोप्य राख्छन् त यस्ता वार्ता ? हिजो गर्ने भनिएको गोप्य वार्तापनि कति राखे त गोप्य ? गोप्य भनिएको वार्ता किन छताछुल्ल भयो ? कसरी भयो ? कसले छताछुल्ल बनायो ?

नेताहरूले लौ अब निर्णायक वार्ता गरेर समझदारी गर्नैपर्छ भन्न थालेको केही दिन भइसकेको थियो । त्यत्तिकैमा अस्ति साँझै लौ नेताहरूले गोप्य वार्ता गर्दैछन् रे भन्ने हल्ला राजधानीमा चलिसकेको थियो । भोलि पल्ट अति गोप्य वार्ता गर्ने भनिएको छ । तर हल्ला भने अघिल्लो दिनै चलिसकेको छ । हल्ला चलेपछि कहाँ कसरी, को को सहभागी भएर वार्ता केमा विषयमा गर्ने होलान् भन्ने भयो । विषय त लगभग अड्कल काट्ने भए सबैले । मिडियाका साथीहरूमा गाइँगुइँ रामै चल्यो । स्रोतहरूको खोजी गर्न लागियो । वार्ता हुने कुरा त पक्का जस्तै भयो । तर ठाउँ भने ग्रिहले वार्ताकै दिने तोक्ने भनेकाले जानकारी नेताहरुलाईपनि रहेनछ । उच्च तहका नेताको अति गोप्य भनिएको वार्ताबारे जानकारी भने जिल्ला तहका नेतासम्मलाई रहेछ । लाग्यो- यिनले गोप्य भनेको त उही नेपाली मिडियालाई मात्रै रहेछ । अरू त सबैले थाह पाइसकेका रहेछन् ।

बिहानै देखि वार्ता कहाँ होला भनेर टाउको रन्कियो । सोध खोज गर्न थालियो । मिडियाका सहयोगी साथीहरूसित आदानप्रदान गरियो सूचना । अनि साथीहरू लागियो नेताका गौँडा कुर्न । काठमाडौंबाट बाहिर निस्कने मुख्य मार्गमा निगरानी गर्ने निधो गरियो ।  मिडियाका सबै साथीहरूमा ‘अर्कोले सूचना ल्यायो र आफूले ल्याउन सकिएन भने के होला ?’ भन्ने धुकचुक थियो । निर्क्योल कसैलाई थिएन । तर हाम्रा नेताका चर्तिकला न हुन् कतिन्जेल गोप्य राख्न सक्थे ? ती वार्तामा जानु अघिनै थाह भैहाल्यो ।

नेताहरू वार्तामा जानु अघिनै हात्तीवन रिसोर्टमा वार्ता हुने सार्वजनिक भयो । साथीहरू कोही लागे सिधै वार्तामा । तर त्यहाँ कडा पारिएको रहेछ सुरक्षा । होटेलमा जान सकिएन । दिएनन् । तर होटेलमा सम्पर्क गर्दा अस्वीकार गरेपनि हो भन्ने उनीहरूको बोलीबाट मेसो पाइयो । नेताहरू कडा सुरक्षाबाट निस्किए बसमा । पत्रकारहरूको धुइरो चल्यो । गोप्य अति गोप्य भनिएको वार्ता त पत्रकारको पुरै लहर अगाडि पर्‍यो । तर हात्तीवन रिसोर्ट पुग्नु अघि निकै अघिनै रोकियो । कसैलाईपनि जान दिइएन । के भयो होला भन्ने खुलदुली भैराख्यो । नेताहरू बसे झण्डै १९, २० घण्टा ।

नेताहरू निस्किएपछि थाह भयो । जनतालाई संविधान चाहिएको छ । नेपाली जनताले सत्ता कसले चलाउँछ भन्ने चासो नदिएपनि त्यहाँ सत्ताकै निम्ति चर्काचर्की भएछ । कांग्रेसले सेना समायोजन लगायत अनेक अनेक शर्त राखेछ सत्ता छोड्नको लागि । माओवादीले सत्ता गठन प्रमुख हो भनेछ । सत्ताको छिनोफानो भएपछि संविधान बनाउने कि संविधान बनाउने निश्चित भएपछि सत्ता छोड्ने भनेर गलफत्ती परेछ । बुझियो-यी तिनवटै दललाई संविधान भन्दा सत्ता प्यारो रहेछ । संविधान बनाएर लामो समयसम्म स्थिर सरकार चलाउने धैर्यता भन्दा दुई चार महिना भएपनि सरकारमा बसेर मोज गरिहालौं ।

काठमाडौंमा स्टाफ कलेज, बैंक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, निजी स्कूल, क्याम्पस, पार्टीका कार्यालय लगायत धेरै ठाउँ थिए वार्ता गर्ने । ती निःशुल्क पाइन्थे । पाइएकै थिए यस अघिपनि । त्यत्रो महँगो होटेलमै जानुको औचित्य थियो के ? किन खर्च गरियो यस्तो गरिब मुलुकको त्यत्रो पैसा ? गोप्यताकै लागि गएका हुन् भने कहाँ गोप्य भयो त ? के गोप्य राख्न सके त नेताले ? वार्तामा के के भयो ? कति खाए ? कसले के भन्यो ? सबै सार्वजनिक भयो । नेताहरूले त्यहाँ कुखुराका तारेका सपेटा देखि आधुनिक सुविधा सबै लिएछन् । जनतालाई एक लोटा सुद्द पानी खुवाउन नसक्ने नेताले मिनरल वाटर र आधुनिक पेयको छानी छानी बिस्कुन लगाएछन् । खाउन कि नखाउन् होटेललाई गरिब देशको रकम बिल तिरेछन् ।

कति जिम्मेवार रहेछन् त हाम्रा नेता ? देश प्रति । जनता प्रति । उनीहरू जिम्मेवार भएको भए के काठमाडौंको कुनै निःशुल्क पाइने ठाउँमा गर्थेनन् त वार्ता ? जिम्मेवार नेताहरू भएको भए, एक अर्कामा विश्वास भएको भए के गोप्य भनिएको वार्ता छताछुल्ल पार्थे होला त ? तिनले होटेलमा मस्ती गरे तर उपलब्धि के भयो त ? शून्य । न सेना समायोजनमा कुरा मिल्यो । न सरकार गठनमा सहमति भयो । न संविधान कहिले सम्म बनाउने भनेर मिलोमतो गरे । उपलब्धि उनि-अलिकति भएपनि गरिब देशको सम्पत्ति लगेर महँगो होटेलमा स्वाहा पारे ।

(केसी रेडियो पत्रकार हुन्)

तपाइँको प्रतिक्रिया