माननीय मन्त्रीका अमान्य शैली
-युवराज गुरुङ / बेल्जियम
राजनीतिक दलहरूको खिचातानी र अदूरदृष्टिका कारण मुलुक अस्तव्यस्त रहेको यथार्थ जग जाहेर हुँदाहुँदैपनि सरकारका उच्च तहका व्यक्तित्वहरू प्रवासमा आई पुग्दा समय अनुकूल भए सम्म तिनका कुरा सुन्न र केही जिज्ञासा मेटाउन तलतल लागी हाल्छ र सहभागीपनि भैहाल्छु । आफू कुनै राजनीतिक दल र धर्म विशेषको प्रभावबाट सकेसम्म तटस्थ हुने प्रयत्न गरेपनि त्यस विषयका सार्वजनिक बहसमा सामेल हुन आफ्नो कर्तव्य ठान्छु । यसै क्रममा माननीय मन्त्रि डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा बेल्जियममा सम्पन्न हुन गैरहेको एक अन्तक्रियात्मक कार्यक्रममा सहभागी हुने अवसर मिल्यो ।
आयोजकले वर्तमान राजनीतिक गतिरोध, संविधान निर्माण प्रक्रिया लगायत दोहोरो नागरिकता जस्ता आम सरोकारका विषयमा अन्तरक्रिया हुने भनि आह्वान सहित निम्तो दिएका थिए । दूतावास, एनआरएन लगायतका बेल्जियमका अधिकांश संघ संस्थाको सहभागिता रहेको कार्यक्रममा मन्त्रीज्यूले आफ्ना संवोधन सके पछि आयोजकले प्रश्न तथा जिज्ञासाका लागि सहभागीतिर ईशारा गरे । उक्त क्षणलाई अवसरका रूपमा लिदै मा. मन्त्रीज्यूसित मैले तिन वटा जिज्ञासा राखेँ । ति जिज्ञासाहरू र मन्त्रीज्यूको उत्तर सकेसम्म जस्ताको तस्तै यहाँ राख्ने प्रयत्न गर्दैछु ।
पहिलो जिज्ञासा
अल्पविकसित देशहरूको सम्मेलन जेनेभामा सकाएर बेल्जियम, स्पेन लगायत आर्थिक भौतिक रूपले सम्पन्न मुलुकको भ्रमणमा आउनु भएको तपाई एक गरिबी र अभावले ग्रस्त नेपालको मन्त्रि, नेपाल फर्किँदा तुरुन्तै लागू गर्न सकिने के चीज या योजना लिएर जाँदै हुनुहुन्छ ? ता कि यस पछिका बेल्जियम आउने नेताहरूले पनि तपाइको सिको गरुन् । यस भ्रमणको उपलब्धिले तपाइको अर्को पटकको बेल्जियम भ्रमण अरू स्वागत योग्य रहोस्….
….बोल्दा बोल्दै.. विचैमा मन्त्रीज्यूको उत्तर थियो .. “म बेल्जियम तपाईलाई भेट्न आएको, तपाइसँग भेट भैहाल्यो यही हो उपलब्धि” भन्दै अस्वाभाविक रूपमा उत्तर दिनु भयो र म तिर रिसाएको भाव फ्याँक्नु भयो । मैले राखेको जिज्ञासालाई अझ प्रस्ट पार्न प्रयत्न गर्दै थिएँ झन् त्यही उत्तर दोहोर्याउँदै झर्किनु भयो । म अलि विचलित भएँ । कतै मैले नितान्त वैयक्तिक र अमिल्दा कुरा पो राखेँ कि ? तुरुन्तै सम्हालिए र दोस्रो जिज्ञासा राख्न शुरु गरें ।
दोस्रो जिज्ञासा
कार्यकारी अंगका प्रमुख मन्त्रीका नाताले पहिलो जिज्ञासा राखे, अव सभासदको नाताले दोस्रो जिज्ञासा राख्ने अनुमति चाहन्छु । … तपाइको भर्खरैको संवोधनमा थप गरिएको समयमा पनि संविधान लेखन सम्पन्न नहुने आशंका बलियो रूपमा उठाउनु भयो । यो सामूहिक उत्तरदायित्वको सवाल भए पनि एक बौद्धिक नेताको हैसियतले समयमै संविधान नलेखिएमा त्यसको प्रायश्चित कसरी गर्नु हुन्छ ?
….बोल्दा बोल्दै.. मन्त्रीजीको उत्तर थियो ..”मैले किन प्रायश्चित्त गर्ने ? संविधान मेरो कारणले नलेखिने हो र ? बरु तपाई नेपाल आउनु होस् र तपाईले गर्नुहोस् ती कामहरु” …। मेरो जिज्ञासालाई नजिक बस्नेहरुले सहज ढंगले लिइदिन मन्त्रीज्यूलाई आग्रह गर्दै थिएँ तर झन् वहाँ म तिर हेरेर झोंकिनु भयो । तै पनि मैले भन्दै थिएँ, मत पलायन भइसकेको व्यक्ति, यद्यपि एनआरएनको अभियान लिएर मातृभूमी फर्कने प्रयत्नमा छु । वहाँले त त्यो हप्काई मार्फत नै मेरो उत्तर दिइ सकेका रहेछन् ।
तेस्रो जिज्ञासा
मन्त्रीज्यूको संबोधनमा धर्म सापेक्ष, धर्म निरपेक्ष तथा संस्कृतिका कुराहरूले समय लियो र लिने नै पनि भयो एक विभागीय मन्त्रीको नाताले । बेल्जियममा पनि धार्मिक सांस्कृतिक र जातीय विषयहरूले चर्चा पाईरहने र ती विषयहरूमा सहिष्णुताको यदाकदा अभाव देखिनाले नेपाली समुदायमा भावनात्मक सन्तुलन खलबलिन नदिन सहायकको रूपमा अन्तिम जिज्ञासा राख्ने अनुमति मागे ।
…मन्त्रीज्यू ! राज्यको कुनै धर्म हुँदैन भन्ने तपाईको भनाइमा पूर्ण सहमत हुँदै अहिले मुलुक धर्म निरपेक्ष भइसकेको अवस्थामा सरकारको निकाय दूतावासले हिन्दूहरूको महान् चाड दशैंलाई औपचारिक रूपमा मनाइनुको कारण के हुन सक्छ होला ? वाफ रे मन्त्रीज्यू त आक्रोशमै आएर ” दशैं तपाईले मनाउने नमनाउने, दशैंमा जाने नजाने तपाइको कुरा हो .. आदि इत्यादि.”. म त अक्क न वाक्क भएँ । सम्हालिदैं विनम्र अनुरोध गरेँ, म पनि सामाजिक दृष्टिकोणबाट दशैं मनाउँछु र मनाइरहेको छु, कोही धार्मिक त कोही सांस्कृतिक दृष्टिकोणले मनाउलान् । मेरो आशय दूतावासका पदाधिकारीहरूको तलव भत्ताले स्वविवेकमा आफ्ना चाड मनाएको हो कि ?
सरकारको निर्देशनमा चाडबाड मनाउने छुट्टै कोषको व्यवस्था गरेको छ भनी स्पष्ट पारी दिन पुन: आग्रह गरेँ । तर म त्यस क्षणसम्ममा मन्त्रीज्यूको नजरमा एक विरोधी पात्र दरिईसकेको रहेछु । जिज्ञासा मेटिने आशा त मर्यो नै,, हलको पछाडिबाट अरू प्रश्नहरू मन्त्रीमाथि खनिन थाल्यो ।
म तुरुन्तै सम्हालिएँ । वातावरणलाई उत्तेजित बनाउन मन्त्रि आफै कस्सिएको महसुस गरेँ, तर कारण ठम्याउन सकिन । स्थिति असहज बन्यो । सिङ्गो नेपाली समुदायलाई संस्कृति र सभ्यता सिकाउने जिम्मा लिएका संस्कृति मन्त्रीलाई १८ घण्टा काम गरेर आएका मजदुर मित्रहरूले तपाइको शैली सुधार्नु होस, प्रश्न सुनेर सभ्य शैलीमा उत्तर दिनोस भन्दा उनका अनुयायीहरूले समेत लज्जाबोध महसुस गरेको देखिन्थ्यो । आयोजकले जुक्ति लगाएकाले अरू सन्तुष्टिहरू पोखिनबाट जोगियो ।
म त्यहाँ कुनै सेलीब्रेटी हेर्न गएको थिइन । त्यसैले तिनको हाउ भाउ र चेहरा देख्ने चाहना पनि थिएन । न त उनी कुनै दल विशेषको नेता भएकै कारण म अर्ति उपदेश सुन्न त्यहाँ पुगेको थिएँ । एक बौद्धिक ठूलो जिम्मेवारी बोकेका माननीय मन्त्रि सामने संकटपूर्ण दलदलबाट मुलुकले पाउने मुक्ति अनि डायस्पोराका एनआरएनका भूमिका के हुन सक्लान् भन्ने विषयमा सारगर्भित मन्तव्यको जिज्ञासा मेटाउन गएको थिएँ ।
संवोधनमा भन्दै त हुनुहुन्थ्यो “मलाई भोट दिएर जिताउनेले मात्र गाली दिने अधिकार छ” । मैले त्यसलाई यसरी बुझेको थिएँ, भोट उनका क्षेत्रका जनताले हालेर जिताएका भए पनि मन्त्रि सभासद् त सबै नेपालीको साझा व्यक्तित्व हुन् । तर मेरो अर्थ्याई निकम्मा रह्यो । मन्त्रीज्यू सँगको साक्षात्कारले केही पुरानो याद पनि दिलायो । सबैभन्दा बढि का.वा.प्रधानमन्त्री बनेका माननीयज्यूसंग केही समय बिताउने क्रममा क्यारमबोर्ड र बुद्धिचाल खेल्ने अवसर मिलेको थियो । मैले ती खेलमा एक दुई पटक जितेको मात्रै के थिएँ, वहाँ यसरी रिसाउनु भयो कि म पुरै अवाक् बनेँ । अनि अर्को पटक हारेर उहाँलाई खुशी बनाएको थिएँ ।
त्यस्तै अर्को पनि अनुभूति छ पूलचोक मन्त्रि क्वाटरको पञ्चायत कालको । अघिल्लो साँझ नै मन्त्रि मण्डल विघटन भएको रहेछ । भोलिपल्ट बिहानै माननीयज्यूले क्वाटर परिसरमा फूल्न लागेको काउली उज्यालो हुन अगावै खुकुरीले सबै छप्काई दिएको । संयोगवश बेल्जियमको यो घटना पनि अविस्मरणीय भएर मेरो जीवनमा रही रहने भयो ।
अन्तमा, म सबैसँग के आग्रह गर्न चाहन्छु भने, माथि उल्लेख गरिएका जिज्ञासाहरू सार्वजनिक ममत्वका विषयहरू हुन या हैनन् ? यी प्रश्नहरूको जवाफ दिन मा. मन्त्रीका कार्यक्षेत्राधिकार र कर्तव्य भित्र पर्छ कि पर्दैन ? मेरा जिज्ञासाहरू असान्दर्भिक भए फिर्ता लीन तयार छु, नत्र तिनको सही जवाफ नपाउन्जेल उनी मेरा लागि सदा सदा अमाननीय मन्त्रि कै कोटीमा रहि रहने छन् । तै पनि वहाँको युरोप यात्रा सुखद रहोस् ।
-लेखक एन आर एन बेल्जीयमका पूर्व अध्यक्ष तथा त्यहाँका ब्यापारी हुन्।




