कांग्रेस: ऐतिहासिक लोकतान्त्रिक पार्टी बन्ने की अपराधी पार्टी ?

·सरोजदिलु विश्वकर्मा

हामी सवैले सहमतिकै कुरा गरिरहेका छौं । प्रमुख नेताहरुले मात्रै कुल जोडमा १ लाख पटक सहमतीको कुरा गरे हेालान् । अव त सहमतिको परिभाषा भनेको ‘झगडा गर्नु, संविधान नवनाउनु भन्ने वा वाहिर हास्ने भित्रभित्रै मुमुरिने’ रोग पो होकी भन्ने बुझ्नुपर्ने हुन्छ । परिणामतः यो ४ महिनाको अवधिमा प्रधानमन्त्रीको चुनाव १२ औंं पटक हुदैंछ । खै त सहमति ? प्रधानमन्त्रीका प्रत्यासी रामचन्द्र पौडेल गन्तब्यविनाको रेशमा एक्लै दौडिरहेका छन् । धोती-कन्दनी खुस्के पनि कहाँ पुग्दा जितिने हो, उनैलाई थाहा छैन । अझ कांग्रेसजनलाई नै थाहा छैन, यिनी किन र कहाँ दौडिरहेका छन् भनेर । तर पनि यिनी दौडिरहेका छन् ।

 विश्वमा कहिं नभएको जात्रा, विआईसीसीमा दर्जनपटक दोहोरिादा पनि नेपाली कांग्रेस रति लज्जित छैन । हुन त राजनीतिमा लाज  कहाँनेर हुन्छ, नेताहरु आफैंले देखेका छैनन् । सायद यो लाज भन्ने उनीहरुले देख्ने हो भने दलहरुवीचमा सहमति बनि संविधान पहिले नै आउने थियो होला ।

अर्कोतर्फ जेष्ठ १४ गते मध्यरात पछि अर्थात गत जेष्ठ १५ गते विहान १ वजेर १३ मिनेट जाँदा जवर्जस्त संविधानसभाको समय थपियो । अव संविधान बनाउने वाकी समय भनेको ८ महिना मात्रै हो । अघिल्लो वर्षको अनुभवलाई हेर्ने हो भने ९ महिना त प्रधानमन्त्रीको राजीनामा मागेरै र राजीनामा नदिएरै वित्यो । वाषिर्क १ अर्व ५५ करोड राज्यले वेर्होर्नुपर्ने विआईसिसीको एसीमा भोज, मोज र २४ घन्टे ज्यूनारसँगै जनताको संविधान लेख्ने घडीमा सभासदहरुले बाहिर निस्केर रमिता देखाए, हामीले सडक ततायौं, तारवार भाच्यौं, न आफूले लेख्यौं, न अरुलाई लेख्न दियौं । ती विगतका दिनहरुलाई हेर्ने हो भने संविधान बन्ने सम्भावना क्षिण बन्दैगएको छ । 

जतिसुकै लोकतन्त्र र ऐतिहासिकताको फुइ लगाएपनि काग्रेसको नियत नै हो अर्काको घर भत्काएर रमाउने अर्थात फायदाका लागि अरुलाई प्रयोग गर्ने प्रयोग पछि वर्वादी गर्ने । त्यसैले २०५२ सालमा नेकपा एमालेको ९ महिने स्वणिर्म कालको सरकार साम, दाम, दण्ड, भेद, सवै नीति अपनाएर पतन गरायो । तत्कालिन अवस्थामा यिनै रामचन्द्र पौडेल हुन्- जो प्रधानमन्त्री मनमोहन अधिकारी टिचिङ हस्पिटलको शैंयामा अशक्त अवस्थामा रहदा ‘एक मिनेट पनि सत्तामा बस्ने अधिकार छैन’ भन्ने । भदौं १२ गते सर्वोच्चले फैसला दिनासाथ ‘संसदमा गोरु ब्यायो’ भन्ने पनि यिनै हुन् । आज यी पटमानव प्रधानमन्त्रीको दौडमा फेरिपनि एक्लै दौडिरहेका छन् । अवको प्रधानमन्त्री हुनखोज्ने यी महामहिमलाई कस्ता नियतका ब्यक्ति हुन् भनेर यहीनेर चिन्न सकिन्छ । यस्ता ब्यक्तिले कार्यकारी भइ मुलुक हाक्ने हो भने यो देश कता जाला ? पहिले कांग्रेसी चश्माहरुले नै हेरुन् ।

यता हाम्रो गौरवमय पार्टी नेकपा एमाले भित्र पनि एउटा वलियो कांग्रेसी झुण्ड छ । त्यसले पार्टी भित्रदेखि वाहिरसम्म पदको वार्गेनिङ् गरिरहेको छ । त्यो पद मिलेपछि मात्र ऊ संविधान बनाउने वाटोतिर मोडिन चाहन्छ । त्यसले कहिले वालुवाटार गएर ‘डेग नचल्ने है’ भरिहेको छ भने कहिले महराजगञ्ज त कहिले सानेपासम्म पुगेर ‘फिर्ता लिदैं नलिने है, संविधान मुला भए होला नभए नहोला’ भन्दै हिँडेको छ । त्यो झुण्डभित्र पनि अर्को झुण्ड छ, जो पार्टीले लिएको अडानलाई नै भजाएर सहमतिलाई भाँड्ने काम गरिरहेको छ । यसो गर्दा उसको कायमुकायम मुकरर भइरहने हुँदा उसलाई फायदा नै भएको छ ।

अर्को खलपात्र- भदौरो गीत गाउने नागरिक समाज छ, जसले सहमति र संविधान भन्ने शब्दको ब्यापार गरिरहेको छ । यो पात्रलाई नरम कुरा गरेर थोरवहुत सम्मान थियो भने सहमति र संविधान निर्माण अनि राज्य पुनर्संरचना र अल्पसंख्यकको अधिकारका कुरा खेाक्न थालिहाल्छ । अलि कडा कुरा गर्यो ६ वटा हरिया बङ्गारा देखाएर हिहिहि गर्दै कुलेलाम ठोकिहाल्छ । फोरम-मोर्चादेखि र दिल्लीसम्मकेा कुरा नगरौं, सवैले जानेकै विषय हो । यसैले प्राय यी खलपात्रहरु संविधान लेख्ने र सहमति गर्ने पक्षमा होईन, यी शब्दको ब्यापार गर्ने होडमा छन् । त्यसैले अधिकार लागि लडेका जनतादेखि राजनीतिक दल, मुलुक र जनताप्रति संवेदनशील नेता-कार्यकर्ताहरु भने आज भट्टीका जँड्याहा र चिया पसलका गफाडीकासमेत मजाकका पात्रहरु बनेका छन् । अव त राजनेताहरुलाई ‘काट्टो खाने जाति’ भनेर गीत समेत बजारमा गुञ्जन थालेको छ ।

तर जसले जतिसुकै उफ्रेपाप्रेपनि, जालझेल गरेपनि, सालनाल खसाएपनि सहमति नै गरेर निर्धारित समयमा संविधान बनाउनु नै निर्विकल्प उपाय हो । यसकेा विपरित सोच्नु भनेको जनतालाई धोका दिनु हो, मुलुकप्रति अपराध गर्नु हो । त्यस्ता अपराधीले यो मुलुकमा बस्ने कुनै अधिकार रहन्न । नेकपा एमालेले अघि सारेको सवैले प्रधानमन्त्री उमेद्वारी फिर्ता लिएर अर्को सहमति गरि प्रधानमन्त्री बनाउने, त्यसपछि बाँकी सहमति गर्दै जाने भन्ने एउटै अडानको विकल्प छैन ।

तसर्थ माओवादीले उमेदवारी पिर्ता लिइसकेको स्थितीमा कांग्रेसले पनि यथासिघ्र फिर्ता लिनुपर्दछ । होईन एक्लै भएपनि थलो ओगटेर दौडिरहन्छ भने ऊ ऐतिहासिक लोकतान्त्रिक पार्टी होईन, वरु ऐतिहासिक अपराधी पार्टी हो भनेर जनताले बुझ्नु पर्दछ । हृोइन, उस्ले फिर्ता लिदैलिदैंन अपराधी नै ठहरिन खोज्छ भने माओवादी र एमाले वा मधेसी दलहरुले कांग्रेसको गलगण्ड अवपनि बोकिरहनु जरुरत छैन । सवैलाई थिच्ने बोझ बोकेर पार तर्न सकिदैन भने त्यसलाई भेलमा हुत्याइदिदा नै वेश । अर्थात कांग्रेसविनै दुइृतिहाई पुग्ने स्थिती छ तर ऊ सधै वाधक बनिरहन्छ भने उसलाई अव बाँकी दलहरुले छोड्नै पर्दछ । यसका लागि नेकपा एमालेले पनि प्रधानमन्त्रीको अड्को थाप्ने छैन, अरुको नेतृत्वलाई स्वीकार्न तयार हुनेछ ।

यो १२ औं पटकसमेत यी रामको वुद्धिको विर्कोमा चन्द्रको प्रकाश परेन र कोही जिउँदेा सभासद बाँकी छ भने त्यसले नियमावली संसोधनका लागि संसदमा प्रस्ताव पेश गरोस् । त्यसले वन्दी भएको येा ब्यवस्थापिका संसदलाई केही राहत हुन्छ, संविधान लेखनप्रकृया अगाडि बढ्नेछ ।

यदि, एमाले अघि सारेकेा यो विकल्पलाई नमान्ने र उडाउने हो भने लेखेर राखे हुन्छ- संविधान बन्दैन । त्यसवेला प्रचण्ड, ज्ञानेद्र र कमल थापावीचमा दिल्लीमा त्रीपक्षीय वार्ता हुनेछ । १२ को साटो १३ वुदे सम्झौता होला । अनि नेपालमा सांस्कृतिक राजतन्त्रको पुनर्वहाली भयो भने नेपाली जनताले आश्चर्य मान्नु पर्दैन । त्यसले गणतन्त्र चीनको समेत समर्थन पाउनेछ । यता कांग्रेस दक्षिणतिरबाट सिकेकेा मन्त्र कांग्रेसले सधैं जनै कानमा राखेर गायत्री मन्त्रसँगै उच्चारण गर्दै यही वातावरणमा राजनीतिलाई लिङ्र्याएर यो मुलुकमा राजतन्त्र बिउँझाउन चाहन्छ । र, त्यो तन्त्रको छहारीमा आफू सदावहार प्रधानमन्त्री बन्न चाहन्छ । सुदको गुद पनि यही हो । फलतः उसको एकल दौडले अहिले पुर्वराजा ज्ञानेन्द्र, पारस र हिमानीको धार्मिक यात्रासमेत सहज हुँदै गएको छ ।

यो संयोग मिलेको दिन अहिले विभिन्न जाति र भाँतिका अधिकार र प्रदेशकेा विनायो बजाउने यी विकासे नागरिक समाजको गीतको भाका पनि फेरिने छ । यिनीहरु बानेश्वरबाट दरवारमार्गदेखि निर्मल निवाससम्म सरेर मिलन र विछोड्को गीत गाउने छन् । सो वेला वास्तविक गणतन्त्रवादी दलहरुको हवीगत रत्नपार्कमा दिनहुँ टटि्टएर टर्टराउनु पर्ने स्थितीमा गयो भने आफ्नै कार्यकर्ताहरु पनि मै खुश तै खुश रहनेछन् । यो पनि लेखेर राखेहुन्छ ।

तपाइँको प्रतिक्रिया