मार्क्सवाद-लेनिनवाद-माओवाद देखाउने दाँत मात्र ?
-अकेला श्रेष्ठ
अग्रगमनको पहिलो प्रस्तावक माओवादी हो, यसमा द्विविधा छैन । ऊद्वारा सञ्चालित दशवर्षे जनयुद्धले यो अग्रगामी परिवर्तन ल्याएको हो, यसमा पनि द्विविधा छैन । र, यो परिवर्तनलाई उन्नाईसदिने जनआन्दोलनले हावा दिएको पनि हो, यसमा पनि द्विविधा छैन । र, संविधान सभामा दबदबा पनि कम्युनिष्टहरुकै छ । तैपनि जनताले आजसम्म आफ्नो हक, अधिकारको मुद्धालाइ सास्थागत गर्न नसक्नुको एउटै कारण के छ भने अतिरिक्त श्रम र अतिरिक्त मूल्यबारे कहीँ, कतै चर्चा गरिँदैन र गर्न जरुरी ठानिँदैन, जुन अतिरिक्त श्रम र मूल्यलाइ गरिव मजदुरहरुले पत्तै नपाईकन आफ्ना मालिकहरुलाइ सुम्पिरहेका हुन्छन् र त्यही अतिरिक्त श्रम र मूल्यका आधारमा मालिकहरुले आफ्नो पूँजीलाइ बढवा दिईरहेका हुन्छन् ।
कोईलाको दलाली गर्नेको हात कालो भए जस्तै यहाँका क्रान्तिकारी पार्टीहरु र तिनका क्रान्तिकारी नेता-कार्यकर्ताहरुले आफ्नो राजनीतिक जीवनको कुनै कालखण्डमा पनि गरिव तथा मजदुरहरुको त्यो अतिरिक्त श्रम र अतिरिक्त मूल्य, जसलाई उनीहरुले बाध्यतावश आफ्ना मालिकहरुलाइ सुम्पिदैं आएका छन् र सुम्पिरहेका छन्, त्यसवारे चर्चा गर्न जरुरी ठानेनन् । जसको सिधा अर्थ हो-स्वयम् क्रान्तिकारी दलहरुका क्रान्तिकारी नेता-कार्यकर्ताहरुले नै मालिकहरु र श्रमजिवि मजदुरहरुको बीचमा दलाली गर्दैछन् र आफ्नो अभिष्ट पूरा गर्दैछन् । पूाजिवादको सर्वनाश हुनुपर्ने यो युगमा आज जुन हिसावसाग मार्क्सवाद-लेनिनवाद-माओत्सेतुङ्ग बिचारधाराको बदनामी भईरहेको छ, त्यसको पछाडि कुनै न कुनै रुपमा क्रान्तिकारीताको जामा पहिरिने उनै दलालहरु छन्, अरु छैनन् ।
हामीलाइ युगौँदेखि ईश्वरवादी चिन्तनको अफिम खुवाउँदै आएको हुँदा आफ्नो जीवन र जीवनका सबै जरुरतहरुलाइ हामीले भगवानकै भरोसामा छाडिदिन्छौ । किनकि, हामी कर्म त गर्छौ, तर फलको आसा गर्दैर्नौ । अढाईसय बर्षसम्म दिलोदिमागमा कोच्चिँदै आएको अन्धबिश्वास, कुरीति, कुसंस्कारले हाम्रो दिमाग यति बोधो भईसकेको छ कि धनीहरु झन् झन् धनी र गरिवहरु झन् झन् गरिब बन्दै जानुको दोष हामी प्रारब्ध (पूर्वजन्मको फल) लाई दिन्छौं । यो सोच्दैनौ कि मालिकहरुले अदृश्य रुपमा शोषण गरिरहेको गरिव मजदुरको अतिरिक्त श्रम, अतिरिक्त मूल्य र अतिरिक्त श्रमकालतर्फ ध्यानै दिँदैनौं र दिन जरुरी पनि ठान्दैनौं ।
राजतन्त्रको पलायनसँगै लोकतन्त्रको स्थापनापछिका दिनहरुमा हामीकहाँ पूाजिवादी दलहरु (पुराना पञ्चहरुको दल लगायत नेपाली काँग्रेस र केही मधेसवादी दलहरु समेत) र कम्युनिष्ट भनौदा साम्यवादी दलहरु बीच सधैँभरि मनमुटाव मात्र रहनु र उनीहरु बीच पानी बाराबारको स्थिति मात्रै बनिरहनुको मूलकारण के हो ? पुँजीवादी बिचार र साम्यवादी बिचार बीचको फराकिलो बैचारिक अन्तरद्वन्द, जसलाई स्वयम् पुँजीवादी अर्थशास्त्रीहरुले पनि नकार्दैनन् । किनकि, पुँजीवादको मुख्य आधारशीला नै अतिरिक्त श्रम, अतिरिक्त मूल्य र अतिरिक्त श्रमकाल हो । यसको चर्चा गरिव तथा मजदुर वर्गको प्रतिनिधित्व गर्ने सर्वहारा अधिनायकवादी दलहरुले गर्नुपर्दथ्यो, गरेका छैनन् । किन ? किनकि, कोईलाको दलाली गर्दा गर्दै सबैको हात यति कालो भईसकेको छ कि केही गरे पनि त्यो छुट्दै छुटिरहेको छैन ।
गरिव, मजदुर तथा श्रमजिवि जनताको वकालत गर्ने सैयौ संघ, संगठनहरु हामीकहाँ छन् । कुनैले पनि अतिरिक्त श्रम, अतिरिक्त मूल्य र अतिरिक्त श्रमकाल र अतिरिक्त मूल्यको सिद्धान्त, जुन माक्र्सवादको आधारशीला हुन्, त्यसको चर्चा गर्दैनन् र गर्न जरुरी ठान्दैनन् । यसकारण गरिव, मजदुर, किसान, दलित, पीडित, उत्पीडित जनता आज पनि आपनो हक अधिकारबाट बञ्चित छन् र सुकिला-मुकिला क्रान्तिकारीहरुदेखि टाढा भाग्दैछन् ।
अतिरिक्त मूल्य माक्र्सवादी अर्थशास्त्रको अचूक अस्त्र हो । यो अतिरिक्त श्रमबाट उत्पन्न हुन्छ । कामदारले श्रमशक्तिलाई आफ्नो परिवारको जिविकोपार्जनका लागि आफ्नो श्रमशक्तिको मूल्य हासिल गर्न बाध्य भएर पुँजीपति (मालिक) को हातमा बेच्ने गर्दछ र पुँजीपतिले अतिरिक्त श्रमशक्ति शोषण गरेर त्यसबाट जुन मूल्य हासिल गर्दछ, त्यसलाई पुँजीवादी अर्थशास्त्रीहरुले ‘नाफा’ को अत्तर छर्कि दिन्छन् । परन्तु माक्र्सवादको परिभाषामा त्यही ‘नाफा’ नै अतिरिक्त मूल्य हो, जसको चर्चा हाम्रा कुनैपनि क्रान्तिकारी पार्टी र तिनका नेता, कार्यकर्ताहरुले गर्दैनन् । हिजो पनि । आज पनि । किनकि, यही दलालीबाटै उनीहरुलाइ सबथोक हासिल भईरहेको छ ।
उद्योग धन्धा, कलकारखाना, दोकान, पसल जहाँसुकै कामदारले जुन श्रमशक्ति खर्च गर्दछ । त्यसमा आवश्यक श्रमशक्ति र अतिरिक्त श्रमशक्ति दुईवटा स्वरुप हुन्छन् । ज्याला तथा मजदुरीका लागि कामदारले खर्च गर्ने श्रमशक्ति आवश्यक श्रमशक्ति हो । त्यसलाई उसले थाहै नपाईकन मालिकको हातमा सुम्पिरहेको हुन्छ । लगानीभन्दा दोब्बर तेब्बर नाफा आर्जनका लागि कामदारबाट हासिल गर्ने श्रमशक्ति अतिरिक्त श्रमशक्ति हो, जसमा सिङ्गै पुँजीवाद टिकेको हुन्छ र पुँजीपतिहरूले फूर्ति लगाउने गर्दछन् ।
उत्पादन, बिक्री वा बितरणको क्रममा कामदारले खर्च गर्ने श्रमशक्ति दुईथरी हुन्छन् । यसलाइ श्रमकालले नाप्ने गरिन्छ । कामदारले आफ्नो जिविकोपार्जनको लागि खर्चिने समय आवश्यक श्रमकाल हो । तर अतिरिक्त मूल्य हासिल गर्नको लागि मालिकले मजदुरबाट जति बढी श्रमकाल शोषण गर्दछ, त्यो श्रमकाल चाही अतिरिक्त श्रमकाल हो, जुन मालिकले आर्जन गर्ने अतिरिक्त मूल्यको सूत्रधार पनि हो । गरिव, मजदुर, किसान, भूमिहीन जनताको वकालत गरेरै नथाक्ने यहाँ कुनै यस्ता कम्युनिष्ट पार्टी र नेताहरु देखिएनन्, जसले गरिव मजदुरले मालिकको हातमा सुम्पिएको त्यो अतिरिक्त श्रम र अतिरिक्त मूल्यवारे कहिल्यै चर्चासम्म गरेका होउन् र कम्मर कसेर त्यसलाइ संस्थागत गर्न लागीपरेका होउन् ।
मार्क्सवाद सदा जिवित रहने र अपराजेय शिक्षा मानिन्छ । यसले पुँजीवादको आथिृक नियम र त्यसका विकृतिहरुको विस्तृत ब्याख्या गरेर पुँजीवादको सर्वनाश हुने कारण पत्ता लगायो । तर यहाँका कुनै पनि कम्युनिष्टहरुले कहिल्यै त्यसवारे एक शब्द बोल्न जरुरी ठानेनन् र बोलेनन् । जवकि पुँजीवाद बिरुद्ध साम्यवादको निम्ति अतिरिक्त श्रम, अतिरिक्त मूल्य र अतिरिक्त श्रमकाल अभेद्य अस्त्र हो । यस अर्थले नेपालका कम्युनिष्ट पार्टीहरु र तिनका नेता-कार्यकर्ताहरु केवल सत्ता हथ्याउन र शक्तिमा पुग्नकै निम्ति मात्र क्रान्तिकारीताको स्वाङ गरिरहेका छन् र आफ्ना झण्डाहरुमा हँसिया हथौडाको लोगो कोरिरहेका छन् । यो नै श्रमजिवि मजदुर, किसान, दलित, पीडित, भूमिहीन र सर्वहारा जनतासाग गरिएको आधुनिक जमानाको सबैभन्दा ठूलो राजनीतिक बेईमानी हो । अर्थात, राजनैतिक छल !
गरिव, मजदुर, किसान, दलित, पीडित, उत्पीडितहरुको वकालत गर्नेहरुले गरिव, मजदुर, किसान, दलित, पीडित, उत्पीडितहरुले निःशुल्क रुपमा अञ्जानवश मालिकको हातमा सुम्पिरहेको बाध्यताको चर्चा गर्न जरुरी छ कि छैन ? गरिव, मजदुर, किसान, दलित, पीडित, उत्पीडितहरुको नाम बेचेर त्यसबाट नेताकार्यकर्ताहरुले मोज गरिरहेको प्रतिफल नाफा हो कि होईन ? त्यो प्रतिफलमा गरिव, श्रमजिवि मजदुर, किसानहरुको अधिकार हुनुपर्छ कि पर्दैन ? गरिवले त्यसको प्रतिफल पसिना नसुक्दै पाउनुपर्छ कि पर्दैन ? नपर्ने भए, क्रान्तिकारीताको यो स्वाङ छोड्नुपर्छ कि पर्दैन ? के माक्र्सवाद-लेनिनवाद-माओवाद केवल देखाउने दाँत मात्र हो ? यसैको लागि हो माक्र्सवादलाई अजेय र अमर मानिएको ? बिज्ञान मानिएको ?
जुन दसवर्षे जनयुद्धमा गरिव, मजदुर, किसान, दलित, पीडित, उत्पीडितहरुले आफ्नो जिन्दगीको सम्पूर्ण ऊर्जा सिद्धयाए, श्रमशक्ति र अतिरिक्त श्रम खर्चे, त्यसबाट निस्केको लोकतन्त्ररुपी नाफाको प्रतिफल उनीहरुले पाउनुपर्ने कि नपर्ने ? महान जनआन्दोलनबाट हासिल गरेको यो नाफाको केही अंश ती जनताले पाउनुपर्ने कि नपर्ने ? जुन नाफामा उनका नेताहरुले दाईा गर्दैछन् ? पाउने भए कहिले पाउने ? यो वितण्डा सकिएपछि ? र यो वितण्डा सकिने कहिले ?
पुँजीवादको प्रतिनिधि अमेरिकाको नजर संयुक्त अरव ईमिरेट्समा (युएई) माथि पनि छ । किनकि, त्यहाँ अपार तेलका कुवाहरु छन् । तर युएईका जनतालाई उचाल्ने उसको हरेक प्रयास असफल भएका छन् । किनकि, अरवका शेखहरुले आˆनो सम्पूर्ण पूँजीलाई नागरिकको मुनाफाका लागि लगानी गर्दछ र त्यसको लाभांश जनतामा बाँड्दछ । आज युएईमा जे छ, त्यो अमेरिकासँग पनि छैन । किनभने, आफु चारैतिरबाट सुरक्षित भएपछि मानिसलाइ केही पनि चाहिँदैन । न कुनै सिद्धान्त । न त कुनै बाद नै । स्वतन्त्र राज्य (संघीयता) को जुन खेल यहाँ खेलिँदैछ र तर त्यस्ता संघीय राज्यहरुको जुन आफ्नै स्वतन्त्र अस्तित्व र आफ्नै बौद्धिक, नैतिक स्वतन्त्र आधारहरु हुन्छ भन्ठानिएको छ, मार्क्सवादको परिभाषामा ती पनि बुर्जुवा राज्यहरु नै हुन्, जहाँ कुनै अवधिमा पुँजीवादी सामाजिक व्यवस्थाले साम्यवादी सामाजिक व्यवस्थामाथि क्रान्तिकारी तरिकाले संक्रमण गर्नेछ र पनि त्यसलाइ क्रान्तिकारी सर्वहारा अधिनायकवादको सुदर्शन चक्रले टुक्राटुक्रा पारिदिनेछ ।




