प्रधानमन्त्री निर्वाचनमा हस्तक्षेपको खाँचो

तेह्रौं पटक सम्म प्रधानमन्त्रीको निर्वाचनमा हार्दा पनि कांग्रेस नेता रामचन्द्र पौडेलले उमेदवारी फिर्ता गरेका छैनन् । सधैं पराजित हुने निर्वाचनमा हठ नछोड्नुको कारण के हो ? के संसद नियमावली र अन्तरिम संबिधान अनुसार निर्वाचनमा आफ्नो उमेदवारी कायम राख्न पाइने प्रावधान हुँदैमा संसदलाई सधैं प्रधानमन्त्री निर्वाचनकै घेरोमा अल्झाइरहने ? नेपाली कांग्रेसले यसरि संसदको सम्पूर्ण ध्यानलाई यसैमा अल्झाएर राख्नुको उपयोगिता के ? जानी जानी देशलाई भड्खालामा हाल्ने ?

दुई वर्षमापनि संबिधान नबनेर थपेको एक वर्षको समयपनि आधा बित्न लागिसक्यो । आर्थिक अवस्थाले जर्जर बनेको मुलुकले ६०१ सभासद पालिरहेको छ । संयुक्त राष्ट्र संघले यदि राजनीतिक दलहरुले सहमती कायम गरेर अगाडि बढेनन् भने मुलुक गम्भिर समस्यामा फस्ने चेतावनी दिइरहेको छ । सारा नागरिक वाक्क भैसके तर दलहरुले भने चेतेको देखिन्न ।  यस्तो बेला नेपाली कांग्रेसले कहिल्यै नजित्ने निर्वाचनमा उमेदवारी कायम राखेर मुलुकलाई झन बन्दि बनाइरहेको छ । संसदको दोस्रो ठुलो दलका अगाडि अन्य दलहरु रमिते बनिरहेका छन् । सम्पूर्ण मुलुकनै पटक पटकको प्रधानमन्त्री निर्वाचनमा अल्झेको छ ।

मुलुकलाई कतिन्जेल यसरि बन्धक बनाईराख्ने ? के एउटा दलको मनोमानीमा सबै पार्टी, सम्पूर्ण संसदलाई बन्धक बनाइराख्न मिल्छ ? नेपाली कांग्रेसका प्रधानमन्त्री पदका उमेदवार रामचन्द्र पौडेलले त दिनकै २४ पटक निर्वाचन भएपनि आफ्नो उमेदवारी फिर्ता नगर्ने घोषणा गरिसके । यस्तो अवस्थामा मुलुकलाई कहिलेसम्म अनिर्णयको बन्दि बनाइराख्ने ?

नेपाली कांग्रेसको अगाडि सबै पार्टी रमिते बनिरहने हो कि समाधान खोज्ने ? कुनै एउटा पार्टीको लहडमा देशलाईनै खाडल तिर हाल्ने हो कि कांग्रेस बाहेकका दलहरुले समाधान खोज्ने ? के संसदले कुनै बिकल्प दिनै सक्दैन ?

नेपालको अन्तरिम संबिधान र संसद नियमावलीलाई के एनेकपा माओवादी, नेकपा एमाले, मधेशी दलहरु मिलेर संशोधन गर्न सक्दैनन् ? यदि दलहरु हरेक निर्वाचनमा  तटस्थ बसिरहन्छन् भने संबिधान र नियमावली संशोधन गरेर भएपनि संसदको सबै भन्दा ठुलो दलले सरकार बनाउन पाउनुपर्ने प्रावधान बनाउनु जरुरी छैन ?

संबिधानको रक्षा गर्न भनेर अन्तरिम संबिधानमा ब्याख्या गरिएका राष्ट्रपती, संबिधान सभाका सभामुखहरुको भूमिका के यतिखेर ? के तिनले यो गतिरोध अन्त्यकालागि संसद र दलहरूलाई सुझाव दिनु जरुरी छैन ? मुलुक डुबाउने अवस्थामा कुनै दल पुग्छ भने के राष्ट्रपतीले हस्तक्षेप गर्नु अवश्यक नहोला ? कि नेपाली कांग्रेसको हठ सँगै राष्ट्रपती, संबिधान सभा अध्यक्ष र सबै दल राष्ट्र डुबाउने तयारीमा बसेका हुन् ?

तपाइँको प्रतिक्रिया