प्रधानमन्त्रीको चुनाबी नाटक युद्द निम्त्याउने प्रपंच
-राजन भट्टराई / फ्रान्स
अब त नेपाली समाचारका विधुतिय संचार माध्यमहरु लग अन गर्न पनि मन लाग्न छाडिसक्यो I इन्टरनेट मेरो घनिष्ठ साथी बनिरहेको छ यो बखत । जे भए पनि जन्म भूमिबाट टाढा बस्नु पर्दा मन अलि बढी नै भाबुक हुँदोरहेछ । साथीहरु संग प्राय इन्टरनेटमा सम्पर्क भइ नै रहन्छ । नेपालमा रहेका संचार माध्यमका साथीहरुसमेत देशमा पेशा असुरक्षित बन्दैगएको सुनाउँछन् I देशमा भबिस्य अन्धकार देखिरहेका छन् उनीहरु । मिडिया मालिकहरुको श्रम शोसन र राजनीति अस्थिरता नै पेसागत असुरक्षाको प्रमुख कारण बनिरहेको छ । अरु सामान्य नेपाली के सोच्दा हुन् सहजै अनुमान गर्न सकिन्छ । फ़ेसबुकमा राखिने पोस्टहरुमा हेर्यो देशकै चिन्ता छ साथीहरुलाई । वाक्क र दिक्क लाग्दो नेपाली राजनीति देखेर निराश मात्र बनाउँछ । अब त अति नै भयो । नेपालीको महान भनिने पर्वहरु एक पछी अर्को गरि आइरहेका छन् तर जनतामा खुसि छैन । भोलि के हुने हो निश्चितता छैन ।
हामी प्रवासीहरुलाई नेपाल बारे जान्न बुझ्न देशी-बिदेशी संचारका साधनहरुले राम्रो गुण लगाईरहेका छन् । दिनप्रतिदिन संचालनमा आइरहेका पुराना – नया अनलाइन समाचार अझ सहज बनाइदिएको छ । त्यसैले नेपाल बारे उति बेखबर बन्नु पर्दैन । मीडियाहरुले प्रबासी नेपालीहरुलाई जीवन्त बनाइ रहेकाछन् । अधिकांश नेपाली जनता देशको गृह अवस्था देखी वाक्क र दिक्क भएकाछन् । अशान्ति र अनिश्चितताको भबिस्यले आकुल ब्याकुल बनाही रहेको छ। तत्काल यो दुराबस्थाबाट नेपाल र नेपाली मुक्त हुने आबस्थामा छैनन् । राजनीतिक ठेकेदारहरुप्रति अनगिन्ति प्रश्नहरु सोझीएकाछन् । नेपाली माटोमा धेरै रगत बगी सकेको छ । बाह्रवर्षे कहाली लाग्दो जनयुद के को लागि ? हजारौको बलिदानी आखिर किन ? बेपत्ता र गुमनाम जीवन के का लागि ? क्षत बिक्षत भौतिक बिनास किन गरियो ? म्रित्युको पर्बाह नगरी लाखौको जनसागरले २०६२/६३ को आन्दोलन मार्फत निरंकुश राजतन्त्रको अन्त्य गरेर के पाए ? के नयाँ शामान्ति लठैतहरु र प्रतिक्रियावादी दलालहरुको आश्रय स्य्थल बनाउनलाई गणतन्त्र को नाटक मन्चन गरिएको हो ? प्रश्न स्वभाविक हुन् । समयमा संबिधान नबनिदिंदा र देशमा स्थिर सरकार नहुँदा जनतामा आशंका हुनु स्वभाविक हो ।
जनतामा अब ता शान्ति हुन्छ भन्ने आशा थियो । तत्कालिन नेकपा ( माओवादी ) ले संचालन गरेको भयानक जनयुदको अन्त्य भयो । नेपालको हित बिपरित रहेको सहेंनकाडा जस्तो राजतन्त्रको पराजय भयो । दैनिक हत्या र प्रतिहत्याका समाचारहरु सुन्नुपर्ने छैन भन्ने लागेको थियो । तर तपाई हामीले सोचेजस्तो नेपाल भैदिएन, उडायो सपना सारा हुरीले …………नारायण गोपालको गीत जस्तै !
यतिखेर विभिन्न रुप र रंगमा फासिवादी सस्कृति हाबी बन्दै गहिरहेको छ । बैदेशिक हस्तक्षेप अझ गम्भीर ढङ्गले जटिल रुपमा देखा परिरहेको छ । नेपाल अन्तरास्ट्रिय माफियाहरुको ट्रान्जिट पोइन्ट त छँदैथियो , अझ मजबुत ढङ्गले प्रतिक्रियाबदिहरुको क्रिडास्थल बन्दैछ । बिश्वमा दादागिरी माच्चाही रहेको उग्र आतंककारी अमेरिकाले दक्षिण एशिया कब्जा गर्ने सामरिक रणनीति अनुसार अफ्गानिस्तानतिर सैन्य विस्तार तिब्र बनाउँदै छ । उसले भारतलाई रिमोट कन्ट्रोल थमाएर नेपालको काधमा आड बनाएर चीनतिर सोझ्याउँदै छ । बास्तममा नै अमेरिकाले दक्षिण एशियामा शान्ति होइन साइलेन्स किलर बन्न नेपाल लगायत पुरै दक्षिण एशियास्तरमा आफ्ना इमान्दार कठपुतलीहरु निर्माण गर्न अभियान छेड्दैछ । अमेरिकी साम्राज्यवादले अस्थिर राजनीतिको फाइदा उठाउँदै नेपालमा आफ्ना सुराकीहरु परिचालन गरेर अफ्गानिस्तान र इराकमा जस्तै चीनमा अपराध गर्ने सपना देखिरहेको छ ।
सायद उसले बिगत बिर्सियो होला । दोस्रो बिश्वयुद्दताका भियतनामीहरुले अमेरिकी जल्लादहरुलाई खरानी बनाएर क्रान्तिकारी पैतालाहरुले कुल्चिएको । आलो छ घटना , नेपाली जनमुक्ति सेनाहरुले जनयुद कालमा अमेरिकी तालिम प्राप्त शाहीसेना र अमेरिकी अत्याधुनिक हतियारहरुलाई निमेस भरमा ध्वस्त बनाइदिएको । यति जान्दा र बुझ्दापनि मुर्ख प्रतिक्रियाबाद स्वतन्त्रताप्रेमीहरु माथि षडयन्त्र र चलखेल गर्न खोज्दैछन । आजका एक्काइसौं शताब्दिकको क्रान्तिकारी बिचारले लैस भएका जनतामाथि प्रहार गर्न खोज्दा दुनियाबाट सर्बनास हुनुपर्ला भन्ने चेत किन नआएको होला प्रतिक्रियाबादी षडयन्त्रकारी र यसका दलालहरुलाई । यसैका मतियारहरूका कारण आज नेपाल यो अस्त ब्यस्त बनेको हो । यिनै प्रतिक्रियाबादी दलालहरु यसका भागीदार हुन् । नेपालको नुन पानी खाएर भारतीय र अमेरिकी स्वार्थ पुरा गर्न तछाड -मछाड गर्ने नेपाली दलालहरु आफ्नै राष्ट्र बिरुद्ध अपराध गर्दै गरिरहेकाछन् । निर्लज्जहरुको अगाडी मुकदर्शक भएर बस्न बिबश छौ हामी । सहनुको पानी त सिमा हुन्छ नि ! जति हामी सहिरहन्छौं हामीमाथि कठपुतलीहरुले बलात्कार गरिरहनेछन् ।
निश्चितरुपमा नेपाली युवावर्गहरुको जुझारुपनमा ह्रास आउँदै गएकोछ । तर आम नेपाली जनता आफ्नो मुलुक र आफ्ना अधिकारप्रति धेरै सचेत छन्। आमरुपले राजनीतिप्रति घ्रिणा होइन घीनलाग्दो राजनीति गर्ने तपाई नेताहरुप्रति मात्र हो । तपाई स्विकार्नुस् या नस्विकार्नुस् तपाई नेताहरु नेपालमा जति बदनाम हुनुहुन्छ त्यतिनै बदनाम बिदेशी सामु भैरहनु भएकोछ । माधब नेपाल सरकारका बनमन्त्री दिपक बोहोराले अमेरिकामा जसरि बदनामी कमाए त्यस्तै गरि एमाले नेता के .पी . ओली फ्रान्स र बेल्जिममा अपमानित हुनुपर्यो । यो त सामान्य उदाहरण मात्र हो । फ्रान्समा रहेका प्रवासी नेपालीहरुले नेपालमा संबिधान नबनाएसम्म नेपाली नेताहरुलाई बहिस्कार गर्ने जुन कठोर निर्णय गरेकाछन् सम्भवत यहि निर्णय अरु देशका प्रवासी नेपालीहरुले नगर्लान भन्न सकिन्न ।
नेपालको राजनीति त्यति सहज छैन । साँच्चिनै नेपाल कम्बोडिया र अफ्गानिस्तान बन्न लागि सक्यो । अब अमेरिकालाई युद्द भड्काउने बहाना मात्र चाहिएको छ । विश्वको राजनीतिक इतिहासमा नै लज्जास्पद बन्न पुगेको प्रधानमंत्रीको चुनाबी नाटक -मन्चन यो युद्द निम्ताउने प्रपंच हो । जसरी गलत सूचना प्रवाह गरेर तेलमाथि साम्राज्य कायम गर्न इराकमाथि अमेरिकी आक्रमण भयो त्यसैगरि नेपालमापनि लाखौ निर्दोष इराकी र अफ्गानीहरुको निर्मम हत्या गरे जस्तै नेपाली क्रान्तिकारी मुक्तिकामी जनताहरुको कत्लेआम गरेर नेपाल र पुरै दक्षिण एशियामा हैकमबादी उपनिवेश बनाउन खोज्दैछ ।
काँग्रेस एमाले लगायतका संसदवादी राजनीति पार्टीहरुको दलाली मानसिकता र एकीकृत नेकपा (माओबादी ) को अस्थिर राजनीतिक अडानका कारण मुलुक भड्खारोमा जाकिएको हो । अमेरिकी कृपामा हमिद कारजाई अफगानी राष्ट्रपति भएजस्तै नेपाली कारजाई बन्ने रहर छ कि क्या हो ? एउटा कठपुतली माकुने सरकारको यो कन्तबिजोक र बद्नामी देख्दादेख्दै बुद्धि किन नआएको होला बुझिनसक्नु छ । सत्ता स्वार्थमा किन जे पायो तेही बोल्दै हिडेका होलान । केहि स्वार्थी मान्छेहरुलाई किन माओबादी सत्ता कब्जाको भुत लागेको होला यो पानी बुझिनसक्नु छ । करिब २०० बर्षे निरंकुश राजतन्त्रको त नेपाली जनताले सर्बनास गरे भने अब फेरी अर्को कुनै नामको एकदलीय तानाशाहीशासन स्वीकार गर्लान् नेपालीले ?
बिगत करिब पचास बर्षे प्रजातन्त्रकालमा संसदवादीहरु कै कारण देशले पंचायती निरंकुशता र भयानक कहालीलाग्दो गृहयुदको पिडा सहनुपर्यो । इमान्दारीपुर्बक भन्ने हो भने एकीकृत नेकपा (माओबादी ) को नेपाली राजनीतिमा परिक्षण हुन बाँकी नै छ । माओबादी नीति र कार्यक्रम नेपाली धर्तीमा प्रयोग हुननै नदिकन उसको मुल्यांकन गर्नु कमजोर मानसिकता हो । कि त विकल्प दिनु पर्यो । प्रचण्ड ,किरण, बाबुराम, प्रकाशहरु निरंकुश तानाशाह बन्ने यति मुर्ख नहोलान् । तिनलाई पनि धेरै थोरै बिश्व राजनीति इतिहासको ज्ञान होला !
आदरणीय नेता गण , आफ्नो देशको शासन सम्हाल्न अमेरिका र भारत को आशिर्बाद लिहिरहनु पर्दैन । सत्ताको लागि किन नाटक मन्चन गरेर समय बर्बाद गरिरहनु पर्यो । आखिर संबिधानसभा निर्बाचनमा जनताले दिएको हैसियत अनुसार आआफ्नो दाबी गरे भैहाल्छ नी । किन दुनियाँ हँसाउने ? जनतालाई किन सास्ती दिने ?अपराध यति मात्र हो नेपाली जनताको तपाईहरुलाई मत दिएर गल्ति गरे । देशमा शान्ति हुन्छ र उन्नति हुन्छ भनेर राजनीति पार्टीहरुलाई विश्वास गरेका हुन् । कम्तिमा आफैमाथि निर्मम बनेर आफ्नो हैसियतअनुसार नेताहरु चलिदिए यो गन्जागोलबाट मुलुकले त्राण पाउने थियो कि ? अबत अति भयो । राजनीतिक स्थिरता भएर विकास र प्रगतिको समाचारहरु स्वदेशी -बिदेशी संचारमाध्यमहरुमा प्रकाशन प्रसारण भएको हेर्न , सुन्न र देख्न पाए कति आनन्द हुन्थियो होला !




