राष्ट्रिय सहमतीको बाधक नेपाली कांग्रेस ?

आठ पटक भयो प्रधानमन्त्रीको लागि मतदान भएको । तर यस पटक एक्ला उम्मेदवार हुँदाहुँदैपनि रामचन्द्र पौडेल चुनिएनन् । हिजो भएको निर्वाचनमा हारे उनले । माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उनी एक्लै लडेका थिए । तर हिजोको मतदानमा उपस्थित १ सय ८९ सभासद मध्ये पौडेलको पक्षमा १ सय १६ मत मात्रै पर्‍यो । विपक्षमा २ मत पर्‍यो । ७१ सभासद तटस्थ बसे ।

माओवादी र एमालेको मत जोड्दा ३४५ मत हुन्छ । यो भनेको संसदमा बहुमत संख्या हो । दुई प्रमुख दलका सभासदले बहुमत पुग्छ र ति बिपक्षमा बस्छन् भने कसरि बहुमतका आधारमा प्रधानमन्त्री चुनिन्छ ? अब ८ पटक होइन ८ सय पटकनै निर्वाचन भएपनि प्रधानमन्त्री चुनिन संभव छैन । तटस्थ बसेका सबैले नेपाली कांग्रेसका उम्मेदवारलाइ मत दिएपनि उनले जित्दैनन् । त्यसैले अब नेपाली कांग्रेसका उमेरदवार रामचन्द्र पौडेललेपनि खुरुक्क आफ्नो उमेरदवारी फिर्ता लिएर राष्ट्रिय सहमतीका लागि प्रयास थाल्नुपर्छ ।

आठ पटक सम्म निर्वाचन हुँदा संबिधान बनाउनुपर्ने ध्यान संसदमा खेर गैरहेको छ । राष्ट्रिय मुद्दाहरु थाती रहेका छन् । यहि मौका पारेर गणतन्त्र बिरोधी तत्वहरु सल्बलाईरहेका छन् । जनतामा राजनीतिक दलहरु प्रति बिश्वास र भरोसा टुटेको छ । जनताहरुको निराशा र दलहरु प्रतिको बढ्दो अविश्वासलाई गणतन्त्रका बिरोधीहरुले नगदमा परिणत गर्ने कोसिस गरिरहेका छन् । राजनीतिक दलका केहि कमजोरीलाई देखाएर सम्पूर्ण गणतन्त्रकै हुर्मत लिने कोसिस भैरहेको छ । जनताको चाहना र शक्तिबाट विस्थापित राजतन्त्रलाई पून: टेकाउन सकिन्छ कि भनेर प्रजातन्त्रका वैरीहरुले जनमत संग्रह गर्नु पर्छ भन्दै टाउको ठड्याउन खोजिरहेका छन् ।  

अहिलेको निर्वाचनले राजनीतिक दल, जनता, प्रजातन्त्रिक शक्तिहरुलाइ कमजोर बनाइरहेको छ । बलियो बनेका छन् त प्रतिगमनकारीहरु । त्यसैले अहिलेको आवश्यकता भनेको राष्ट्रिय सहमतीकै आधार हो । राष्ट्रिय सहमतीबिना नयाँ संबिधान बन्नै सक्दैन । शान्ति संझौतालाई टुंगोमा पुर्‍याउन सहज बन्दैन । कम्तिमा राजतन्त्रलाई मिल्काएर गणतन्त्र स्थापित गर्न हातेमालो गरेका प्रमुख दल फेरीपनि मिल्नुको बिकल्प छँदै छैन । ढिलै भएपनि माओवादीले प्रधानमन्त्रीको आफ्नो उमेरदवारी फिर्ता लिएर राष्ट्रिय सहमतीको आधार तयार पार्न साकारात्मक काम गरेको छ ।

माओवादी र एमालेका सभसद जोद्दा संसदमा बहुमत पुग्ने र तिनले मतदान नगर्ने अडान लिएकाले अब प्राधानमन्त्रीको निर्वाचन गराइनुको कुनै अर्थ छैन । यदि नेपाली कांग्रेसका रामचन्द्र पौडेलले मैदान छाडेनन् भने संसदमा निर्वाचन जारी राख्नुपर्ने हुन सक्छ । त्यसको अर्थ राजनीतिक गतिरोधपनि लम्बिँदै जान्छ । यसो हुँदा जनतामा राजनीतिक दल र यो व्यवस्था प्रतिनै झन बित्रिष्णा जाग्दै जान सक्छ ।  अनि प्रतिगमनकारीले त्यसको फाइदा उठाउँछन् ।

त्यसो त जति पटक निर्वाचन हुन्छ त्यसले नेपाली कांग्रेसलाईनै कमजोर बनाउँछ । त्यसो हुनु भनेको प्राजातान्त्रिक शक्ति कमजोर बन्नु हो । सबै दलले आआफ्नो उमेरदवारी फिर्ता लिएर सहमतीको प्रयास थालनी गरिएका बेला त्यसलाई लत्याउने हो भने राष्ट्रिय सहमतीका लागि नेपाली कांग्रेस बाधक बनेको ठहरिने छ । जति पटक निर्वाचन हुन्छ त्यति पटक जनतामा निराशा छाउँछ, नेपाली कांग्रेस प्रतिनै बित्रिष्णा ल्याउँछ । गणतन्त्र प्रति षडयन्त्रका प्रयास दोहोरिने छन् । जनताले त्यसको जिम्मेवार पनि कांग्रेसलाई नै ठान्ने छ । त्यसैले अबको बिकल्प भनेको नेपाली कांग्रेसका रामचन्द्र पौडेललेपनि आफ्नो उमेरदवारी फिर्ता लिने । त्यसको लागि नेपाली कांग्रेस बाधक बन्नु हुँदैन ।

तपाइँको प्रतिक्रिया