भैंसीपूजनदेखि गणेशपूजनसम्म

-अकेला श्रेष्ठ

आठौं चरणको मतदान अर्थात आठौं चरणको अर्को गाईजात्रा असोजको १० गते हुँदै छ । बारम्बार दोहरिने यस्ता गाईजात्रा अझै कति दोहरिने हुन् र को को, कति कति पटक तटस्थै बस्नेहुन्, कुनै टुङ्गो छैन । यो पुनित कार्यमा न सिर्फ नेताहरु, बल्कि अन्तरिम संविधान पनि दोषी छ । अन्तरिम संविधानले नै यो गाईजात्राको प्रवन्ध मिलाएको हो । जतिपटक पनि मतदान हुनसक्ने र जो, जतिपटक पनि तटस्थै बस्न पाउने व्यवस्था नै अन्तरिम संविधानले गरेको छ । सरकार बनाउन अव या त दलहरु मिल्नैपर्दछ, या त संविधान नै संसोधन गर्नुपर्दछ, ताकि यो गाईजात्राको अन्त्य हुनसकोस । यो गाईजात्राले संविधान सभा, लोकतन्त्र र तथाकथित लोकतन्त्रका सम्वाहक दलहरु र दलका नेताहरुको नैतिकता र ईमान्दारीतामाथि सवालहरु मात्र उठेका छैनन्, अपितु मुलुक कतिखेर रणभूमीमा परिणत हुने हो भन्ने सन्त्राश समेत हुनथालेको छ ।

अमेरिकाको जुम्ल्याहा टावरलाइ अलकायदाले निसाना बनाएपछि नेपालका माओवादीको दुर्दिन सुरु भएको हो । त्यो हमलाको पूर्वसन्ध्यासम्म माओवादी सुरक्षित नै थियो । नाईन-ईलेभेनको आतङ्की हमलाको सिधा असर यहाँको जनयुद्धमा पर्‍यो । माओवादीमा पर्‍यो, जसले सेफ ल्याण्डिङ्गको बाटो रोज्न बाध्य पार्‍यो । बाह्रबुँदे समझदारी, बिस्तृत शान्ति सम्झौता त्यसैको परिणति थियो । कदाचित, समयमै लडाकुहरु युएनको छत्रछायामा नआएका स्थितिमा जे पनि हुनसक्दथ्यो । एक हिसावले त्यो समझदारी सबैको निम्ति सकारात्मकै थियो । परन्तु, जव रुक्माङ्गत कटुवालसँग उसको हैासियत सोधियो र कुनै दिन दिवङ्गत राजा वीरेन्द्रसँग आफ्नो कार्यगत एकता भएको बताउनेले सत्ताबाट हट्नासाथ राजतन्त्रको आलङ्कारिकताका लागि पूर्वराजा ज्ञानेन्द्र र उनका भक्तहरुसँग सहकार्यको योजना अघि सार्‍यो, त्यो नै उसको भूत, वर्तमान, भविष्यका लागि घाटाको सौदा थियो ।

अलकायदाको निसाना बनेपछि दिमागी सन्तुलन गुमाएको अमेरिकाले विश्वका ती समूहहरुमाथि पनि आफ्नो सिकञ्जा कस्न सुरु गर्‍यो, जुन समूहहरु आफ्नो अधिकारका खातिर लडिरहेका थिए । यीमध्ये हाम्रा माओवादी पनि थिए । उसँग अग्रगमनको एजेण्डा भएकाले जनताले उसको साथ दियो र प्रजातन्त्रको सिन्दुर लगाईदियो । जनताको त्यही सिन्दुर नै अमेरिकाको कोपभाजनबाट माओवादीलाइ बचाउने रक्षाकवच बन्यो । जनताले लगाईदिएको प्रजातन्त्रको सिन्दुरका कारण ऊ अमेरिका र बेलायत जस्ता शक्तिहरुको क्रोधबाट त बच्यो, तर आफ्नै घरका दाजुभाइबाट ऊ सुरक्षित हुन सकेन ।

शदियौ देखिको बिभेद र एकात्मक शासनले दिक्दार जनताको ठूलो हिस्साले संविधान सभाको निर्वाचनमा माओवादीलाइ रोजे, जुन समयको माग जस्तो प्रतित हुन्थ्यो । किनकि, मानिसहरु बदलाव चाहन्थे । बदलिन चाहन्थे । तर यथार्थमा त्यस्तो केही पनि थिएन । किनभने, जव उ २३८ सिट लिएर देशको सबैभन्दा ठूलो दल बन्यो र सत्तामा आयो, त्यसपछि मानिसहरुले धेरै कुरा जाने, बुझे । मानिसहरुले बुझ्दै गए कि जसलाइ, जुन उद्धेश्यपूर्तिका निम्ति सत्तामा ल्याईएको हो, ऊसँग त केही पनि थिएन । मानिसहरुले जान्दैगए कि जुन तामझामका साथ उसलाइ सिन्दुरेजात्रा गरेर सिाहरदरवार र बालुवाटारमा प्रवेश गराईयो, उसँग त दम्भ, द्वैश र हठ् बाहेक केही पनि थिएन । थियो त सिर्फ अग्रगामी परिवर्तनका खोक्रा बिचार र नारा । न त उसँग बदलावको कुनै ठोस योजना थियो, न त थियो कुनै प्रष्ट रोडम्याप नै । उसँग जे थियो, युद्धको धङधङी थियो । हतियारको दम्भ थियो । र थियो जनादेशको यस्तो तजुक्, जसले उसलाइ विवेकशून्य बनाईदियो । अर्थात, खाली दिमाग शैतानका बास !

सुरुमा त माओवादीले गर्नखोजेको र गरेको पनि राम्रै थियो, हो । जनयुद्धको मर्म र भावना पनि राम्रै थियो, हो । उसको त्यो बिजयको द्योतक बनेको पनि हो, थियो । त्यसैको जगमा उ देशको सबैभन्दा ठूलो बनेको थियो, हो र बालुवाटार छिरेको थियो, हो । उप्रति देश र जनताले ठूलो आसा गरेको थियो । धेरै सपना देखेको थियो र ती आसा तथा सपनाहरु साकार पनि हुन्थे होलान् । तर हुन सकेनन् । किनकि, अनपेक्षित हर्कत र प्रतिकृयावादी, यथास्थितिवादी तत्वहरुसँग हिमचिम बढ्दै गएर प्रकारन्तरतः उसको मतियारी राजावादी तत्वसँग पनि देख्न थालियो । स्थिति यो छ कि परिवर्तनका सम्वाहकहरुले खेपिरहेको बदनामी, उनीहरुमा आएको बिचलन, बिभाजन र ओह्रालो लागेको उसको लोकप्रियता आज कसैलाई हजम भैरहेको छैन, जो यहाँ शान्ति, संविधान र स्थिरता चाहन्थे ।

छोडेको वा छुडाईएको सत्ता हासिल गर्न माओवादीले कम्मरतोड कोसिस गर्‍यो । हनुमान गियर लगायो । अनेकौँ हत्कण्डा अपनायो । तर सकेन । किनकि, लडाकुको साख्या (शक्तिखोरमा छायाङ्कन गरेको भिडियोमा प्रचण्डले बताए मुताविकको साख्या), घरजग्गा फिर्ता र वाईसीएल बिघटनको अडानका साथ ईत्तर दलहरु सन्नी पक्रेर बसेका छन् र त्यो पकडलाइ एक ईञ्च पनि खुकुलो पार्ने मूडमा उनीहरु देखिँदैनन् । बल्कि अरु कस्दै लैजाने मूडमा उनीहरु छन् । किनकि, शान्तिप्रकृया र नयाँ संविधानको मुख्य साँचो नै त्यसमा छ । जेठ चौधको मध्यरातमा भएको तीन शर्तमा ईतर दलहरु चट्टान बनिदिनाले यतिखेर माओवादीको पूरै तन्तु नै जाम् छ । हलचलबिहीन छ । अव जतिसुकै चल्मलाए पनि, छटपटाए पनि र न्वारानदेखिको बल नै प्रयोग गरिए पनि हुनेवाला केही छैन । अव जे हुन्छ, सहमति, सहकार्य र एकताबाटै हुन्छ । अर्थात, अग्रगामी छलाङ मार्न खोज्नेहरु अव सुस्ताउनुपर्छ । आराम गर्नुपर्छ ।

यता, गिरिजाको शेषपछि नेपाली काँग्रेसमा पनि कट्टरपन्थीहरुको बोलाबाला बढ्नथालेको प्रतित हुन्छ र त्यसले न सिर्फ माओवादी, बल्कि जुनसुकै अतिवादीसँग पनि मुकाविला गर्न खोजे जस्तो देखिएको छ । त्यसलाइ महाधिवेशनले टुंग्याउने नै छ । परन्तु, आफुभन्दा दुई गुना ठूलो बलशाली पार्टीसँग एक्लै ट्याकल गर्नखोज्नु काँग्रेसको युवा पुस्ताकै लागि पनि फलामको चिउरा हो । यो बाहेक, सबै बाम एकै ठाम भए भने नेपाली राजनीतिमा नेपाली काँग्रेस एक्लो बृहस्पति बन्नसक्छ । सहमति, सहकार्य र एकताको दरकार अरुलाइभन्दा उसलाइ बढी छ । फरक सिर्फ यत्ति हो कि जनयुद्ध र जनआन्दोलनले उठाएका अहम् मुद्धाहरुको टुङ्गो चाँडै लागोस । 

आसा, भरोसा र ईज्जतका साथ बालुवाटार र सिाहदरवारमा छिराईएकाहरु जव बिना कुनै पूर्वसूचना, बिना कुनै आधार एकाएक सत्ताबाट बाहिरिए, मुलुकको बर्बादी त त्यसै दिनदेखि सुरु भयो । संविधान लेखनको दुई बर्षे म्याद सकियो । पुनः एक बर्ष थपियो । यो सरकारबिहीन अवस्था, कामचलाउ सरकार, पेश्की बजेट, पटक्कैपिच्छेको गाईजात्रे मतदान, शर्मनाक परिणाम र दृश्यहरु गरिमामय संसद भवनमा देखिए । त्यसपछि न सिर्फ संविधान सभा, छ सय एक सभासदहरु, दलहरु, नेताहरुप्रति मानिसहरुको बिश्वास उठ्यो, बल्कि राजनीतिप्रतिको वितृष्णा पनि बाक्लिँदै गयो ।

जनताले अव सवाल गर्नथाल्दैछन् कि यो वितृष्णा र वितण्डा कहिलेसम्म ? यो संविधान सभा, यसको अध्यक्ष लगायत छ सय सभासदहरु आखिर केका लागि ? अनमिनप्रतिको अबिश्वास, म्याद थपमा कचकच, राष्ट्र संघको गम्भिर ध्यानाकर्षण, भेटवार्ता, पचास करोडको डिमाण्ड गरिएको अडियो टेप, सरकारको छानविन आयोग, पूर्वराजा एवम् उनका भक्तहरुको हल्लाबोल, छिमेकी दोस्तहरुको चासो, चिन्ता र चलखेल सबै दृश्यलाइ नाङ्गो आाखाले देख्ने जो कोहीको मुखारबिन्दबाट आज एउटै मन्त्रोच्चारण सुनिन्छ-थुक्क माचिसका खोलहरु !

प्रतिकृयावादी, बिस्तारवादी एवम् यथास्थितिवादी तत्व जे जे भने पनि उनीहरुले चाहेको पनि यही थियो कि माओवादीलाइ कसरी हुन्छ बदनाम गराउने, थकाउने, गाल्ने र सिद्ध्याउने । यो बदनामी उसको आफ्नै आर्जन हो । आाशिक हिस्सा मात्र ईत्तर दलहरुद्वारा उत्पादित छन्, जसलाई कम गर्न ऊ नयाँ जनादेशमा जाने आाट गर्नसक्नुपर्दछ । तर सक्तैन । किनकि, उसले बुझेको छ कि प्राप्त जनादेश छाडेर नयाँ जनादेशमा जानु र आत्महत्या गर्नु एउटै कुरो हो । भिन्न होईन । तर यो गाढा र बाक्लो बदनामी पखाल्न उसले पुनः रगतको खोलो बगाउनुपर्ने पनि हुनसक्दछ ।

पचास लाख जाने टाउकाभित्र पचास ग्रामको गिदी र बुद्धि भैदिएको भए जनयुद्ध र जनआन्दोलनको म्याण्डेट प्राप्त शक्तिशाली सिंहासन त्यागेर सडकमा पक्कै गइहाल्दैनथ्यो र गईसकेपछि त्यही सिंहासनका लागि सबैथोक दाउमा राखिनै हुँदैनथ्यो । सिंहासनको पुनः प्राप्ती हेतु शनिदेव रिझाउन भैसीपूजनको यात्रा माओवादीले सुरु गरे पनि शनिदेव उदेखि अलि ज्यादा नै रुष्ट रहेको हुँदा उनको मनोरथ अझै पूरा हुनसकेको छैन । परन्तु, पूर्वराजा जुन बिध्नहर्ता गणेशको पूजामा व्यस्त छन्, त्यो पूजाबाट प्रसन्न भएर बिध्नहर्ताले कुनै अन्ट सन्ट बरदान दियो र पुनः यहाँ अर्को ताण्डव मच्चियो भने त्यसको उत्तरदायित्व उसले लिनुपर्ने हुन्छ । यो रिक्तता, तिक्तता, यो दण्डहिनताको उत्तरदायित्व लगायत भोली यो देश रणभूमीमा परिणत भयो ।

तपाइँको प्रतिक्रिया