टिक्दैन माओवादी-एमाले गठबन्धनपनि

सात पटक सम्म प्रधानमन्त्रीको निर्वाचन हुँदापनि पराजय भोगेपछि माओवादी अहिले एमालेसित मिलेर सरकार गठनमा लागेका खबर बाहिर आएका छन् । संबिधान सभाको निर्वाचनपछि २२ दलको समर्थनमा सरकार बनाउँदापनि माओवादी नेत्रित्वको सरकारले प्रशंसा गर्न लायकको काम गर्न सकेको थिएन ।  प्रधान सेनापति प्रकरणमा सरकारबाट राजिनामा दिएपछि राष्ट्रिय सरकार वा आफ्नै नेत्रित्वमा बहुमतको सरकार बनाउने प्रयास पटक पटक असफल भएको हो । त्यसपछि बनेको एमाले नेत्रित्वको बहुमतिय सरकारपनि सफल हुन सकेन । अहिले फेरि एमालेसित एमालेसित मिलेर बहुमतिय सरकार बनेपनि त्यसले देशका समस्या हल गर्न सक्दैन ।

नेकपा (माओवादी), नेपाली कांग्रेस र नेकपा (एमाले) शान्ति संझौता र देशमा गणतन्त्र ल्याउने प्रमुख हस्ति हुन् । यि पार्टी मिल्दा मात्रै देशका प्रमुख समस्या हल गर्न सक्छन् । जब यि आपसमा फुट्छन्, प्रतिद्वन्दि बन्छन् तब देशका मूल समस्या ज्युँका त्युँ रहन्छन् भन्ने यस अघि बनेका सरकारबाट स्पष्ठ भैसकेको छ ।

माओवादी र एमाले गठबन्दन सरकार पहिलो त बन्नै मुस्किल छ । किनभने नेकपा एमालेमा ओली र माधव नेपाल पक्ष संसदिय समीतिमा बलिया छन् । ओली-माधव गुटका रुपमा चिनिने यो पक्ष कुनैपनि हालतमा माओवादी र एमाले गठबन्धन चाहँदैन । बरु ओली पक्ष त नेपाली कांग्रेससितै मिलेर सरकार बनाउन चाहन्छ । आफ्नो नेत्रित्वमा सरकार बन्न नसक्ने अवस्थामापनि यो पक्ष कांग्रेसलाई सहयोग गर्न चाहन्छ । यदि माओवादीसित सहमती गरेर गठबन्धन सरकार निर्माण भैहालेपनि यो पक्षले असहयोग गर्ने छ । सरकार बन्नासाथै असफल बनाउने र सरकार गिराउने खेल शुरु हुने छ । सत्ता गठबन्दनको साझेदार पार्टीकै शक्तिशाली नेताहरु त्यस बिरुद्दमा लाग्दा लाग्दै  त्यो सरकारले गतिलो काम गर्न सक्दैन ।

अर्को तथ्य के पनि हो भने अहिले जुन पार्टी सरकार बाहिर बस्छ उसले अरु पार्टीलाई सहज तरिकाले सरकार चलाउन दिने छैन । अनेक बाधा ब्यवधान, अड्चन हालेर त्यसलाई असफल बनाउन शुरु भैहाल्छ । सरकारमा रहेर प्रतिद्वन्दिलाई शान्ति संझौता टुंगोमा पुर्‍याउने र संबिधान बनाएर जस लिन दिने पक्षमा कुनैपनि पार्टी छैनन् । हिजो नेकपा माओवादीले सरकार बनाउँदा नेपाली कांग्रेसले त्यसै गरि अनेक बखेडा झिकेर असफल बनाउने कोसिस गरेको थियो भने कांग्रेसको समर्थनमा एमाले,नेत्रित्वको सरकारलाईपनि नेकपा माओवादी र सरकार बाहिर रहेका मधेशी दलले त्यसै गरेका थिए । त्यसैले दलहरुले कम्तिमा के बुझ्नु पर्छ भने शान्ति संझौता र देशबाट राजतन्त्र फालेर गणतन्त्र ल्याउन प्रमुख भूमिका खेलेका दलहरु फुटेर यदि बहुमतको सरकार बनाउने खेलमा लाग्छन् भने ति फेरीपनि असफलनै हुन्छन् । कम्तिमा नयाँ संबिधान बनाउन र शान्ति संझौतालाई पूर्णता दिएर नयाँ निर्वाचन गराउनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एमाले मिल्नै पर्छ । यि मध्ये कुनैपनि एक दललाई पन्छाएर बाँकि दुई दल सफल हुनै सक्दैनन् ।

तपाइँको प्रतिक्रिया