दलितका नाममा गैह्र सरकारी संस्था: अमेरिका भासिने मेसो

-सरोजदिलु विश्वकर्मा

सामाजिक विकासको क्षेत्रबाट दलित समुदायको विकास गरौं, अधिकारको वोध गरौं उदेश्यले स्थापित भएको हो, दलित गैरसरकारी संस्था । सायद तत्कालीन समयमा मोती नेपालीहरूले सदियौंदेखि शोषण दमन र परम्परावादी शासकहरूको चंगुलमा जाकिएका दलितहरूलाई सानै क्षेत्रबाट भएपनि अधिकारको वोध गराऔं र विकासको लाभमा यी निमुखा र वञ्चित दलितहरूको पहुँच वृद्धि गरौं भन्ने उदेश्यले यस महासंघलाई जन्माए होलान् । यसको प्रस्तावनामा यही लेखिएको छ । सायद ती मध्येका केहीले यसलाई अमेरिका र युरोप छलाड् मार्ने उत्तोलक बनाउन सकिन्छ भन्ने भित्री स्वार्थपनि बोकेका थिए होलान् ।

त्यसैले एउटा उच्च हैसियत पाउँदा पाउँदै डिबि सागर अमेरिका पलायन भए, उनीसँगै यसैलाई आधार बनाएर अन्य केहीले फड्को मारे । पछिल्लो समयमा मेरा अति आदरणीय मित्र, हाम्रै पार्टी वरिष्ठ कार्यकर्ता तीर्थ वर्मा दलित समुदायको टुप्पीलाई लहरो बनाई जसले जेसुकै भनुन्, कानमा ठेडी हालेरै उछिटि्टइसके । अव अन्य समाजसेवक दलित आन्दोलनका हर्ताकर्ता ठेकेदार भनिनेहरु पनि त्यही मौकाको पखाईमा छन् । छट् पर्यो मछली फट् मारो वल्छी । अनि म चैँ के भुत्रो हेरेर बसिरहेको ? मेरा मन मथिङ्गललाई यिनै प्रश्नहरुले घेरावन्दी गरिरहेका छन् ।

अलिअलि पैसा, अलिअलि चाकडी, अलिअलि इन्टरनेटमा खेल्न जाने अमेरिका जान त सजिलै रैछ । यद्यपि, मैले यो राष्ट्रको नुन खाएको छु, दलित समुदायको ऋण खाएको छु । तसर्थ मलाई लाग्छः पलायन हुनकै लागि अमेरिका नजादैं ठीक हुन्छ । तर हिजो मसँग २ रुपैयाँ मागेर दुनोट खाई भोकमार्ने दलितहरुले आज अमेरिका पुगेर दिश टायम फर अमेरिका भनेर दलित इन्फो मार्फत छाउँदा भने एक किसिमको ईर्ष्या चैँ जाग्दो रैछ । इन्फोले अमेरिका र युरोप पलायन हुने मोह भएकाहरु सवैलाई यसरी नै लोभ्याउँछ । यतिका लगान र समर्पणका वावजुद जावो गैरसरकारी महासंघको चुनावसमेत हराउने दलितहरुले अड्डा जमाएको दलित आन्दोलनलमा केही निराशा चैँ हुँदो रैछ । जवकि महासंघलाई अमेरिका पलायन गराउने माध्यम हुनबाट रोक्न र महासंघलाई स्थापनाको मूल ध्येयका साथ अगाडि बढाउन हामी जस्ता व्यक्तिहरू महासंघमा जान सक्नुपर्दथ्यो । तर विडम्बना, दलित आन्दोलनलाई सशक्त र एकतावद्ध हुन नदिने, यसलाई आफ्नै घैँटोको घीऊ बनाउन चाहने कुदलितहरुले महासंघलाई वैमानहरु मात्रै जित्ने, अघाउन्जेल खाने अनि दुर्गन्धित भएर भाग्नेहरुको अखडा बनाईदिए ।

तर मोही र घिऊ खान महासंघमा पालेका ती भैँसीहरूले घिउभन्दा गन्हाउने गोबर बढी दिए । मोही र घिऊ त तीनै भेसीको पाडापाडीहरुले पनि अच्छा गरि खान पाएनन् । नपत्याए, कुना कुनामा अड्डा जमाएर खुराफातीको राजनीति गर्ने त्यसता कुदलितहरुले गएर महासंघको भित्ता भित्तामा नाक जोतेर सुँघे हुन्छ, तिमीहरूले जिताएका र जिताउन खोजेका उमेदवारले कहाँ केकति मानव गोबर गोब्य्राएर गए । तिमीहरूका ती पूज्य भेसीहरू वास्तवै एमाले थिए या नक्कली एमाले । नयाँ पदाधिकारीलाई अहिले ती मोटा भुँडीवाल भैँसीहरूको गोवर सोहोर्न हम्मे हम्मे परेको छ । जसले आफू बाहेक कसैलाई एमाले बनाएनन् बरु ती छाडा राँगाहरुको आचरणले सयौं एमालेहरू वेमाले हुन वाध्य भए भने ती राँगा भैँसीहरूले ४।४ वर्षसम्म आफ्ना जोईपोइहरूको गाला चाट्ने चौतारी बनाए, महासंघलाई । वाकी कुनै एमाले कार्यकर्तालाई नजिक बसेको देख्न पनि चाहेनन् । बरु तिनले हिजोका सामन्त, निरंकुशतावादी र एमाले विरोधीलाई संरक्षण दिन पुगे । आफैँले समर्थन गरेकाहरु, यस्तो कटु आलोचना गर्दा आफैँलाई दुःख लाग्छ । तर तत्कालीन महासचिव उर्फ कार्यकारी अध्यक्ष बोमवहादुर विक र उनका दस्ताका केही सदस्यहरू सक्कली एमाले हुनै नसकेकाले कसैगरी तिनलाई हराउनै पर्थ्यो । त्यो दस्ताका सदस्य सचिव तिर्थ वर्मा त एमालेभित्रको एउटा अवसरवादी कलंक नै थियो, जसको वैयक्तिक चिन्ता बाहेक केही थिएन भन्ने कुरा उसको अमेरिका पलायन र नेपालमा आर्जेका श्रोत साधनले स्वतः प्रमाणित गर्दछ । तथापि, त्यो दस्ता भित्रका सदस्यहरू फेरिपनि कार्यकारी पदमा आइ छाडे, जो हिजो आफ्ना माऊसँगै बसेर महासंघको भित्ता भित्तामा गोब्य्राउँदै थिए । तर विचराहरु आज आफैले गरेको आची देख्दा पनि संकोच मान्दैनन् ।

आज महासंघ धराशायी अवस्थामा पुगेको छ । अख्तियारले खातापाता रोकि दिएको छ । कर्मचारीले महाधिवेशनभन्दा अगाडिदेखि तलव खान पाएका छैनन् । चालू परियोजनाहरू रोकिएका छन् । नवीकरण नभए नयाँ परियोजनाहरू आउनेवाला छैनन् । सिडियो कार्यालयले नवीकरण गर्न मान्दैन । जवकि, करिब ५ लाख कर तिर्नै बाँकी छ । भेन्डरबाट उठाइएको कर र आन्तरिक कोषको करिब १२ लाख रकम उनै वोमवहादुर दस्ताले पेश्की लगेर राफसाफ् गरेको छैन । पछ्र्यौट नगर्नेहरु मध्ये केही वर्तमान कार्यसमितिमै छन् । तिनिहरू निसंकोच भनिरहेका छन् हार्ने र भाग्नेहरुलाई ल्याऊ र तिनैबाट असुल गर । तीनै पाडापाडीहरु महासंघ अव चल्दैन भनेर स्वयम् स्विकार्दै पनि छन् । अझ भनौं भने चलाउन सक्दैनौ भनेर जान्दा जान्दै तिनिहरू हिजो प्रतिस्पर्धामा उत्रिएका थिए । मिशनविना चुनाव जित्ने यस्ता भैसीपुत्र र पुत्रीहरूको लक्ष्य नै खानु र गोब्र्याउनु बाहेक केही हुँदैन । तिनैहरु निर्लज्ज हरिया दाँत देखाएर महासंघभित्रै हिहिहिहि गरिरहेका छन् । माननीय मन्त्री जितुँ गौतम, जसलाई मन्त्रीदेखि मुक्ति समाजको अध्यक्ष बनाउनसम्म हाम्रो जोड भयो, उनैले एउटा कुनामा बसेर तीनै पाडापाडीहरुलाई एमालेको नाममा टिका लगाएर महासंघमा पठाए । अझ भनौ भने गौतमलगायतका एमालेहरूले आफ्ना उमेदवारहरू भ्रष्ट र नैतिक हराम भनेर जान्दा जान्दै तिनैलाई अगाडि सारे, जुन एमालेपना थिएन । अतः महासंघलाई गोबरवीन बनाएकोमा उनले जिम्मा लिने कि नलिने ?

जोश र जाँगरकासाथ महासंघलाई हाँक्ने मिशन बोकेर आएका नयाँ पदाधिकारीहरू आफ्नै पददेखि निराश छन्, आज । अव महासंघका संस्थापक योजनाकारवीचमा डिएन्एफ् कसरी चल्छ भन्ने विषयमा चिन्ता हुन थालेको छ । केही चैँ महासंघमा अरूले गरिदेला, ल्याईदेला अनि भाग बसौला, नदिए झगडा गरौला भनेर आँ गरेर मुख वाईरहेका छन् । ती मध्येका कोही आज डिबि सागर र तिर्थ वर्माहरूलाई बारम्बार मेल पठाइरहेका होलान्, कन्ग्राचुलेशन माथि कंड्ग्राचुलेशन थपीरहेका होलान् । त्यसको अर्थ हो हामी पनि तिम्रै वाटोमा छौं, मौका मिले उतै भेटौला भन्ने नै हो । जवकि, हिजो वाहुनका छोराहरू पण्डित बन्न काशी, बनारस जान्थे, संस्कृत पढेर आउँथे र आफू अनुकूलका नियमहरू बनाउन सामन्तहरूलाई सहयोग पुर्‍याउँथे । तिनको ठूलो महत्व हुन्थ्यो तर ती पण्डितबाट दलित, जनजाति, महिला तथा अन्य निमुखाहरू शोषित हुनुपर्दथ्यो । आज त्यसैगरी महापण्डित हुने नाममा विदेशिने प्रचलन बढेको छ । तिनिहरूले नेपालमा आएर यिनै देशी विदेशी शासक सामन्तहरूको जागिर खाएर फेरिपनि गरिब, दलित उत्पीडित माथि रजाई गर्ने हो, हाम्रै टाउका गन्ने र आफूहरूलाई नव सामन्त बनाउने हो । 

जाउन् अमेरिका वा त्योभन्दा उच्च कोटीमा । कोहीवात छैन । किनकी ६० लाख भन्दै दलितका टाउका गन्दै मानव-गोवर मोचन गरेर भाग्नेहरु जरुरत नै छैन यहाँ । यस्ता खोटी चिन्तन भएकाहरु अझ छन् भने भागीहाले हुन्छ । जवकि तिनिहरूको विस्थापन नै दलित आन्दोलनको संस्थापन हो । त्यसैले एमाले होऊन् या अन्य, दलित आन्दोलनलाई अक्षुण्ण राखि राख्न महासंघलाई राष्ट्रवादी दलितको साझा चौतारी बनाऔं । किनकी सबै राजनीतिक दलका दलित संगठनलाई जोड्ने र आन्दोलनको मुलधारमा ल्याउने कार्यमा महासंघलाई जिवितै राख्नुपर्छ । मलाई माओवादीको आरोप लगाउने जितु मार्काहरूले पनि यथार्थमा एमालेलाई निष्कलंक राख्ने हो भने यी सुझावहरूलाई मनन गरिबक्सिउन् । होइन भने आफ्नाहरूले महासंघमा गोब्य्राएकोले दुर्गन्ध सफा गर्न जाऊन् ।

तपाइँको प्रतिक्रिया