कांग्रेस भन्दा मधेशी मोर्चा पो राष्ट्रवादी ?
प्रधानमन्त्री पदका लागि कांग्रेस र माओवादीले लत्तु छाडेको देखिएको थियो । प्रजातान्त्रिक दलहरूको मत बाँडिएको मौका पारेर मधेशी मोर्चाहरूले धमिलो पानीमा माछा मार्न खोजेका थिए । सत्ताको लोभमा कतै कांग्रेस र माओवादीले मोर्चाका देश विखण्डन गर्ने सम्मका माग स्विकार गर्छन् कि भन्ने त्रास थियो । तर नेपाली कांग्रेसले भने त्यो आत्मघाती कदमलाई स्विकार गरेन । बरु केन्द्रीय समितिबाट छलफल गराएर निर्णय गर्ने र अन्य दलसितपनि छलफल गर्ने निर्णय गर्यो । मधेशी मोर्चाका माग कांग्रेसले अस्वीकार गरेपछि अब एनेकपा माओवादीको परीक्षा हुने भएको छ ।
मधेशीका मागलाई स्विकार गरेर भएपनि सरकार बनाउने माओवादी निर्णय प्रचण्डले गरेका थिए । तर माओवादीभित्रैपनि त्यो निक्कै आलोचित बनेको छ । माओवादीमा अहिले तिब्र छलफल भइरहेको छ । एकथरी अहिले माओवादीको सरकार नबने शान्ति संझौता टुंगोमा नपुग्ने, सेना समायोजन पनि नहुने र संविधान नबन्ने तर्क गरिरहेका छन् । अर्का थरी मधेशीका मोर्चाका मागलाई स्विकार गरेर सरकार बनाए पार्टी सँगै राष्ट्रियतापनि गुम्छ भन्ने तर्क गर्दै स्विकार गर्न नहुने अडानमा छन् ।
त्यसमा कुन पक्षले जित्छ, के निर्णय हुन्छ हेर्न बाँकी छ । तर नेपाली कांग्रेसले समेत मधेशी मोर्चाका केही माग राष्ट्रियतासित जोडिएकाले तत्काल पुरा गर्न नसकिने भन्दै अस्वीकार गरेपछि नेकपा माओवादीमाथि नैतिक दबाब पर्ने निश्चित छ । तरपनि हिजो माओवादीका नेता अग्नि सापकोटाले एमाले र मधेसवादी दलले सही निर्णय गरे राष्ट्रियताको रक्षा हुनसक्छ भन्दै ती दललाई आफ्नो पार्टीका पक्षमा उभिन आग्रह गरे । यसबाट उनको भनाईमा नेपाली कांग्रेसभन्दा मधेशवादी दल राष्ट्रियतावादी भन्न खोजेको बुझिन्छ । त्यसले पनि माओवादीले मधेशी मोर्चाका माग कतै सहर्ष स्विकार त गर्ने होइनन् भन्ने आशंका उब्जाउँछ । माओवादीको सरकार बनाउन सहयोग गरे राष्ट्रवादी र असहयोग गरे अराष्ट्रिय भन्न मिल्दैन । कुनैपनि दल राष्ट्रियताका पक्षमा कहाँ उभिन्छ भन्नेमा भर पर्छ । देशको राष्ट्रियतालाई कसैको सरकार बन्नु र नबन्नुसित मात्रै जोडेर हेर्न मिल्दैन ।
उनको त्यो भनाईसित कुनैपनि हालतमा सहमत हुन सकिन्न । किनभने राष्ट्रियताको विषयमा नेपाली कांग्रेसको अनुपातमा मधेशवादी दल हुनै सक्दैन । धेरै घुमाउरो गरि लेख्दै पर्दैन । अहिले मधेशबादी दलले राष्ट्र टुक्र्याउन मोर्चा कसेका छन् भने नेपाली कांग्रेसले त्यसको विरोध गरेको छ । मधेशी मोर्चाको बिखण्डकारी शर्तलाई अस्विकार गरेको छ । मधेशी मोर्चाका दलहरू प्रजातान्त्रिक धारका पार्टीहरू विभाजित भएको मौकामा देश टुक्र्याउने शर्त राखेर बसेका छन् । तिनले आम नेपालीको हितका लागि अरु कुनै माग देखेका छैनन् । तिनको पहिलो र अन्तिम भन्नु नै एउटै ध्येय छ मधेश टुक्र्याउने । अनि के ती पार्टी भन्दा अझ अराष्ट्रियतावादी हो नेपाली कांग्रेस ? सत्ता र कुर्सीकाकालागि के माओवादी नेताले यतिसम्म तल ओर्लेर कांग्रेसलाई टाढा र मधेशी मोर्चालाई नजिक बनाउन सुहाउँछ ?




