माओवादी फुटाउन भट्टराईलाई प्रधानमन्त्रीको प्रस्ताव ?

माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईलाई प्रधानमन्त्रीका रूपमा हेर्न चाहने जनमतको संख्या उल्लेखहरूमा देखिएको छ । मधेशवादी लगायतका केही दल सहित एमाले र नेपाली कांग्रेसले समेत माओवादी अध्यक्ष पुष्पकमल दहाललाई कुनैपनि हालतमा नस्विकार्ने बरु बाबुराम भट्टराईलाई स्विकार गर्न सकिने बताएपछि त्यो जनमत चुलिएको हो । उनले अर्थमन्त्री हुँदा प्रतिपक्षीले दिएको चुनौतीलाई चिर्दै केही सकारात्मक काम गरेकालेपनि जनमानसमा बाबुराम भट्टराईतिर सकारात्मक आँखा सोझ्याएका हुन् । आफ्नै पार्टीको लोकप्रिय नेता प्रधानमन्त्री हुने पक्कानै थियो भने माओवादीले किन त्यो मौका गुमायो ? तर के साँच्चिनै बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको उमेदवार बनाएको भए कांग्रेस र मधेशवादी दलहरुले स्विकार गर्थे त ?

बुझ्नु पर्ने कुरा के हो भने पार्टीबाट जो सुकै जुन पदमा रहेपनि व्यक्ति विशेषको निर्णय चल्दैन । पार्टीले दिएको निर्देशन अनुसार चल्नुपर्छ । त्यो अवस्थामा प्रधानमन्त्री भट्टराई भएको भए आफ्ना केही नयाँ अक्किल र योजना सायद लागू गर्न सक्दा हुन् । नत्र समग्ररुपमा उनलेपनि पार्टीकै निर्देशनमा सरकार चलाउने हो । दाहाल प्रधानमन्त्री भएपनि उही पार्टी निर्देशनमै । कटुवाललाई बर्खास्त गर्ने निर्णयमा प्रधानमन्त्रीका रूपमा दहाललाई दोषी देखेपनि त्यो निर्णय समग्र पार्टी निर्णय थियो । त्यो ठाउँमा यदि भट्टराई प्रधानमन्त्री हुन्थे भनेपनि उनले त्यही निर्णय नगरि धरै थिएन । त्यसैले यदि कुनैपनि व्यक्ति उसको पार्टी निर्णय अनुसार चल्छ भने भट्टराई र दाहाल प्रधानमन्त्री हुनुमा के भेद रह्यो ?

पार्टीमा सरकारको अर्को पक्ष हो भारतीय प्रभाव । माओवादीमा डा बाबुराम भट्टराई भारतप्रति बढि नरम भनेर आरोपित हुँदै आएका छन् । त्यसका केही कारण छन् । संसदीय दलसित मिलेर राजतन्त्र फाल्ने, संसदीय राजनीतिमा भाग लिने पार्टीगत नीति बाबुराम को हो । माओवादीले गत संविधान सभाको निर्वाचनबाट प्रमुख दल बन्दापनि सरकार चलाउन नदिएको, नपाएको द्रिष्टान्त अनि अहिलेसम्म गरिएका सडक आन्दोलनबाट शून्य हातलागी भएपछि उनको नीतिको आलोचना हुँदै आएको छ । पार्टी अब संसदीय दलदलमै भासिने हो कि भनेर चिन्ता गर्नेहरु बढिरहेका छन् । त्यसैले पार्टीका कडा मार्गका भनेर चिनिनेहरु फेरीपनि उनलाई बलियो बनाउन चाहँदैनन् । हुन त संसदीय राजनीतिमा आउने दोष भटराई एक्लैमाथि लगाउनु उचित होइन नै । किनभने त्यो समग्र पार्टी ले नै निर्णय गरेको हो । उता प्रचण्डलाई नै प्रधानमन्त्रीको उमेदवार बनाउने निर्णयपनि प्रचण्ड एक्लैले गरेका होइनन् । केन्द्रीय समितिबाटै पास भएको हो ।

त्यसो त भट्टराईलाई भारतीय प्रभावको भनेर आलोचना गर्नुकापनि केही कारण छन् । माओवादीका आधा दर्जन भन्दा बढि नेता संकटकालको बेला भारतको पटनामा पक्राउ परे । त्यति बेला एकै ठाउँमा सँगै भएका मध्ये बाबुराम भट्टराईका निकट मानिने देवेन्द्र पौडेल (अहिले पोलिटब्युरो सदस्य), देवेन्द्र पराजुली लगायतका केही नेतालाई भारतीय प्रहरीले पक्राउ नगरेकोले त्यसमा भारतीय घुसपैठ भएको आरोप अहिलेसम्म लागिरहेको छ । त्यो घटना पार्टीकै केही नेताको सुराकीबाट गराइएकोले त्यसको  छानबिन गरेर कारवाही गर्नुपर्ने माग उठ्दा बाबुराम भट्टराई पक्षलेनै बचाउ गरेको आरोप छ । त्यस घटनापछि यो स्वयं माओवादीकै केन्द्रीय सदस्यबाटै सार्वजनिक गरिएको हो जनआस्था लगायतका पत्रपत्रिका र किताब मार्फतनै ।

संकटकाल लगाएर माओवादीलाई आतंककारी घोषणा गरेका बेला भारतमा माओवादी नेतालाई खोजी खोजी पक्राउ गर्ने । तर त्यही संकटकालका बेला केन्द्रीय सदस्य वामदेव क्षेत्री भने भारतीय सरकारी सेवामा रहेछन् । उनलाई भने भारतीय प्रहरीले किन केही गरेन ? यसलाईपनि माओवादीका केन्द्रीय तहका नेताहरूले बारम्बार उठाएका हुन् । पक्राउ परेका मध्येपनि प्रचण्ड र वैद्य पक्ष भनिनेहरुलाई व्यापक यातना दिने तर बाबुराम पक्ष भनिनेहरुलाई कम यातना दिने गरेकोपनि सार्वजनिक भएकै हो ।  त्यसैले भट्टराई प्रधानमन्त्री बने भने भारतीय प्रभाव अझ बढ्छ भन्ने धार बलियो छ ।

भट्टराईको जनमानसमा प्रभाव बलियो देखिएपनि पार्टी पंक्तिमा कमजोर छ । पार्टीमा अहिलेसम्मपनि कडा लाईनका भनेर चिनिने वैद्य समूह बलियो छ भट्टराई भन्दा । अझ त्यसमा अहिले त प्रकाश श्रेष्ठ पक्षहरू थपिएका छन् । उनी प्रचण्डका निकट छन् । श्रेष्ठको पक्षले प्रचण्ड पछिको पार्टी अध्यक्ष प्रकाशलाई उभ्याउने कोसिस गरेका छन् । त्यसका बारेमा नेपाल कम्युनिष्ट पार्टीका एक मात्र जीवित नरबहादुर कर्माचार्यले ‘प्रचण्ड पछिको नेत्रित्व लिन सक्ने तगडा नेता प्रकाश नै हो’ भन्दै सार्वजनिक गरिसकेकै हुन् । त्यसैले माओवादीका तिन उपाध्यक्ष मध्ये प्रतिस्पर्धा हुनु स्वाभाविक छ । एकले अर्कोलाई आफू भन्दा शक्तिशाली पदमा जान रोक्नु पनि उत्तिकै स्वाभाविक छ । पार्टी पंक्तिमा उत्तिकै बलिया रामबहादुर थापा ‘बादल’ त झन भैहाले।

संयोग हो वा वास्तविकता, संकटकालका बेला पार्टी छोडेर भाग्ने र पलायन हुनेपनि बाबुराम भट्टराई पक्षकै धेरै देखिएकालेपनि उनको स्कूलिङको आलोचना हुने गर्छ । संकटकालमा पक्राउ परेका रेखा शर्मा र क्रिष्णध्वज खड्काले सेनाको भेषमा पार्टी नेता पक्राउन सेल्टरमा सेना लिएर जाने गरेको आरोप थियो र पार्टी कारबाहीमा थिए । खड्का र रेखा शर्माले त पार्टी हेडक्वाटरनै ताकेर सेनालाई लगेको आरोप लागेको हो । पार्टी खुला राजनीतिमा आएपछि तिनलाई पार्टीमा भित्र्याउन भट्टराइनै लागि परेछन् । उता मुमाराम खनाल, मुक्ति प्रधान, मणी थापा जो पार्टीबाट पलायन भए ति सबै भट्टराई पक्षकै मानिन्थे ।

हुन त प्रचण्डले पनि नगरेका होइनन् । तैपनि भट्टराई माथि पार्टीमा कार्य मूल्यांकन र क्षमताका आधारमा भन्दा निकटताका आधारमा पदोन्नति गर्ने अनि आसेपासेहरुलाई निकट राख्ने प्रव्रित्ती छ भन्ने आरोपपनि लाग्ने गरेको छ ।  सरकारमा हुँदा हिसिला यमीले खानेपानी संस्थान र नेपाल वायुसेना निगममा मनलागी आफन्त भर्ती गर्दा आँखा चिम्लिएको आरोप लाग्छ । यमीको भर्ती प्रकरणले त्यति बेला नेपाली सञ्चार माध्यममा निकै आलोचना खेपेको हो ।

दुई ठूला छिमेकी देशसित द्वन्द्व बढाएर भन्दा तिनलाई विश्वासमा लिएर, चलाखीपूर्ण नीति अपनाएर फाइदा लिनुपर्छ भन्ने पक्षमा छन् बाबुराम भट्टराई । जुन वास्तविकता हो । तर त्यही पक्षलाई पार्टीमा उनका आलोचकहरूले भारतसित निकट हुनका लागि भनेर आरोपित गर्छन् । त्यसलेपनि उनलाई सायद कमजोर बनाउनै बल पुग्छ ।

अहिले बाबुराम भट्टराईलाई प्रधानमन्त्रीका रूपमा उभ्याउनुका पछाडि दुई कारण देख्छन् माओवादीहरु । पहिलो पक्ष त भट्टराईलाई प्रधानमन्त्री बनाउनैका लागि नभएर पार्टीमा द्वन्द्व गराउनु । उनलाई उमेदवार बनाएको भएपनि मत दिँदैनथे भनिन्छ । त्यसले गर्दा एक त पार्टीमा द्वन्द्व चर्काउने थियो । अर्को लोकप्रिय नेतालाई अलोकप्रिय बनाउनु । अर्को पक्ष उनलाई प्रधानमन्त्री बनाउन खोज्नु माओवादी पार्टीलाई पुरै संसदीय भासमा फसाउनु र यदि माओवादीकै प्रधानमन्त्री बन्नु छ भने भारतीय प्रभावका भनेर चिनिएका उनलाई विजयी गराएर भारतीय हात माथि पार्नु ।

हुनत माओवादी भित्र बाबुराम भट्टराईमाथि लगाइने गरेका त्यस्ता कतिपय आरोपहरू निराधार र उनको बढ्दो लोकप्रियतालाई खस्काउनैका लागि पनि हुन सक्छ । तर पनि ति आरोपहरू माओवादीभित्र उचालिने र चर्चा भने बारम्बार हुने गर्छन् । जसले गर्दा भट्टराईलाई सायद कमजोर बनाउने गर्छ ।

बाहिर जतिसुकै आलोचना भएपनि प्रचण्ड अझैपनि सुझबुझपूर्ण, सबैलाई मिलाएर लैजान सक्ने, कठिन अवस्थामापनि नआत्तिने, संयम, चलाख, संकटपूर्ण अवस्थामा स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाले झैँ जिम्मेवारी लिने र एक्लैपनि निर्णय गर्न नडराउने नेताका रूपमा चिनिन्छन् । अहिलेको अवस्थामा भट्टराईलाई नउभ्याएर प्रचण्डलाईनै अघि सार्नु त्योपनि अर्को कारण हो ।

तपाइँको प्रतिक्रिया