साँच्चै चुट्ने बेला आएको हो नेताहरूलाई ?

केही महिना अघि चितवनका एक मित्र दलु पुनले लेखेका थिए- अब नेताहरूलाई चुट्ने बेला आ’को छ भनेर । उनी इराकमा काम गर्थे सुरक्षा गार्डका रूपमा । नेपालको शान्ति देखेर सायद उनी हौसिए । विदेशी मुलुकमा भन्दा स्वदेशमै भविष्य देखे । र फर्के उनी । तर फर्केको केही समयमा हाम्रा नेताको पारा देखेर उनी आजित भएछन् । वाक्क दिक्क भएर उनले नेतालाई चुट्नुपर्ने तर्क गरेका थिए । उनले त्यो लेखेको झन्डै वर्ष दिन पुग्दापनि नेपालको शान्ति प्रक्रिया जहाँ को त्यहीँ छ । देश झन् ओरालो लागिरहेछ आर्थिक रूपमा । बितेका दुई वर्ष झण्डै बेक्कारमा बिते भन्दापनि हुन्छ । अनि यसको अर्थ के त अब साँच्चै नेतालाई दलु पुनले भने झैँ चुट्नुपर्ने बेला आएकै हो ?

प्रधानमन्त्री माधव नेपालले राजीनामा नदिएसम्म अनेक खालका बन्द भए । हडताल गरिए । बन्द, हड्ताल, चक्काजाम र आम हडतालका नाममा देशको करोडौँ सत्यानाश भयो । हजारौं जनताले दुख पाए । सास्ती भोगे । माधव नेपालको राजीनामा माओवादीको एक सूत्रीय माग बन्यो । मधेशी जन अधिकार फोरमले त्यही मागलाई रटान दिएर उचालिरह्यो । प्रमुख प्रतिपक्षी दलको निरन्तर बिरोध सहेर कति दिन टिक्ने ? दिए आजित भएर माधव नेपालले राजिनामा । तर उनले राजिनामा दिएको यतिका समय भैसक्यो । खोइ त समस्या समाधान भएको ?

म माधव नेपालको पटक्कै समर्थक होइन नै । कुनै सरकारको पनि समर्थन गर्नु छैन । जनताको मतले हुर्‍याएका कुनैपनि नेतालाई सरकारमा बस्ने अधिकार र नैतिकता हुन्न भन्ने लाग्छ मलाई । चाहे त्यो जुनसुकै पार्टीको जस्तोसुकै नेता होस् । माधव नेपाल मन्त्रिमण्डलमा अनेक खालका व्यक्तित्व थिए । थरी थरीका अनुहार थिए । धेरैको मनसाय देश लुट्ने थियो । मोज गर्ने थियो । बेइज्जती माधव नेपालले मात्रै गरेका थिएनन् । तर माओवादीले माधव नेपाल नभए पुरै समस्या समाधान हुन्छ भने । माधव नेपालले राजिनामा दिए सबै समस्या समाधान । मूल कारण नै माधव नेपाल- ठोकेरै दाबी गरे ।

माधव नेपालले राजिनामा बुझाएर सरकार बनाउन राष्ट्रपतिले दिएको समयसिमा सकियो । तर बनाउन सकेनन् सरकार दलहरूले । फेरी दाँत ङिँच्च पार्दै समय सिमा थप्न राष्ट्रपतिलाई हार गुहार गरे । फेरीपनि त्यो समयसिमा भित्र राष्ट्रिय सरकार बन्ने छाँट छैन । दलहरू एक रटानले खाली प्रधानमन्त्रीको कुर्सी बाहेक केही देखेकै छैनन् । सबैले मात्र प्रधानमन्त्रीको कुर्सी देखेका छन् । मानौं त्यो कुर्सीमा एक खालको जादु छ । त्यसमा बास्नासाथ देशका यावत् समस्या आफैँ छु मन्तर हुन्छन् ।

देशको प्रधानमन्त्री मात्रै असल भएर, सक्षम भएर हुन्न कि समग्र मन्त्रिमण्डलका सदस्य, प्रशासन, न्याय पालीका र दलहरू स्वयं असल हुनुपर्छ भन्ने मान्यतानै देखिँदैन । दलहरूलाई, नेतालाई नै राष्ट्रिय समस्या समाधान गरौं सहमति गरेर भन्ने हेक्का छैन भने कसरी एउटा प्रधानमन्त्रीले हाम्रा यति धेरै समस्या समाधान गर्न सक्छन् ? मन्त्रि मण्डलका सदस्यहरूकै आचरण गतिलो भएन, तिनले राष्ट्रिय हित नहेरि काम गरे भने एक्लो प्रधानमन्त्रीको के दम्भ चल्छ ?

आखिरमा नेताहरू फेरी उही बहुमतिय सरकारमा जाने निश्चित जस्तो देखिन्छ । जुन पद्धतिमा सरकार चलाउँदा गत दुई वर्ष न शान्ति संझौताले मूर्त रूप लियो । नत सेना समायोजन भयो । न बन्न सक्यो हाम्रो संविधान नै । अबपनि फेरी बहुमतिय सरकार बने हालत उही हो । सरकार बन्न नपाउँदै सरकार बाहिर बस्नेले अनेक बखेडा झिकेर सरकारलाई असफल बनाउन थाल्छन् । चाहे त्यो जुनसुकै प्रतिपक्षीमा बसोस् । सरकारमा बस्नेले प्रतिपक्षीलाई पेलान दिने मानसिकताले सरकार चलाउँछ । सरकारमा पुगेका  मन्त्रीहरू मोज गर्ने र लुट्नतिरै लाग्छन् । यस्तो देख्दा देख्दै पनि नेताहरूमा अलिकतिपनि दलीय स्वार्थ त्याग्ने, राष्ट्रिय जिम्मेवारीको बोध गर्ने पारा देखिन्न । साँच्चै कुन अवस्थामा चेत्लान् हाम्रा नेताले ? कि दलु पुनले भने झैँ नेता जति सबैलाई एकै ठाउँमा जम्मा पारेर जनताले चुट्नुपर्ने बेला आएको हो ?

तपाइँको प्रतिक्रिया