के बन्द समस्या समाधानको सही तरीका हो ?
–राजेन्द्र लाल / काठमाडौं
विश्वको विकासोन्मुख तथा विकसित देशहरू भन्दा पनि हालका दिनमा नेपालले केही कुरामा विश्व प्रसिद्धि नै पाएको छ भन्दा हामी मध्ये धेरैलाई आश्चर्य लाग्न सक्छ । त्यो विश्व प्रसिद्धि हो – भ्रष्टाचार, गरिबी, परनिर्भरता र बन्द । यी विभिन्न प्रसिद्धि मध्ये बन्दमा नेपाल चाडै नै वंग्लादेशलाई पनि हराएर संसारमा पहिलो देश हुँदैछ भन्दा अत्युक्ति नहोला । विधिको पनि कस्तो विडम्बना छ, २१ औं शताब्दीमा विकासोन्मुख देशहरू विकसित देश बन्न तँछड-मछाड गरिरहेका छन् भने विकसित देशहरू अझै बढी शक्तिशाली राष्ट्रको रूपमा आफूलाई परिणत गर्न खोजिरहेका छन् । तर हामी महान् नेपालीहरू कुन महिनामा कति दिन कहाँ बन्द गर्ने भनेर अहिलेपनि अलमलिने गरिरहेका छौं । राज्यले छुट्याएको विकास निर्माणको बजेट खर्च गर्न फुर्सत छैन हामीलाई । मानौं विकास गर्ने र विकसित हुने हाम्रो एजेन्डा नै छैन । नेपाल बन्द डट कमको तथ्यांक अनुसार विभिन्न ठाउँ, क्षेत्र र स्थानमा गरि नेपाल बन्द विगत ६ महिनामा करिब ६० प्रतिशत, २००९ मा ८० प्रतिशत र २००८ मा ६५ प्रतिशत भएको रहेछ ।
हुन पनि गजब छ नेपालमा, नेता देखि गरिब निमुखा जनता सम्मको विचार बन्द गर्नमा मेल खान्छ । बन्दका विभिन्न स्वरूपहरू हेर्ने हो भने पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा विपक्षी पार्टीहरूको बन्द । कलेज वा स्कूलको फिस बढाउँदा विद्यार्थीहरूको बन्द । सरकार परिवर्तन भएन भने नेता ज्यूहरूको बन्द । सडक दुर्घटना हुँदा आफन्तहरूको बन्द । शिक्षक वा प्राध्यापकहरूले स्थायी गर्नु पर्ने माग राखी वेला वेलामा गर्ने गरेको बन्द । देशमा हाल भूमिगत रहेको क्रान्तिकारी पार्टीहरूको विभिन्न माग अनुसार क्षेत्रीय वा देश व्यापी बन्द । मधेसी देखी जनजातिहरूको वेला न कुबेलाको बन्द । माओवादी पार्टीको सरकारमा जान पाएन भनेर हुने गरेको बन्द । आदी । अव त हुन पनि हदै भइरहेछ नेपालमा बन्द । केही दिन पहिले धनगढीमा श्रीमान् र श्रीमतीको झगडा हुँदा राजमार्ग ५ घण्टा बन्द । नयाँ नेपालमा अव त उद्योगी व्यापारीहरूले पनि बन्द गर्न विस्तारै सिकिसके छन् ।
एक अध्ययन अनुसार विभिन्न बन्द कार्यक्रममा प्रायः जसो उही नेपालीहरु सरिक हुन्छन् । कहिले धाक धम्कीको भरमा । कहिले पैसाको भरमा । कहिले पार्टी प्रति लगावको भरमा । कहिले कुनै काम नभएकै भरमा । कहिले नेताहरूले आफूलाई कतै काम लगाई दिन्छ भन्ने आशामा । साँच्चै नै विश्लेषण गर्ने हो भने अहिले पनि हाम्रा राजनैतिक पार्टीका महान् नेताज्यूहरूको भित्री मनसाय, नेपाली जनता कहिले कहिल्यै उँभो नलागुन् भन्ने छ । किनभने महान् नेपाली जनताहरू यदि शिक्षित, रोजगारी, आर्थिक रूपमा सक्षम भए भने सोझा साझा नेपालीका छोरा छोरीहरू वा सामान्य जनता उनीहरूको चाकडीमा लाग्दैनन् । उनीहरूले आव्हान गर्ने बन्दमा सरिक हुँदैनन् । अर्काका देशमा बहादुर भई रात भरी कराउनु पर्दैन् होला । विदेशमा श्रमिक हुन सायद जानु नपर्ला । तसर्थ हाम्रा हालका महान् नेताज्यूहरूले ती गरिब निमुखा जनताहरूलाई बाहिर ठूला ठूला सपना देखाएपनि भित्री मनसाय उही यथास्थितिवादी नै छ भन्दा गलत नहोला ।
हुनत २०४६ साल देखी हाल सम्म बनेको सरकार पनि के कम छ र ? बन्द भएन भने सरकारमा बस्नेहरुलाई राम्रोसँग निद्रा नै आउँदैन रे ! बन्द गर्नासाथ जनताको आवाज सरकार सम्म अलि अलि पुग्छ रे । अव त बन्दमा मान्छे मरेन भने सरकारले पनि खासै चासो दिँदैन र आयोग बनाएर आफ्नो टाउकोमा झन्झट लिन चाहँदैन । आफूहरू सरकार बाहिर हुँदा बन्द गर्ने र जनताको माग पूरा हुनै पर्छ भन्ने तर फेरी आफै सरकारमा गए पछि कानमा तेल हालेर सुत्ने बानी छ । के गर्ने सानै देखी लागेको बानी त्यति चाँडै कहाँ जान्छ र ?
पहिले पहिले घरबाट बाहिर निस्कन ज्योतिषको सर सल्लाह लिने गरिन्थ्यो । तर अव नेपाल बन्द डट कम वा पत्र पत्रिकामा नेपालमा कहिले कहिले कुन कुन ठाउँमा बन्द रहेछ हेरेर मात्र यात्रा गर्नु पर्ने समय आएको छ । नत्र भने पाउन सम्मको बाटोमा दुःख पाइन्छ । शायद हाम्रा नेताज्यूहरूले परिकल्पना गर्नु भएको नयाँ नेपाल यस्तै होला । शायद बन्द गर्ने वेलामा हामी बिर्सि हाल्छौं । एक दिनको बन्दले सरदर दश देखी पचास करोड भन्दा बढीको व्यापार घाटा हुन्छ । ३५ देखी ४० प्रतिशत गरिबीको रेखा मुनि रहेका अधिकांश नेपाली जनताले दुई छाकको खाना टार्न धौ धौ पर्छ । बन्दले असर पर्ने भनेको ती निमुखा जनताहरूलाई मात्र हो । काठमाडौं वा अन्य ठाउँमा बस्ने सुकिला मुकिला नेपाली जनतालाई सामान्य बन्दले खासै प्रभाव पर्दैन् ।
तसर्थ के बन्द नै सवै समस्याको समाधान हो त ? मेरो विचारमा कदापि होइन् । समस्या समाधान गर्नका लागि बन्दका अन्य विभिन्न विकल्पहरू हुन् सक्छन् जस्तै: विद्यालय वा कलेजमा फिस बढेर चित्त बुझेको छैन भने विद्यार्थीहरूले सम्बन्धित कार्यालयलाई मात्र लक्षित गरेर विरोध कार्यक्रम अघि बढाउनुपर्छ न कि सम्पूर्ण स्कूल वा कलेज वा विश्व विद्यालयको पठनपाठन नै बन्द र आम हडताल गर्ने । त्यस्तै सरकार वा संबन्धित पक्षहरूले हाल सम्म पनि जन सरोकारको विषयमा हचुवाको भरमा निर्णय गर्दा रहेछन् भने तथ्यहरू हामीलाई अवगत नै छ । तसर्थ त्यसता निकायहरूले जन सरोकारको विषयमा कुनै निर्णय गर्दा त्यसले ल्याउने समस्याहरूको पूर्व अध्ययन गर्नु पर्छ र सहमतिमा मात्रै निर्णय गर्ने बानी बसाए यस्ता बन्दहरू भविष्यमा सायद धेरै कम हुने थिए । हामी महान् नेपालीहरूले एक पटक संझिनै पर्छ, जहाँ समस्या छ त्यहीँ समाधानको पनि उपाय छ । त्यसैले, समस्याहरूलाई पहिचान गरेर समाधानको बाटो पत्ता लगाउनु पर्छ न कि बन्द गरेर समस्या समाधान भईहाल्छ । (फोटो-गिता घिमिरे) ।
(हामी अस्ति देखि नयाँ डेरामा सरेकाले यसमा सानातिना विभिन्न समस्याहरु आएका हुन सक्छन् । त्यसको लागि क्षमा चाहन्छौं । समस्याहरु औंल्याइदिनु भएमा आभारी हुनेछौं-नेपालप्लस) ।




