आफैँले मान नराख्नेको के मर्दन ?
नेपाली राजनीति बडो अचम्मको छ । नेपाली नेता बडो मापाका छन । जो जन परिक्षामा बल्ढ्याङ खान्छ उहि सर्वश्रेष्ठ पदमा
पुगिन्छ, पुग्छ । दाबी गर्छ लाजै नमानी । हार्नेले म ठुलो हुँ भनिरहँदापनि जित्ने चुप लागेर बस्न बाध्य पर्छ । जो जनताको परिक्षामा उत्तिर्ण हुन्छ उसैले हार्छ, हार खुवाइन्छ । जनताले हराएका नक्च्चराहरु जितको भाङ पार्दै चोर बाटोबाट जन परिक्षानै नदिइ सरकार सञ्चालनको कक्षा उक्लन्छन । अहिले माओवादी र एमालेबिचको सत्ता को खेलमा भएको त्यहि होइन ? चोरका सय दाउ भने झैं जनताले असफल बनाएपछिपनि बिभिन्न बहाना र सर्तमा चोर दुल्का बनाउँछन नेताहरु कुर्सीमा पुर्याउने । यसरि आफैँले सत्ता सञ्चालनमा अयोग्य ठानेकाहरुलाई सत्ताको भर्र्याङ उकाल्दा जनता हेरेको हेर्यै पारिन्छन ।
जनताको परिक्षामा अनुत्तिर्ण त के कहिल्यै दोस्रासम्म भएनन डा बाबुराम भट्टराइ । सधै प्रथमका प्रथम । गएकै संबिधान सभाको निर्वाचनमापनि देश भरिनै सबैभन्दा बढि जनमतले उनै बिजयी भए । उता सर्वनाक हार भएको थियो एमाले नेता वामदेव गौतमको । तर अहिले सत्ताको खेलमा जनताले आफ्नालागि असक्षम भनेर मिल्काएका तिनै गौतम बिजयको झुठो पगरि आफैले गुथेर ओर्लिएका छन । रमाइलो त के भने बाबुराम भट्टराइभन्दा मर्यादाक्रममा माथि हुनु पर्ने रे ! देख्नेलाई भन्दा सुन्ने लाज ! जनताको परिक्षामा गुल्टुङ खाएको तिन महिनापनि राम्ररी नबित्दै त्यहि ब्यक्तिले लाजगाज सबै पचाएर सानदाररुपमा कसरि दाबी गर्न सकेको दोस्रो मर्यादा ? वामदेव पक्कैपनि प्रशंसनिय छन राजनीतिको समग्र उनको छवीमा । उनलाई समग्रमा दाग लगाउन खोजिएको पनि होइन । तर अहिले जनताले गरेको राजनीतिक परिक्षणमा जसको मर्यादा नै छैन सरकारमा जाने उसैलाई चाहिने मर्यादाक्रममा दोस्रो स्थान ? जित्नेले तिमिभन्दा तल मै भएँ तनी भन्दिएछ रे लौ, जनपरिक्षामा सफल भइन्छ ? अनुतिर्णलाई उत्तिर्ण गराउने अधिकार के भट्टराइलाई छ ? माओवादी पार्टीलाई छ ?
कुर्सी बाहेक सबै मिथ्या हो भन्नेकालागि लौ डाक्टर साबले तिमिनै हौ म भन्दा माथि भनिदिए रे । के उनले भनिदिदैमा हरुवा वामदेव उनीभन्दा माथि हुन सक्लान ? जनताले पत्याउलान ? सर्वनाक हार खाएर जितेका मान्छेका अगाडि तिमिभन्दा ठुलो मै हुँ भन्दै हिँड्न सक्छ कोही इमानको राजनीति गर्ने हो भने ? लाजपनि कतिसम्म पचेको भने अझै आफैँले माग्ने मर्यादाक्रममा दोस्रो स्थानपनि ?
जनताको अर्को परिक्षणमा पुन नतौलिएसम्म वामदेव गौतम बाबुराम भट्टराइभन्दा माथि त के बबन सिं भन्दापनि निच हुन । हरेक राजनीतिज्ञको परिक्षण जनताको अदालतमा हुने होइन ? हो भने संबिधान सभाका लगभग ६००बिजयी सभासदका अगाडि सरकार चलाउँछु भन्दै तेर्सिनु वामदेवको नालायकिपन हो । बेतुकका तर्क हजारौं गर्न सकिन्छ तर वास्तबिकता त्यहि हो ।
अहिले त इतिहाँसलाई कति सम्म उल्टो हिँडाउने प्रयास भइरहेको छ र जनताको मत लाई कतिसम्म कुल्चने प्रयास भइरहेको भने जित्नेले हार्नेका अगाडि होचिनु पर्ने, लाज मान्नुपर्ने, झुकेको भान पार्नुपर्ने ? वामदेवलाई तिमिनै भयौ मर्यादाक्रममा दोस्रो भनेर डाक्टर सापले मानेको त्यहि होइन ? तर के जनतालाई थाह छैन आफुले चुनेको को हो र मिल्काएको को हो भनेर ? राजनीतिको मैदानमा जनताले नै हुत्याएकालाई दोस्रो दर्जामा नराख्दा मानमर्दन भयो रे । हारेर जित्नेले भन्दा ठुलो भाग खोज्दा जनताको, जनताको चाहनाको, जन अभिमतको र राजनीतिकै मान मर्दन भयो कि भएन होला ? जसको जति भागबण्डामा परेको थियो मानमर्दनको अंश त्यति मात्रै पाउनुपर्ने होइन र ? राजनीतिको च्याँखे दाउमा अड्को थापेर पाएको मान केको मान? जनताले जसलाई मान नै गरेनन उसको के को मर्दन ?




