सहमतिय प्रणालीमा सरकार नबनाए जान्छ देश द्वन्दमा
-विष्णु वाग्ले/ दहपोखरी, स्याङजा
हालः पोखरा
अत्यन्त महत्वपूर्ण पद र जिम्मेवारी बोध गर्न नसकेर माधव नेपाल संवैधानिक समितिको सभापति जस्तो गरिमामय, ऐतिहासिक, एक्लो र उचाइको पद छाडेर एउटा प्रधानमन्त्री जस्तो पारम्परिक पदमा आसीन हुन पुगे । जुन नेपालका मन्त्रीहरूको सूचीमा मात्र उनको नाम थपियो बाँकी केही भएन । भयो त अहिले सम्मकै निकम्मा सरकार । उनि केही क्षणका लागि खुशि भए होलान् । आफ्ना भरौटेलाई खुशि बनाए होलान् । तर इतिहासले उनि र उनको सरकारलाई नेपालको सबै भन्दा खराब व्यक्ति र भ्रष्ट सरकारको रूपमा अकिंत गर्नेछ । यही कुरा आत्मबोध भएर आफै भित्र पिल्सिएर होला अहिले राजीनामा दिए ।
निकै ढिलो गरि राजीनामा दिएका उनले आफूले र आफ्नो सरकारमा भएका मन्त्रीहरूले गरेको कर्तुतहरू लुकाउँदै घुमाउरो पाराले स्वीकारे पनि आफ्नो कार्यकालमा माओवादीले निषेधको राजनीति गरि कत्ति पनि सहयोग नगरेको गुनासो वक्तव्यमा गरेका छन् । यति मात्र नभएर अनपेक्षित रूपमा अपेक्षा गरेकाहरुबाट पनि सहयोग नमिलेको उनको भनाई थियो । जुन कुरा भन्नु पर्दा दुःख लागेको बताएका थिए ।
नेपालको वर्तमान परिस्थितिमा संविधान नबन्दा सम्मको लागि सहमतिय प्रणाली नअपनाउने हो भने देश द्धन्दमा जाने निश्चित छ । माओवादीले निषेधको राजनीति गरेको ठानि अरू पार्टीहरूले अबको सरकार र शान्ति प्रक्रियामा माओवादीलाई निषेधको अवस्थामा पुर्याए भने मुलुकको लागि त्यो भन्दा खतरा केही हुने छैन । वास्तवमा अहिलेको प्रक्रियालाई शान्ति प्रक्रिया भने पनि यो युद्ध बिराम प्रक्रिया जस्तो देखिन्छ । मर्न तयार भएकाहरु केही गर्न आएका छन् देशको लागि मिलेर गरौं भन्ने भावना जाग्नु जरुरी छ ।
माधव नेपालको वक्तव्यको आशय बुझ्दा उनले प्रधानमन्त्रीको पदबाट त राजीनामा दिए तर अझै पनि सहमतिको सरकार बन्छ भन्ने लाग्दैन । दलहरूले विश्वासको राजनीति गर्नुपर्छ । माओवादीलाई कांग्रेस र एमालेले नागरिक पार्टीको प्रमाणपत्र दिने त होइन । संविधानसभाको चुनावले बताईसकेको छ । यदि क्यन्टोनमेन्टका लडाकू माओवादीको मात्रै भए सरकारले किन भरणपोषण गरिरहेको छ ? बाह्र बुँदे सम्झौता अनुरूप लडाकूको समायोजन हुनुपर्छ । एक पटक नेताहरूले सोच्ने बेला आएको छ । कामना छ नेताहरूले आ-आफ्नो पार्टीको नेता होइन राष्ट्रको नेता हुने कोसिस गरुन् । यो अन्योलको अवस्था र विषम परिस्थितिबाट देशलाई माथि उठाउन् । जसले जनता र सार्वभौम राष्ट्रको स्वाधीनताको रक्षा गर्दै विकासको कामहरू गरि देशलाई विश्वमा विकास र शान्ति राष्ट्रको पगरी गुथाउन सकियोस् ।




