हारेको माओवादी, जितेको कांग्रेस र फुटेको एमाले

रामहरी ओझा / डोटी

बन्दुकको नालबाट मात्र सत्ता कब्जा गर्न सकिन्छ भन्ने एकोहोरो मानसिकताका साथ २०५२ साल देखि “जनयुद्ध” का नाममा सशस्त्र द्वन्द्वमा प्रवेश गरेको तत्कालीन नेकपा माओवादी विभिन्न आरोह र अवरोह पछि अन्ततः २०६३ साल जेठ १२ गते युद्धविराम गर्न पुग्यो । यद्यपि २०५९ साल असोज १८ र २०६१ साल माघ १९ को तत्कालीन राजा ज्ञानेन्द्रको प्रतिगामी कदमले नेपालका संसदवादी दल र माओवादीबिचको दूरी कम हुँदै गएको थियो । परिणाम स्वरूप २०६२ साल मंसिर ७ गते सात दल र नेकपा माओवादीका बीचमा १२ बुँदे दिल्ली सम्झौता भयो । यसबाट माओवादी शान्ति प्रक्रियामा आउन चाहेको प्रष्ट हुन्छ । तर, विधिवत् रूपमा २०६३ साल जेठ १२ गते लाई नै युद्ध बिरामको दिन मानिन्छ ।

 वार्ता र शान्ति प्रक्रियाका विभिन्न चरणहरू पार गर्दै २०६३ साल माघ १ गते जारी भएको अन्तरिम संविधानको धारा ६३ अनुसार देशमा संविधानसभाको निर्वाचन भयो । उक्त निर्वाचनमा माओवादी स्वयं पनि नपत्याउने गरी उसको पक्षमा जनमत आयो । प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत दुई सय ४० सिटमध्ये एक सय २० सिट अर्थात् ५० प्रतिशत माओवादीको पोल्टोमा गयो । यो जित माओवादीलाई सहजै पचेन । उसले शान्ति प्रक्रियाका अन्य सह यात्री दलहरूलाई भिखारी, हरुवा, चरुवा जस्ता उपमा दिन थाल्यो । परिणाम स्वरूप माओवादी जनताबाट जितेर पनि हार्नु पर्ने बाध्यता भयो । आफ्नै प्रकारको दङदङीका कारण माओवादी लगातार हार्दै गइरहेको छ ।

२०६५ साल असार २९ गते भएको अन्तरिम संविधानको संशोधनमा धारा ३८ मा उपधारा (२) थप गरी व्यवस्थापिका संसदमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन हुने भन्ने नेपाली कांग्रेसको एजेन्डामा माओवादीले असहमति जनाउँदा जनाउँदै पनि सहमति जनाउनु पर्ने बाध्यता भएपछि हार्न सुरु गरेको एनेकपा माओवादी अहिलेसम्म पनि हारमै छ । एमाले नेता माधव नेपाललाई राष्ट्रपतिको लालिपप देखाउँदै आएको माओवादीले अन्तिममा गणतन्त्रवादी नेता भनिएका रामराजा प्रसाद सिंहलाई राष्ट्रपतिको उम्मेदवार बनाउँदा हार खानु पर्‍यो । प्रचण्ड नेतृत्वको सरकार सहमतीय बनाउने भरसक प्रयास गर्दा पनि केही सीप चलेन । आफू सरकारमा छँदा आफ्ना लडाकूहरूलाई व्यवस्थापन गर्ने योजना पनि तुहिएर गयो । यो पनि माओवादीका लागि हार नै थियो ।

विभिन्न कुरामा हार्दै गएको माओवादी रुक्मागत प्रकरणमा नराम्रोसंग हार्नु पुग्यो । त्यसैको परिणाम माओवादीले छँदा-खाँदाको सरकार समेत गुमाउनु पर्‍यो । यो माओवादीको सबैभन्दा ठूलो हार थियो । राष्ट्रपतिको सपना देखाएर आफैले धोका दिएका व्यक्तिलाई संवैधानिक समितिको सभापति बन्न हार-गुहार गरेपछि दुई-दुई जिल्लाका जनताले हराएका र स्वयं माओवादीले “भिखारी, हरुवा” को उपमा दिएका माधव नेपाल संविधानसभाको सदस्य वनेर प्रचण्डको स्थान लिएपछि फेरी हारेको माओवादीले तिन महिनाभित्र सडकबाटै सरकार ढाल्न बनाएको योजना पनि पूर्ण रूपमा असफल भयो । अनिश्चितकालीन आम हडताल गरेर जनताको समर्थन पाउने र तेस्रो जनआन्दोलन गर्ने घोषित कार्यक्रम जनता स्वत:स्फूर्त रूपमा प्रतिकारमा उत्रन थालेपछि फिर्ता लिनु पनि माओवादीको अर्को हार हो । “सुकिला-मुकिला, सामन्ती” को संज्ञा दिँदा होस वा अन्य कुनै कुरामा होस नेतृत्वले पटक-पटक माफी माग्नु पनि एक प्रकारको हार नै हो । आफ्नो विबेकको सही प्रयोग नुहुँदा र आफू कुन हैसियतमा छु भन्ने पूर्व अनुमान नगर्दा माओवादीले यस्ता कतिपय कुराहरूमा हार खाँदै जानु परेको छ । संविधानसभाको म्यादसँग वर्तमान प्रधानमन्त्रीको राजीनामाको शर्त अगाडी सार्दा समेत माओवादीको जित हुन सकेन ।

माओवादी प्रत्येक “शीर्षक” मा हार्दै जाँदा नेपाली कांग्रेस भने प्रत्येक योजना सफल पार्दै लगिरहेको छ । संविधानसभाको निर्वाचनमा टाउको उठाउन नसक्ने गरी खाएको धक्का अहिले नेपालका वामपन्थीहरूलाई आपसमा भिडाएर मेटाउने प्रयासमा रहेको छ । राष्ट्रपतिको निर्वाचनमा आफूले चाहेको आफ्नै पार्टीको नेतालाई राष्ट्रपति जिताउन पनि उसले वामपन्थीहरूलाई प्रयोग गर्‍यो । अन्तरिम संविधानको पाँचौं संशोधन आफ्नो चाहना अनुसार भएपछि नेपाली कांग्रेस जुरमुरियो । सरकार परिवर्तनमा विज्ञता हासिल गरेको कांग्रेस अहिले संविधानसभाको निर्वाचनमा खाएको चोट भलाएको महसुस गर्दैछ । करिब-करिब ६२ प्रतिशत सदस्यहरू कम्युनिस्ट भएको वर्तमान संविधानसभामा “यी बामेहरू” मात्र एक भएर गए भने आफूहरू सदाका लागि पराजित हुने पूर्व अड्कल गरेको कांग्रेसले आफ्ना सहयोगी विदेशीहरूलाई यस्तै सल्लाह दिएर माधव नेपाल नेतृत्वको सरकारलाई समर्थन जुटाएको छ ।

सत्ता प्राप्तिका लागि भैँसीको समेत पूजा गर्न पछि नपर्ने नेपाली कम्युनिस्ट चलनमा दक्षिणपन्थीले प्रधानमन्त्री बन्न प्रस्ताव ल्याइसकेपछि एकै दिनका लागि भएपनि प्रधानमन्त्री बन्नु माधव नेपालका लागि खुसीको कुरा थियो । पूर्ण रूपमा असफल भइसकेको यो सरकार टिकाई राख्नु पनि कांग्रेसका लागि अर्को महत्वपूर्ण जित हो । त्यो भन्दा ठूलो जित वामपन्थीहरूका बीचमा बैमनश्यता बढाउनु हो । यसमा पनि कांग्रेस पूर्ण रूपमा सफल छ । वर्तमान सरकार एमालेको निर्णय र निर्देशनमा होइन कांग्रेसको निर्णय र निर्देशनमा चल्दै छ । अव माधव नेपाल हँसिया हतौडा भन्दा बढी चार तारा प्रति उत्तरदायी छन् । यो पनि कांग्रेसको अर्को जित हो । माओवादी र एमालेलाई कांग्रेसले यसरी विपरीत ध्रुवमा विभाजित गरि दिएको छ कि अव कांग्रेस-माओवादी नजिक होलान् तर एमाले-माओवादी कहिल्यै नजिक हुन सक्ने अवस्था छैन ।

अव रह्यो एमालेको कुरा ! यो दुइ वर्षे अवधिमा जति घाटा बिचरो एमालेलाई भयो त्यति कसैलाई पनि भएन । जनताको बहुदलीय जनवाद जस्तो उत्कृष्ट बिचार हुँदा हुँदै पनि नेतृत्वको कमजोरीका कारण संविधानसभाको निर्वाचनमा कमिलाको आकारमा झरेको एमाले अहिले कांग्रेस-माओवादीको “मादल” बनेको छ । एक ताल माओवादीले बजाइरहेको छ, अर्को ताल कांग्रेसले । २०५१ सालको मध्यावधि निर्वाचन पछि बनेको नौ महिने सरकारले गरेका जनमुखी कार्यक्रम, जननेता मदन भण्डारी र २०२८ सालको झापा आन्दोलनको व्याज खाइरहेको एमाले रूपी मादलको अहिले बिजोग भएको छ । २०५२/०५३ ताकाको राष्ट्रिय प्रजातन्त्र पार्टी अहिलेको एमालेको भूमिकामा खासै भिन्नता देखिन्न । फरक के मात्र छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीसँग बिचार थिएन, एमालेसँग उत्कृष्ट बिचार हुँदा हुँदै पनि बिचारलाई व्यवहारमा ल्याउने नेताहरूको आचरण छैन ।

माओवादी नेतृत्वको सरकारमा सामेल भएका बेला भएको बुटवल महाधिवेशनमा व्यक्तित्व र बौद्धिकताको हिसाबले झलनाथ खनाल अध्यक्ष भए तर गुटका हिसाबमा केपी ओलीले केन्द्रीय कमिटीमा बहुमत पाए । बिचारका हिसाबले दुवै “जवज” पक्षधर नै हुन । गुट गत लाईन मात्र फरक हो । पार्टीभित्रको विवाद मिलाउने प्रयाससम्म पनि नुहुँदा अहिले एमाले भित्रै पनि सत्ता पक्ष र प्रतिपक्ष छन् वा एमालेभित्र दुइ पार्टी छन् । “नेकपा माओवादी एमाले” र “नेकपा कांग्रेस एमाले” । यो फुट केन्द्रमा मात्र होइन अञ्चल, जिल्ला, गाउँ, शाखा, सेल सबैमा गाँजिएको छ । “जवज” को अचार बनाएर वैचारिक कार्यकर्ताहरूलाई चटाउने र अराजकहरूको जमात बनाई पार्टीलाई दक्षिणपन्थी कित्तामा उभ्याउने प्रयास भइरहेको भन्दै एमालेभित्रका इमानदार कार्यकर्ताहरू नेतृत्वलाई खबरदारी गरिरहेका छन् । यो एमालेभित्र फुट छ भन्ने प्रमाण हो ।

समग्रमा भन्न खोजिएको के हो भने यी तिन वटै दलको अहिलेको व्यवहार र बुझाईवाट नयाँ संविधान निर्माण हुन सक्ने कुनै लक्षण छैन । आम नेपाली जनता, नागरिक समाज र बौद्धिक वर्गले खबरदारी नगरेसम्म अहिलेको हारजितको खेल जारी रहने छ ।

सम्पर्क: मानवअधिकार तथा जनसेवा केन्द्र, हुर्पेक / डोटी

फो नं. ०९४४२०१५८ / ९७४९०१२४३५ (मो)

तपाइँको प्रतिक्रिया