अबको सरकार कसले बनाए राम्रो ?
एमालेको नेत्रित्वमा कांग्रेस संलग्न भएर एक वर्ष भन्दा बढि सरकार चलायो । शान्ति र संविधान लाई टुंगो लगाउने मूल उद्देश्य बोकेर सरकार बनाएका थिए । त्यसमा अरू झिस्टेमिस्टे नाम मात्रका दलपनि थिए । जे गर्छौं भनेर सरकार बनाएका थिए त्यो गर्न सकेनन् । एक वर्ष त्यसै बित्यो । सरकार विवादै विवादमा फस्यो । जनताका समस्या ज्यूँका त्यूँ मात्रै होइन झन् महँगी र अनेक कष्ट थपिए । मेशिन रिडेबल पासपोर्ट लगायत अनेक ठाउँमा सरकार गिर्यो । भत्ता खाने, विदेशको यात्रा गर्ने, आफन्त भर्ती गर्ने बाहेक कहिँ कतै देखिने उपलब्धि भएन ।
त्यो अघि माओवादीले सरकार चलायो उ पनि विवादै विवादमा फस्यो । अधिकांश समय प्रधान सेनापतिको बरखास्तमै समय फाल्यो । अनि जनताका समस्याहरू हल गर्न उसले साहसिक निर्णय गर्न सकेन । अहिले बहुमतीय सरकार भंग गरेर सबै दलको सहमतिमा राष्ट्रिय सरकार निर्माणको मेसो देखिएको छ । तर फेरीपनि सरकार कसले बनाउने भन्ने हानथाप शुरु भइसकेको छ ।
एमालेमा पाएसम्म झलनाथ खनाल प्रधानमन्त्री बन्न खोजिरहेका छन् । उनी त्यसैका लागि यता उति हार गुहार मागिरहेका छन् । अर्कोतिर नेपाली कांग्रेसले अब आफ्नै नेत्रित्वमा सरकार बनाउने भन्दै छलफल थालेको छ । उसले माओवादीसित एक झड्को छलफल चलायो । साना मसिना दलको समर्थन मागिरहेको छ आफ्नो पक्षमा । उसको तर्क छ- संविधान सभाको निर्वाचन पछि एमाले र माओवादीले पालै पालो सरकार बनाए । नत शान्ति संझौता टुंगोमा पुर्याए न संबिधान बनाउन सके । कांग्रेसको सरकार बने दुबै काम फत्ते गरिन्छ भन्ने तर्क उनीहरूले गरिरहेका छन् ।
माओवादी त झन् गर्जने नै भयो । संसदको प्रमुख प्रतिपक्षी । जनताको मत हाम्रो पक्षमा धेरै छ भन्दै उसले आफ्नै नेत्रित्वमा सरकार गठन हुनुपर्ने अडान राख्दै आएको छ । त्यसका लागि उसले धेरै आन्दोलन पनि गरिसक्यो विगतमा । एमाले र कांग्रेस ले विगतमा शान्ति संझौता भंग गर्न खोजेको आरोप लगाउँदै आफ्नै नेत्रित्वमा सरकार गठन नभएसम्म शान्ति संझौताले मूर्त रूप नपाउने र संबिधान पनि नबन्ने उसले ठोकुवा गर्दै आएको छ । त्यसैले माओवादीले छोड्ने अवस्था देखिन्न ।
दलहरूले बहुमतीय पद्धति छोडेर सहमतिय पद्धतिमा राष्ट्रिय सरकार बनाउने त भनेका छन् । तर सरकारले राजीनामा नदिँदै नयाँ सरकार मै बनाउँछु भनेर अड्को थापेपछि के सहमति भयो त ? सरकार बनाउन आफ्नै अड्डी कसाई दलहरूको यो चाला देख्दा सहमतिय राजनीति फेरीपनि नहुने अवस्थाको संकेत गरिसक्यो ।
नयाँ सरकार त बन्नु पर्छ नै । गत एक वर्षसम्म एमालेको नेत्रित्व भएपनि कांग्रेस समेत सरकारमा थियो । नेत्रित्व एमालेको भनेपनि सरकार नेपाली कांग्रेसको समेत निर्देशनमै चलेको हो । एमाले त झन् नेत्रित्वकर्ता नै भैहाल्यो । तरपनि उसको कहिल्यै आफ्नै अडान, आफ्नै नीति देखिएन । सधैँ ढुल्ममिले । जनताको हितलाई केन्द्रबिन्दुमा राखेर एमालेले काम गर्न सकेन नौ महिने कालमा बाहेक । नेपाली कांग्रेसले विगत संसदीय कालमापनि दशक बन्दा बढि सत्ता चलाएकै हो । देखियो नै देश कहाँ पुग्यो । नेता तीनै हुन्, । सोच र मानसिकता अनि कार्य शैली उही हो ।
माओवादीलाई जनताले मत दिए बढि नै । सरकार बनायो । तर आफ्नै कमजोरीले सरकारबाट हट्यो । राम्रोसित चलाउन सकेन । सरकारमा रहँदापनि विद्रोही पारा रह्यो । एमाले र कांग्रेस लगायतका दलले जनताको पक्षमा काम गर्न दिएनन्, भाँजो हाले त भन्यो । तर उसले साहसिक निर्णय गरेर देखाउन भने सकेन । त्यसैले यी तिन वटै प्रमुख दल दूधमा पखालिएका छैनन् । सरकार त चाहिन्छ नै । बनाउने पनि भएका मध्ये कुनै न कुनै दलकै नेत्रित्वमा हो । यस्तो अवस्थामा अबको सरकार कुन दलले बनाए राम्रो होला ?




