किन प्रस्ताव गरे बाबुराम भट्टराईले बादललाई ?
नयाँ सरकार बन्ने नबन्ने । प्रधानमन्त्रीले राजीनामा दिने नदिने । आगामी सरकार काँग्रेसको नेत्रित्वमा बन्ने वा माओवादीको । नयाँ सरकार बनी हाले कसको नेत्रित्वमा बन्ने ? अहिले बहसको विषय बनिरहेको छ । माओवादीमा पार्टीले प्रचण्डकै नेत्रित्वमा सरकार गठन गर्नुपर्ने निर्णय गर्यो । तर काँग्रेस र एमालेले स्विकार नगर्ने बताएपछि डा बाबुराम भट्टराई विकल्पका रूपमा अघि सारिए । तर पार्टीभित्र भट्टराईलाई प्रधानमन्त्रीमा स्विकार नगर्ने बताएपछि भट्टराई स्वयंले बादलको नाम अघि सारेका छन् । जन युद्द शुरुकालदेखिनै प्राय प्रचण्डको निकट रहेका बादललाई किन अघि सारे बाबुराम भट्टराईले ?
प्रधानमन्त्रीका रूपमा भट्टराईले बादलको नाम अगाडि सारेपछि केही मानिसहरू छक्क परेका छन्, बादल प्रधानमन्त्री हुन लायकका व्यक्तित्व हुन् र ? भन्दै । माओवादीभित्र राम बहादुर थापा ‘बादल’को जति चर्चा गरिन्छ त्यति बाहिर गरिन्न । जति हुनुपर्ने हो त्यति जानकारी सर्व साधारणलाई छैन । बादल जनसेनाको इन्चार्ज रहेका बेलापनि जनसेनाका सर्बोच्च कमाण्डर प्रचण्ड रहेकाले जनसेनाको सफलतासँग प्रचण्डलाई नै मुलत गाँसेर हेरेकालेपनि जनसेनाको सफलतामा बादलको चर्चा कम हुन गयो । त्यसैले पनि उनको नाम प्रधानमन्त्रीका रूपमा सहज नलागेको हो कतिपयलाई । मेडियाका नजिक पुग्ने, लेखहरु छपाउने, विवादमा आइरहने नगरेकालेपनि उनको चर्चा बाहिर कम हुन गयो । मुलत सैन्य क्षेत्र हेर्ने भएकाले पनि बाहिरबाट उनको नीतिगत, राजनितिक ज्ञान र भूमिकालाई कम आँकियो ।
तर माओवादी पार्टी भित्र भने बादल नत संगठनात्मक रूपमा कमजोर छन् न नीतिगत रूपमै । माओवादी कार्यकर्ताहरू के भन्छन् भने २०५२ सालमा जनयुद्द शुरु गर्ने निर्णय गर्नासाथै सैन्य नीति बनाउने उनै थिए । त्यो बेलादेखि उनको सैन्य नीति कहिल्यै असफल भएन एकाध आक्रमणमा बाहेक । माओवादी जनसेनाको सर्वोच्च कमाण्डर पार्टी अध्यक्षका हिसाबले प्रचण्ड भएपनि सैन्य नीति बनाउने उनै हुन्थे ।
बादल पार्टीभित्र अर्काको आलोचना अति कम गर्ने, कम बोल्ने, दिएको काम पूरा गर्ने, आत्म विश्वासी, ईमान्दार व्यक्तिका रूपमा छवि बनाएका व्यक्ति हुन् । अप्ठ्यारो परिस्थितिमा जोखिम लिने, पार्टी निर्देशनलाई ईमान्दारिताका साथ पालना गर्ने र प्रतिकूल अवस्थालाई अनुकूल पार्न सक्ने अदम्य कला बहेका व्यक्तिका रूपमा चिनिन्छन् माओवादीमा उनी । कार्यकर्ताहरूलाई विश्वासमा लिन सक्ने उनमा विशेष खुबी छ ।
माओवादी जन युद्द शुरु गरेपछि पश्चिम कैलाली क्षेत्रमा एक ताक जनसेनाको ठूलो क्षति भयो । त्यसलाई पुर्न बादललाई खटाईयो । पछि पूर्वमा रीतबहादुर खड्का र धनुषाका यादव लगायत पक्राउ परे । संगठन कमजोर बन्यो । उनलाई पूर्वी कमाण्डर बनाएर पठाइयो । पछि काठमाडौं उपत्यकाबाट क्रिष्ण ध्वज, रेखा शर्मा, मुमाराम र जन सेनाका सैन्य ईन्चार्ज लगायत धेरै पक्राउ परे । उपत्यका क्षेत्र कमजोर बन्यो । त्यतिखेर फेरी बादल उपत्यका सम्हाल्न आइपुगे । उनले जहाँ जहाँ नेत्रित्व सम्हाले त्यहाँ त्यहाँ सुधारेरै छोडे ।
कठिन र जोखिम पूर्ण अवस्थामा जनताका छोरा छोरीलाई पठाउने गर्छन् प्राय नेताहरू । तर माओवादीले गरेका ठूला आक्रमणमा बादल आफैँ नेत्रित्व गर्थे । त्यसैले पनि उनले पार्टीभित्र धेरैको विश्वास जितेका हुन् । पार्टीभित्र अध्ययनशील नेताका रूपमा गनिएका उनले विश्व क्रान्तिका सैन्य कला र सैन्य रणनीतिबारे राम्रो ज्ञान राखेको बताइन्छ । भाषण गर्न उति पारंगत नमानिएपनि जनता र कार्यकर्ता माझ गएर आफ्ना बिचारहरूमा सहमत गराउन सक्ने विशेष कला भएको चर्चा गरिन्छ । उनले रक्षा मन्त्रालय सम्हाल्दापनि समग्ररुपमा देशको नीति नै बदल्नुपर्ने, सबैलाई समान ब्यवहार गरिनुपर्ने, नातावाद र क्रिपावाद हटाउनुपर्ने भन्दै आफ्नो तर्फबाट कुनैपनि पद र जागिरका लागि व्यक्तिगत तवरबाट सिफारिस नगरेको बताउँछन् माओवादीहरु ।
मौका पर्दा क्याम्प बदलिरहने नेताका रूपमापनि चिनिँदैनन् उनी । शुरुदेखि प्रचण्ड नीतिका निकट मानिए पनि उनी ईतर पक्षकासित खरो रूपमा प्रस्तुत भएनन् । माओवादी शान्ति वार्तामा आउनु केही अघि प्रचण्ड र बाबुराम भट्टराईबिच तिब्र मतभेद भएर पार्टी फूटको संघारमा पुग्दापनि पार्टी नीतिलाई सबैले मान्नुपर्ने र मिलाएर लैजानुपर्ने भन्दै समन्वयात्मक भूमिका खेलेका रहेछन् उनले । प्रचण्ड नीतिका निकट रहेपनि बाबुराम पक्षियहरुसितपनि उनको अनावश्यक टक्कर रहेन ।
माओवादीका तिन उपाध्यक्ष मोहन वैद्य, नारायणकाजी श्रेष्ठ र बाबुराम भट्टराई मध्ये यी तीनै जना कुनै न कुनै क्याम्प नजिक वा बिचारले फरक छन् । वैद्य भट्टराई पक्षका आलोचक हुन् । जनबिद्रोह गर्नुपर्ने उनको पार्टी नीति भएपनि निकटताका हिसाबले उनी प्रचण्डतिर छन् । अर्का भए नारायणकाजी श्रेष्ठ । उनी प्रचण्डका निकट र वैद्य क्याम्पका विरोधीका रूपमा चिनिएका छन् । पार्टी एकता भएको धेरै नभएकालेपनि उनलाई सहजै प्रधानमन्त्री हुन दिने अवस्था छैन । किनभने प्रधानमन्त्री हुनकालागि श्रेष्ठ भन्दा त्याग गरेका अरूपनि नेता छन् माओवादीमा ।
फेरी बाबुराम भट्टराईका आलोचकका रूपमा रहेकालाई पनि प्रधानमन्त्री हुन सहज छैन । पार्टी भित्रका सबै पक्षलाई मिलाएर लैजान सक्ने, सबै बिचारलाई सम्मान गर्न सक्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय ज्ञान भएका, प्रचण्ड, वैद्य, बाबुराम र नारायणकाजी का तीनै धारले पत्याउने, उनी प्रधानमन्त्री भए पार्टी भित्र सर्वसम्मत गराउनपनि सहज हुने । नेपाली काँग्रेस र एमालेले पनि आपत्ति नजनाउने संभावना रहेकाले डा भट्टराईले बादललाई अगाडि सारेका हुन् । अहिले राष्ट्रिय सुरक्षा नीति माओवादीको प्राथमिकतामा परेको, जनसेना र नेपाली सेनालाई मिलाएर लैजान सक्ने र त्यसका लागि नीतिहरू बुझ्ने व्यक्तिको खाँचोपनि छ । बादल यी सबै परिस्थितिका लागि उपयुक्त देखिएकालेपनि उनले अगाडि सारेका हुन् ।




