कुन चाहिँ पार्टी ठिक त उसो भए ?
देशको राजनितिक अवस्था, दल र पार्टीका नेताबारे टिका टिप्पणी उठाउने गरेको धेरै भयो । केहि पाठक कुनै दलका अन्ध समर्थक देखिन्छन् । कुनै पाठक सबै दल खत्तम भन्छन् । नेता चोर हो भनेर आरोप गर्छन् । दलहरुको हुर्मत लिन्छन् । सबै नेतालाई एकै खाडलमा हाल्ने अब सम्म भन्न भ्याउँछन् । सबै दल बेठिक । नराम्रा । सबै नेता चोर । सबै उस्तै फटाहा । कसैलाईपनि देश र जनताको माया नभएको ।
नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवाद भन्छ । कांग्रेसको नीति त्यहि हो, त्यहि लेखिएको छ बिधानमा । २०४६ सालपछि अधिकांश समय नेपाली कांग्रेसले सरकार चलायो । देखिहालियो देशको हालत । देशमा बढ्दो महँगी, बेरोजगारी, हत्या, बलात्कार, तस्करी, सांसद किनबेच । अशान्ति । प्रशान पुरै राजनितिकरण । चुनावमा मत कब्जा, किनबेच। कूटनितिक असफलता । जनता र देश कंगाल । नेता अरबौंपती ।
एमालेको बहुदलिय सजनवाद । झन कति राम्रो नीति । सबै दल अटाउने, फल्ने, फुल्ने र फफ्रिने समाजवाद । तर ब्यवहारमा ? केहि समय एमालेले सरकार चलाउँदैमा देखियो कति राम्रो जनवादी काम गर्यो । सरकार त के आफ्नै पार्टी चलाउन नसकेर एमाले चिरा पर्यो । महाकाली सन्धि गर्दा भारतबाट बोराका बोरा पैसो थुपारे । टाउको दुख्दा बिदेशका अस्पत्ताल धाए । बिदेशबाट सिसा ल्याएर समेत आफ्ना घरका झ्याल हाले । देशमा खुलेका सानातिना बैंक, उद्योग, स्कूल, क्याम्पस नेताका साझेदारी नभएको कहिं कतै छैन । नेताका छोरा छोरी सबै बिदेशी दुतावासका सिफारिसमा बिदेशी क्याम्पसमा । सांसदलाई करोडौं मूल्यका पजेरो । नेपालीलाई खानी पानी, बिद्युत, स्वास्थ्य र शिक्षकालागि भनेर आएको बिदेशी रकम भ्रष्टाचार र कार्यकर्ता पाल्नै ठिक्क । नेताका आकाश छुने भवन । जनता एक छाक नपाएर सपरिवार आत्महत्या गरेका समाचारले संचार माध्यम ढाक्ने । आहा ! एमालेको जनवाद !
नागरिक समाज ? देखियो, यसलेपनि दिर्घकालिन समाधान दिन सक्दैन । राजाको शासन फाल्न एक ढिक्क भएका ति अहिले फुटेका छन् । कुनै कुन पार्टीका निकट त कुनै अर्को पार्टीका । क्रिष्ण खनाल बोल्न छोडे । पत्रकार महा संघक पूर्व अध्यक्ष विष्णु निष्ठुरी दम्पट भए । सुबोध प्याकुरेलहरु एमालेले जे गरेपनि चुँसम्म नबोल्ने भए। कनकमणी दिक्षितलाई मेडिया चलाउन पाए भएको छ । हरी रोक्का माओवादीतिर लागे । नन्दक्रिष्ण जोशीले नेपाली कांग्रेसले जे गरेपनि चुँ सम्म बोल्दैनन् । डा देबेन्द्रराज पाण्डेलाई वामपन्थि निकट भएको आरोप लाग्छ । यसरि शक्तिशाली नागरिक समाज आफैंमा फुटेर संबिधान सभा धरापमै पर्न आँट्दापनि खासै प्रभाव जमाउन सकेन । बुझियो, यसले नेता र जनतालाई आपतकालिन अवस्थामा सचेत पार्ने, उठाउने बाहेक राजनितिक बिकल्प दिन सक्दैन, भर पनि हुँदैन ।
माओवादीका प्रगतिशिल नारा देखेर जनताले पत्याए । तल्लो वर्गका हितलाई बढि केन्द्रमा राखेकालेपनि तिनले पत्याए । शिक्षा, रोजगार, स्वास्थ्य हाम्रो सरकार आएपछि अधिकारका रुपमा स्थापित गराउँछौ भनेकालेपनि जनताले आशा गरे। दलित, हेपिएका, दबिएका, धार्मिक रुपमा चेपिएका वर्गका नारा माओवादीले बढि उचालेका थिए । राज्य संरचनाको खाका उनैसित आशा लाग्दो देखिएको थियो । संबिधान सभासम्म अरु दललाई लतारेर ल्याएकालेपनि पत्याए । अर्को कारण यिनिहरु चुनावमा हारे भने जंगल भाग्छन् र फेरी अशान्ति हुन्छ भन्ने भयले पनि शान्तिका लागि भनेरपनि मत दिए । सरकारमा गयो माओवादी । शक्तिशाली मन्त्रालय उनैसित थिए । तर पेलेर जनताको पक्षमा, देशको पक्षमा क्रान्तिकारी काम, परिवर्तन दिन सकेन । माओवादी नेता कोहि आफ्नै मान्छे भर्ती गर्दैमा ठिक्क भयो । बाबुराम भट्टराईले बाहेक कसैले केहि गर्न सकेन । हुँदा हुँदा अधिकांश समय सेना समायोजनमै अल्झिएर सरकारबाट हात धोयो ।
साना पार्टी त वर्षे भल न हुन् । तिनको काम च्याँखे थाप्ने । जतिखेर जुन पार्टीलाई समर्थन गर्दा एकाध दुई मन्त्री पद पाइन्छ त्यतै लाग्ने । ठग्ने, लुट्ने केहि समय अनि पाखा लाग्ने । अब जनताले कसलाई विश्वास गर्ने त ? के राजनितिक पार्टी बिना देश चल्छ ? अहिलेको विश्वमा सैन्य शासन चल्छ ? कुनै हालतमा टिक्न सक्दैन । नेपाल जस्तो सियो देखि मियो सम्म बिदेशीको सहयोग बिना नचल्ने मूलुकमा कुनैपनि तानाशाही शासन टिक्न संभव छैन लामो समयका लागि । आखिर चाहिने फेरीपनि राजनितिक पार्टीनै हुन् । यदि सबै पार्टी खत्तम भए देश कसले चलाउँछ त ? लौन साथीहरु उपाय सुल्झाउनुस् !!!!!




