के के भयो हिजोको बैठकमा ?
हिजो मंगलबार बेलुका कोटेश्वरको पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालयमा बसेको एमाले, कांग्रेसका नेताहरू सम्मिलित बैठकमा तीनवटै पार्टी आफ्ना अडानमा कसिकसाउ देखिए । प्रधानमन्त्री माधव नेपालको राजीनामा नआई माओवादी पछि नहट्ने र कांग्रेस-एमालेले पनि समायोजन हुने लडाकुको संख्या निर्धारण तथा सम्पत्ति कब्जालगायतका विषय हल नभई सरकार परिवर्तनको मुद्दालाई र्समर्थन गर्ने अडान राखेका कारण हिजोको बैठक टुंगोमा पुग्न नसकेको हो ।
तीनदलीय छलफलमा प्रचण्डले प्रधानमन्त्रीको राजीनामा आओस्, माधवजी नै कामचलाउ सरकारप्रमुख हुने हो, त्यस्तो स्थितिमा हामी संविधानसभाको म्याद थप्छौं त्यसपछि अरू सहमति गर्दै जाउँला भन्ने प्रस्ताव राखेका थिए । तर, एमाले र कांग्रेसका नेताले संविधानसभाको म्यादलाई प्रधानमन्त्रीको राजीनामासित जोडौं भन्दै प्रचण्डको प्रस्तावलाई सुनुवाइ गर्न अस्वीकार गरिदिए ।
हिजोको बैठकमा कांग्रेस नेताले माओवादीलाई निकै कडा आवाजमा सम्झाउने प्रयास गरे, ‘संविधानसभाको आफै“ रक्षक र जन्मदाता भन्ने अनि आफै भक्षक हुने ? कांग्रेस-एमालेले संविधानसभा विघटन गरी राष्ट्रपति शासन लगाउन खोजे भनी हल्ला मच्चाउने अनि हामीले म्याद थपौ“ भन्दा नमान्ने ?’ कांग्रेस नेताहरूको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । बैठकमा सहभागी एमाले नेताहरूले जेठ १४ पछि कुन सुन्दर अनुहारमा कताबाट, क-कसको प्रेतात्मा पसेर विध्वंस मच्चाउने हो, अहिल्यै सोचौं भन्ने तर्क गरेका थिए । तर, प्रचण्डले पहिला प्रधानमन्त्रीको राजीनामा अनि मात्रै बा“की सहमति हुन सक्छ, हाम्रो केन्द्रीय समितिको निर्णय यही छ भन्ने तर्क अघि सारे । कांग्रेस-एमालेका नेता भने पहिला सहमति त्यसपछि मात्रै राजीनामा भन्ने अडानमा देखिएपछि हिजो सहमति हुन नसकेको हो ।
हिजोको बैठकमा अध्यक्ष प्रचण्ड, उपाध्यक्षहरू तथा महासचिव बादल र सचिव सिपी गजुरेलसमेत सहभागी थिए । उपाध्यक्ष प्रकाशले आफ्नो दललाई एनेकपा माओवादी फिर्ता लेऊ, पार्टी एनेकपा माओवादी हेरौं पार्टी भन्न थाल्या’छन्, त्यसैले हामी पोजिसन फेर्न सक्दैनौं भने । प्रचण्डले एकजना प्रधानमन्त्रीलाई बोकेर तपाईंहरू सबै सहमतिको बाटो बन्द गर्ने हो भने दूर्घटना निम्तिन्छ भन्दै आक्रोशसमेत पोखे ।
अन्ततः हिजोको बैठकमा कांग्रेस नेताहरूको प्रस्ताव थियो- समग्र प्याकेजमा दुई दिनमा सहमति खोज्न सकिन्न, त्यसैले १५ दिनमा सहमति खोजौं, अहिले तीन नेताको वक्तव्य निकालेर संविधानसभाको म्याद थपौ“, एउटा पार्टीको नेता जोसित सहमति खोज्दै हुनुहुन्छ, उसलाई पनि सम्मानजनक बहिर्गमनको बाटो दिनुपर्छ भन्ने प्रस्ताव गरेका थिए । अब त स्थिति यस्तो देखिएको छ कि लडाकुको संख्या र कब्जा सम्पत्ति फिर्ताको अडान कंग्रेसले नछाड्ने, सबै कुरामा सहमति नभई प्रधानमन्त्रीको राजीनामा नआउने र राजीनामा नआई माओवादी पछाडि नहट्ने । संविधानसभाको म्याद थप्ने सम्भावना यस्तै तानातानीका कारण फिफ्टी-फिफ्टीको स्थितिमा रहेको छ ।
सेनाको अर्को तयारी
यसैबीच, संविधानसभाको म्याद थप्नका लागि राजनीतिक दलबीच सहमति हुन नसक्ने देखिएपछि नेपाली सेनाले हिजोदेखि आफूलाई अरू बढी र्सतर्क बनाएको छ । जंगी अड्डास्थित युद्धकार्य महानिर्देशनालयले हिजो एक र्सर्कुलर पृतनाहरूलाई जारी गरी उच्च र्सतर्कतामा बस्न निर्देशन दिएको हो । सेनाले गरेको हिजोको र्सर्कुलरदेखि ‘स्टेट अफ अलर्टनेस’लाई ग्रिनबाट ‘यल्लो’ (पहेंलो) मा लगेको छ । ‘यल्लो’बाट अघि बढ्नासाथ त्यो स्टेट अफ अलर्टनेस रेड (रातो) मा पुग्छ, जुन भनेको सेना ब्यारेकबाट बाहिर निस्कने स्थिति हो । सरकारले गत ६ गते नै जेठ १४ पछि सेना परिचालन गर्न सकिने औपचारिक निर्णय गरिसकेको छ । (आज बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित समाचार) ।




