काम नपाएका केपी ओली र छियाछिया एमाले

रामहरी ओझा / डोटी

एकिकृत नेकपा माओवादीको अनिश्चितकालीन आम हड्ताल, जुलुस र वन्दका कारण गएको साता अस्त व्यस्त र तनावग्रस्त नै रह्यो । हड्तालको अघि र पछी दौड्दै गर्दा थकानका कारण यो कलमजीवीलाई अलि असञ्चो जस्तो भयो । शुक्रवार राती माओवादीले आम हड्ताल स्थगन गरेको घोषणापछि जनताले कही राहतको महसुस पनि गरे । अलिअलि ज्वरो आएका कारण आईतवार बिहान अलि ढिलो उठ्न सकियो । सिरानीमा राखेको रेडियो ट्युन गर्दा अन्तरसम्वाद कार्यक्रम प्रसारण हुन थालेको थियो । आईतवारका अथिती नेकपा एमालेका प्रभावशाली भनिएका नेता के पी ओली रहेछन ।

ओछ्यानमा पल्टिएरै ओलीसंगको अन्तरवार्ताको पुरै अंस सुनियो । सुन्दा सुन्दै ओलीसंग एकिकृत नेकपा माओवादीलाई गाली गर्नु, उस्को आलोचना गर्नु वाहेक अरु कुनै काम छैन कि भन्ने लाग्यो । शव्दवाणमै बिद्यावारिधी प्राप्त गरे जस्तो गरी ओली महोदयले एकोहोरो रुपमा माओवादीलाई मात्र दोषी देखिरहेका थिए । कुराकानी सुन्दा लाग्थ्यो, ओली त साच्चै कुनै पनि कारणले दोषी छैनन् । उनी त यो देशका सच्चा नेता हुन । उनलाई माओवादीको आलोचना गर्नका लागि नै खर्टाईएको छ ।

निश्चित रुपमा एकिकृत नेकपा माओवादीको बुद्धि पनि पछाडी छ । हतारमा निर्णय गर्ने, मञ्च पायो भने प्याच्च वोल्ने र पछि सवै कुरा फिर्ता लिए भन्ने माओवादी कामरेड प्रचण्डको उहिले देखिकै बानी हो । आफैले वनाएको संबिधानलाई धोती लगाएर आफुहरु कोट पाईण्ट र र्टाईमा आम हड्तालमा गए । सडकवाट प्रधानमन्त्रीको राजीनामा माग्ने र आफु प्रधानमन्त्री वन्ने कल्पनाका साथ देशभरीवाट बिभिन्न धम्की र प्रलोभनमा जनतालाई काठमाण्डौं उतारे । तर, त्यसको परिणाम के होला भनेर समयमै सोचेनन् । सडकवाटै सत्ता कव्जा गर्ने, तत्काल जनगणतन्त्र स्थापना गर्ने भुत माओवादीमा सवार भएको छ । संबिधानसभाको सवैभन्दा ठुलो दल भएर पनि उस्ले संबिधान निर्माण र सरकार गठन बिचको भिन्नता छट्याउने प्रसाय गरेको छैन । हरेक कुरामा उस्को बखेडा मात्र छ । त्यसकारण माओवादी आलोचनाको भागेदार छ । तर, कांग्रेस एमाले लगायतका अरु दलहरु दोषी होईनन् त ? प्रश्न यहाँ नेर पनि छ ।

कमरेड ओलीले एकोहोरो रुपमा आलोचना मात्र गर्न जानेका छन । लाग्छ, ओलीले अध्ययन गरेको बिद्यालयमा “आलोचना” भन्ने बिषयको मात्र पर्ढाई हुने गरेको थियो । त्यसबाहेक ओलीले अरु कुनै बिषय पढ्नु भएन । स्थायी समितिको निर्णय पार्टी अध्यक्षलाई स्मरण गराउन खोज्दा आफ्नै पार्टी उपाध्यक्ष वामदेव गौतमको कडा आलोचना गरी कारवाहीको माग गर्ने ओली कमरेडले आफुले के गरेको छु भन्ने कुराको पनि हेक्का भएन । एमालेभित्र गुटवन्दी गरी एमालेलाई छियाछिया पार्न सफल ओली कमरेडले आफ्नै पार्टी अध्यक्षको समेत आलोचना गर्न कहिल्ले छोडेनन् । पार्टी भित्र जिल्लाका बिभिन्न स्थानहरुमा पार्टी समातान्तर कमिटी गठन गर्दा, चरम गुटवन्दी गरी कार्यकर्ताहरुमा बैमनश्य फैलाउँदा पार्टीले कारवाही गर्छ र गर्नुपर्छ भन्ने जानकारी सायद कमरेड ओलीलाई थिएन होला । भयो पनि त्यस्तै पार्टीलाई छियाछिया हुँदा समेत एमालेले ओलीका बिरुद्ध कारवाहीको “क” सम्म पनि उच्चारण गरेन ।

चुनाव जितेर मन्त्री प्रधानमन्त्री वन्ने सपना वोकेका ओलीलाई संबिधानसभाको निर्वाचनमा झापाली जनताले गल्हत्याएपछि ओलीको आक्रोस वढ्न स्वभाबिकै हो । एमालेको आठौं महाधिवेशनमा पार्टीको सर्वोच्च स्थान अध्यक्षका लागि निर्वाचन लडेका ओलीलाई नेता कार्यकर्ताहरुले पनि धोती लगाई दिएपछि सन्किएका ओली आफुले जे वोल्यो त्यो नै ठिक अरुले वोलेको सवै गलत भन्ने मानसिकतामा छन । पार्टी भित्रै कांग्रेसपरस्त भन्ने आरोप पनि लागेका ओलीले जननता मदन भण्डारीले प्रतिपादन गरेको “जनताको बहुदलीय जनवाद” को अर्धबिराम र पूर्णबिराम पनि परिवर्तन गर्न पाईदैन भनेर जवजको व्याख्या गर्नमा समेत रोकावट ल्याए । तरपनि उनी अहिले पार्टीमा बफादार देखिएर पार्टीभित्र अन्तरकलहको भुमरीमा धकेल्दै गएका छन । जिल्ला जिल्लामा हनुमानहरु पालेर संस्थापन पक्षका बिरुद्ध उचाल्दै जाने कमरेडलाई अहिलेको अवस्था “संवाद, सहमति र सहकार्य” हो भन्ने कुरा कस्ले बुझाईदेला ?

नयाँ संबिधान जारी गर्ने मिति अव दैलोभित्र पसिसकेको छ । यो अवस्थामा नेपाली राजनीतिक दलहरुले बिशेषगरी आफुलाई हात्तिछाप भन्ने माओवादी-कांग्रेस-एमालेले संयमित भएर आपसी समझदारी देखाउनु पर्ने हो । कमरेड ओली जस्ताहरुका शव्दवाणले सहमति होईन बिमतीमात्र अगाडी ल्याउँछ । सहकार्य होईन शत्रुताको सत्रुताको वाटो रोज्छ र जसरी संबिधान निर्माणका दुई वर्ष आलोचनामै गएका छन ठिक त्यसरी नै अवका दिनहरुपनि आलोचनामै जानेछन । यदि, दलहरुले सहमित गर्न सक्दैनन् भने शुक्रवार स्वतस्फूर्त काठमाण्डौंमा आर्लिएका ५० औं हजार नेपाली जनता सडकमा आउनेछन र यि हात्तिछाप पार्टीको अवस्था पूर्व राजा ज्ञानेन्द्रका जस्तै हुने कुरामा दुई मत छैन । त्यस अवस्थामा कमरेड ओली जस्ताहरुको स्थान कहाँ होला ?

व्यक्तिपिच्छे र जिल्लापिच्छे गुटैगुटले छियाछिया वनेको एमाले हेर्दा एमाले भित्रैका इमानदार र बिचारवान कार्यकर्ताहरु अन्यौलमा परेका छन । पार्टी बिभाजन हुने चिन्ताले उनीहरुले राम्रोसंग खाना पनि खान सकिरहेका छैनन् । उनीहरुलाई न त पार्टीसँग व्यक्तिगत रुपमा कुनै स्वार्थ लिनुछ, न कुनै पद प्रतिष्ठाको आस छ । उनीहरु त जनताको बहुदलीय जनवादी सत्ता स्थापना भएको मात्र हेर्न चाहन्छन । त्यसका लागि पार्टी एकजुट भएको हेर्न चाहान्छन । पार्टी टुक्रियोस भन्ने कामना गर्दछन । त्यसका लागि कमरेड ओलीले पहल गरेको भए सायद केही हुने पो थियो कि ? आफ्नो पार्टी दिनहुँ बिचारिकतामा ह्रास आईरहेको जानकारी हुँदाहुँदै पनि माओवादीको चर्को आलोचना गरेर आफ्नो गुट ठुलो वनाउने होडमा लागेका ओली कमरेडको अरु कुनै काम छैन कि ?

तपाइँको प्रतिक्रिया