बिदेशी प्रभुले धम्क्याएपछि लत्रियो माओवादी
आज माओवादीले अनिश्चितकालिन आम हडताल फिर्ता लियो । पाँच दिनसम्म भयो आम हडताल । यो आम हडताल बिजय नभएसम्म जारी रहने भनेर घोषणा गरेका थिए । उनीहरुको न्युनतम माग नै माधव नेपाल नेत्रित्वको सरकारले राजिनामा दिने, आफ्नै नेत्रित्वमा राष्ट्रिय सहमतीको सरकार बनाउने। तर के ति माग पुरा भए ? जनता बिजय हाँसिल नगरि फर्कीन्न भनेको होइन ? के जनता बिजय भए ? जनता बिजय भएनन् कि जनता बरु ठाउँ ठाउँमै हारे । जनतालाई हराइयो । जनता माथि धोका भयो । देश माथि धोका भयो ? कसरि ?
माओवादीको आम हडतालका कारण बाह्र कक्षाको परिक्षा रद्द भयो । सयौं नागरिक बिरामी परे। अरबौंको आर्थिक क्षती भयो देशलाई । जनताले धम्की सहे । अत्याचार भोगे । थुप्रैको टाउको फुट्यो । घाईते पारियो । सर्वसाधारण आतंकित बने । गरि खाने हजारौं जनताको रोजी रोटी खोसियो । चन्दा र धम्कीले गाउँका गाउँ आतंकित बने । पर्यटन ब्यवसायमा लामो समयसम्मका लागि क्षती भयो । उद्दोग ब्यवसाय ठप्प पारियो । अनि के फाइदा भयो यो आम हडतालले ? यहि हो आम हडतालको उपलब्धि ?
उनीहरुको स्थायी समितीको बैठकले ‘बन्दमा जनताले पाएको दुःख र दुःखको नाजायज फाइदा उठाउँदै जनताविरुद्ध जनतालाई प्रयोग गर्ने वर्तमान गठबन्धन सरकारले षड्यन्त्र गरेका कारण’ हाललाई बन्द स्थगित गरेको जानकारी दिएको छ । के बन्दमा जनतालाई सास्ति हुन्छ भन्ने हेक्का माओवादीका बडे बडे नेतालाई जानकारी थिएन ? कुन ग्रहमा बस्छन् ति बन्द र हडतालले जनतालाई दुख हुन्छ भन्ने सम्म हेक्का नहुने ? आफ्नो सरकार टिकाउन, चलाउन कुन देशको सरकारले षडयन्त्र गर्दैन ? संसारमा जहाँपनि हुन्छ । सरकारको षडयन्त्र चिर्न नसक्ने, जनताको मन जितेर त्यसलाई चुनौती दिन नसक्नेले किन आन्दोलन गर्नु ? माओवादीले आन्दोलन शुरु गर्दै थाहा थिएन आम हडतालमाथि षडयन्त्र हुन सक्छ भन्ने ?
जनतालाई पाँच दिनसम्म आम हडतालमा साथ दिएकोमा धन्याबाद रे । के को धन्याबाद जनतालाई ? जनताले बरु माओवादीलाई धन्याबाद दिनु पर्छ कम्तिमा धोका र सम्झौतामा टुंगिने आम हडताल बेलैमा रोकियो । तुहिनेनै थियो बेलैमा तुहियो । देशलाई आर्थिक रुपमा टाट पल्टाउने हडताल रोकियो । लाखौं जनताको पेट मार्ने खेल रोकियो । माओवादीका खुट्टा कमजोर छन्, ह्याउ छैन बिजय गर्ने भन्ने तथ्य बेलैमा बुझ्न पाए जनताले ।
यत्रादिन जनतालाई शास्ति दिएर, तर्साएर, दुख दिएर आन्दोलन फिर्ता ? के वार्ताको आव्हान आन्दोलन शुरु गर्नासाथै गरिएको थिएन ? बिना उपलब्धि आम हड्ताल रोक्नु थियो, सामान्य बिरोधका कार्यक्रम सञ्चालन गर्नु थियो भने यतिका दिन किन आम हडताल ? अमेरिकी राजदूतले बाबुराम भट्टराईलाई भेटेर आन्दोलन फिर्ता लिन अर्थ्याए। यूरोपेली यूनियनका कूटनितिज्ञहरुले २४ घण्टाभित्र आम हडताल रोकेर सहमती गर्न दबाब दिए । भारतीय राजदूतले आम हडताल रोक भन्दै थर्काए । त्यसको २४ घण्टा पनि नबित्दै माओवादीले टाउको लत्रक्क पारेर आम हडताल फिर्ता लियो । आखिर को झुक्ने रहेछ त बिदेशी प्रभुका अगाडि ? के मुख, कुन नारा, के आश्वासन दिँदै अब जनताको अगाडि जाने होला माओवादी ? जनता नजिति फर्किंदैन भन्नेले अब जनतालाई के जवाफ दिने होलान् ? उफ्, हे भगवान आची गर्नेलाई भन्दा देख्नेलाई लाज !!!




