देश झन रक्तपातको बाटोतिर

माओवादी र कतिपय नाम मात्रका दल मिलेर बनेको २२ दल अनी सरकारको हठले गर्दा देश ठुलै रक्तपातमा जाँदै छ । शान्तिपूर्ण रुपमा शुरु भएको प्रदर्शन र आम हड्ताल पाँचौं दिन पुग्दा देशभर ठाउँ ठाउँमै भिडन्त भए । निकै ठाउँमा सुरक्षाकर्मीले हस्तक्षेप गर्नुपर्ने अवस्था स्रिजना हुन पुग्यो । हुँदा हुँदा पञ्चायतीकालमा झैं कर्फ्यु लगाउनुपरेको छ देशका केहि शहरमा । बन्द र हडतालले गर्दा जनजिवन कष्टकर बनेको छ । नागरिकहरुको अनाहकमा ज्यान जान थालेको छ । सवारी साधनहरुमा आगो झोसिएको छ ।

हिजोदेखि भिडन्त र माओवादीमाथि प्रतिकारका घटनामा उल्लेख्य ब्रिद्दी भएपछि माओवादीले आज देखि डटेर प्रतिरोध गर्न निर्देशन दिएको छ । यो घटनाले माओवादी झन कठोर बन्दै गएको देखिन्छ । जसले गर्दा आज देखि देशैभरी भिडन्त, मारपिट र द्वन्दका घटना अझबढि हुने संकेत देखिएको छ ।

हिजो देशका जति ठाउँमा माओवादीको नाममा प्रतिकार भए त्यसमा  सत्तासीन पार्टीका कार्यकर्ता र मण्डलेलाई प्रयोग गरि सरकारले माओवादी आन्दोलनलाई उत्तेजक बनाउने षडयन्त्र गरेको दाबी गरेको छ  माओवादीले। मण्डले, हिन्दु अतिवादी र लोकतन्त्र मास्ने शक्तिलाई प्रयोग गरेर सरकारले पञ्चायती शैली अपनाएकोले त्यसको डटेर प्रतिरोध गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको हो ।

हिजो र अस्ति भएका प्रतिरोधका घटना र तिनमा सहभागिहरु हेर्दा न त सरकारले भने झैं त्यसमा पूर्णरुपमा स्थानिय स्तरको प्रतिरोध भएको छ । नत माओवादीले दाबी गरेझैं पुरै सरकारी संरक्षणमा रहेका गुण्डा, अतिवादी, हिन्दू कट्टरपन्थी र मण्डले कार्यकर्ताहरु मात्रै छन् । कतिपय प्रतिकारका घटनामा हात हातमा लौरो, चिर्पट र ढुंगा मुढा बोकेका युवाहरु मात्रै देखिएका छन् । त्यसको अर्थ स्थानिय स्तरबाट स्वतस्फूर्त रुपमा प्रतिकार भएको भन्ने अवस्था छैन ।

यदि स्थानिय स्तरको प्रतिकार हुँदो हो त सबै वर्गका, सबै क्षेत्रका र स्थानिय जनको मिश्रित सहभागिता देखिने थियो । राजनितिक स्वार्थप्रेरित र पार्टीगत नारा लाग्ने थिएनन् । त्यसैले कतिपय ठाउँमा सरकार सञ्चालक पार्टीकै समर्थन, निर्देशन र संलग्नतामा युवा संगठनहरु प्रतिकारमा उत्रिएका छन् । त्यसको उदाहरण, सोलुखुम्बु, धनकुटा र बिरगञ्जलाई दिन सकिन्छ । र सरकार सञ्चालक दलहरुले संयुक्त बैठक बसेरै माओवादी आन्दोलनको प्रतिकार गर्ने संयुक्त निर्णय गरि सार्वजनिक नै गरेकाले प्रतिकारमा उत्रनेहरुलाई सरकारी संरक्षण छ भन्ने त प्रष्टै हुने नै भयो । हिजै एमाले अध्यक्षले आफ्ना युवाहरुलाई प्रतिकारमा नउत्रन आव्हान गरेबाटपनि बुझिन्छ कि प्रतिकारमा  एमालेको युवा संगठनका कार्यकर्ताहरुपनि परिचालित थिए ।

तर पछिल्लो भिडन्त र प्रतिकारका सबै घटनामा पक्कैपनि सरकारी संरक्षण र सरकार सञ्चालक दलका युवाहरु मात्रै छैनन् । किनभने माओवादीका कार्यकर्ता र प्रदर्शनकारीहरुले स्थानिय जनतालाई अनावश्यक दुख दिने, धम्काउने, अनाहकमा आक्रमण गर्न थालेपछि तिनले सहन नसकेरपनि प्रतिकार गरेका छन् । सतुंगल, बुढानिलकण्ठ र अन्य केहि ठाउँमा देखिएको सहभागितालेपनि त्यो स्थानिय स्तरबाटै प्रतिकार र आम हडतालको अवज्ञा गरिएको हो भन्ने देखाउँछ । किनभने त्यसमा हरेक उमेर र क्षेत्रका जनता सहभागि देखिए। राजनितिक नारा र प्रतिसोध भन्दा अत्याचारको बिरोध गरे। शान्तिपूर्वक बाँच्न देउ भन्ने नारा लगाए।

वास्तबिकता जे भएपनि हाम्रा पार्टीहरुले त्यसलाई मनन गर्ने होइनन् । सरकार लाखौंको जुलुसलाई केहि हजार ठिटाहरु उफ्रेको भन्छ ।  माओवादी लाखौंको जनमानस भन्छ । सिंगै राष्ट्र त्यहिँ उत्रेको देख्छ । बिरोध गर्नेहरुमाथि बिरोधी ठान्छ, आलोचना भन्दैन । सरकारले स्थानिय प्रतिकार भनेर पन्छिन्छ । उता माओवादी सरकार संरक्षित गुण्डा मात्रै भन्छ । यिनै दुइ पक्षका अतिवादी सोचले गर्दा दुबै पक्ष अझै मारपिट, द्वन्द र भिडन्त गर्न खोजिरहेका छन् । सरकार माओवादी दुबै संयमित नहुने हो भने प्रतिकार र प्रतिरोधका नाममा आज देखि झन रक्तपात हुने देखिएको छ ।

त्यसबाट कुनै हातलागि भए कुर्सीमा घुम्ने नेता हुन् । झण्डा हाल्लाउँदै शहिदको नाममा रजाई गर्ने पनि नेता हुन् । लड्नेको नाममा सरकार बनाएर आफ्ना छोराछोरी तिनैले बिदेश पढाउँछन् । तर मर्ने चाहिँ प्रतिकार र प्रतिरोध भन्दै भिडन्तमा उत्रिने सामान्य नागरिक !!!!!

तपाइँको प्रतिक्रिया