डरलाग्दो बन्दै छ स्थिति

मैले अस्ति नै लेखेको हो, भोलीबाट स्थिति सहज हुन्न भनेर । नभन्दै त्यस्तै भयो। हिजोबाट स्थिति डरलाग्दो गरि विकास भएको देखियो । किनभने हिजो देशका धेरै ठाउँमा  भिडन्त भए । यसअघि खासगरि काठमाडौं, पोखरा र त्यसपछि मुलत तराईका जिल्लामा देखिएको थियो प्रभाव । तर हिजोदेखि बन्दको प्रभाव भिडन्तका रुपमा धनकुटा देखि हुम्ला र सोलुखुम्बु जस्ता उच्च पहाडी भागसम्म फैलियो । कतिपय ठाउँमा स्थानिय जनता बन्दको प्रतिकारमा उत्रिएको भनेपनि स्थिति त्यस्तो देखिएन । बरु आन्दोलनकरी माओवादी बिरुद्द संसदबादी दलहरुले आफ्ना कार्यकर्तालाई प्रतिकारमा उतारे ।

धनकुटामा वाइसियलमाथि एमालेको युथ फोर्स मुकाबिला गर्न तम्सियो । हुम्लामा माओवादी बिरुद्द कांग्रेस र एमालेका कार्यकर्ता संयुक्त रुपमा उत्रिए । भक्तपुरमै वाईसिएल र युथफोर्सको भिडन्त भयो । उता सल्लेरीमा बन्द र बन्द बिरोधी भनिएपनि त्यहाँ दुई पक्षका युवाहरु हात हातमा चिर्पट र दाउरा लिएर एक अर्का बिरुद्द नाराबाजी गर्दै सडकमा उत्रिए । यस्ता घटना हिजो ह्वात्तै बढेको देखियो ।

अहिले राजनितिक दलहरुले माओवादी बिरुद्द आफ्ना जनवर्गिय संगठनलाई सांगठनिक रुपमै प्रतिकारमा उतारेका छन् । हुन त केहि दिन अघि सरकार सञ्चालक दलहरुको संयुक्त बैठकलेनै माओवादी बिरुद्द आफ्ना जनबर्गिय संगठनलाई परिचालन गर्ने निर्णय गरेको थियो नै। नभन्दै हिजोबाट ति दलले प्रतिकारमा उतारे ठाउँ ठाउँमै । आजबाट त्यो अवस्था झन बढ्दै जाने देखिन्छ ।

सरकार समर्थित दलका कार्यकर्तालाई सरकारको समर्थन हुनेनै भयो । आखिर तिनैको निर्देशन, संरक्षण र आव्हानमै ति परिचालित भएका हुन् । उता माओवादीपनि गर कि मर भनेर सडकमा उत्रिएको छ । तिनका कार्यकर्तापनि पछि हट्ने देखिन्न । बरु पहिलेभन्दा निक्कै शान्तिपूर्ण रुपमा भैरहेको यो आन्दोलनमा प्रतिकारगर्नेहरुमाथि ति झन जाइलाग्ने छन् । माओवादीले खोजेको, पनि त्यहि छ – सरकार र सरकार समर्थित दलका कार्यकर्ता दमनमा उत्रिउन् अनि तिनलाई प्रतिकार गर्न सजिलो होस् । त्यस्तो अवस्थामा घाटापनि सरकार पक्षलाईनै बढि पर्ने आँकलन माओवादीले गरेको छ । कमजोर र लाछि सरकारको पक्षमा वकालत गर्ने एक त धेरै दिन टिक्दैनन् । अर्को सरकारले शान्ति सुरक्षा दिनुको साटो आफ्नै संरक्षणमा दलका समर्थक उतारेर दमन गरेको आरोप लगाउन पाइन्छ ।

अहिले त देशका केहि भागमा खासगरि युवाहरु मात्रै सामान्य झडपमा उत्रिएका छन् । यदि स्थिति चर्किँदै जाने हो भने भोली किसान, महिला, मजदूर, श्रमिक सबै संगठनका उठ्न सक्छन् । हुँदा हुँदा जातीय संगठन र धार्मिक नारा उरालेर द्वन्द शुरु हुन सक्छ । छिमेकी मुलुक त्यस्तै दाउ हेरेर बसिरहेकोपनि छ । अहिले लाठी र चिर्पटमा सिमित रहेको सामान्य झडप आधुनिक हतियारले लिन सक्छ । जातिय नारा उचालेर बसेकाहरुको लागि मलिलो भूमी बनाइदिन सक्छ यसले। यस्तै अवस्थामा क्षेत्रिय नारा उराल्ने र देशलाई द्वन्दमा धकेल्न चाहने सबैखाले तत्वहरुले फाईदा उठाउन थाले भने देश ग्रिहयुद्दमा फस्न कत्ति बेर लाग्दैन । अहिलेनै आत्तिहाल्नु पर्ने अवस्था नभएपनि संकेतहरु त्यसै गरि बिकास हुँदै गएको देखिएका छन् ।

सरकारले शान्तिपूर्ण रुपमा आन्दोलन गर्छन् भने माओवादीलाइ त्यो अधिकार दिनुपर्छ । माओवादीलेपनि प्रजातान्त्रिक अधिकारका नाममा जबर्जस्ति गर्न पाउँदैन । जबर्जस्ति गरेर, थर्काएर र धम्क्याएर प्रदर्शनमा सभागी गराउनुपनि प्रजातान्त्रिक अधिकार होइन नै । जबर्जस्ति गरेर ल्याएका सामान्य नागरिक बन्दका समर्थक हुन सक्दैनन् ।

शान्तिपूर्णरुपमा आन्दोलन गर्न पाउनु प्राजातान्त्रिक अधिकार हो । जब प्रजातान्त्रिक अधिकारहरु खोसिन्छन् तब अप्रजातान्त्रिक बिधी अपनाउनुपर्ने हुनसक्छ । त्यसले कसैको हित गर्दैन । नत्र सांगठनिक रुपमै प्रतिकारमा उतार्ने हो भने त्यसले मुलुकलाई नै दिर्घकालिन द्वन्दाम फसाउन सक्छ । त्यस्तो अवस्था स्रिजना भएमा फाइदा कसैलाई हुँदैन । दुख हामी नेपालीले पाउँछौं । आफ्नै देश खतरामा पर्छ । बरु त्यसको जिम्मेवार सरकार र प्रमुख दलहरु हुनेछन् । त्यो अवस्थामा नेपाली जनताले कुनैपनि दल र नेतालाई माफी दिने छैनन् ।

तपाइँको प्रतिक्रिया