संबिधान बनाउने भन्दा प्रधानमन्त्री पदको दाउपेच
बाहिर सरकार जति आफ्ना मुद्दामा अडिग देखिन्छ । भित्र भित्रै त्यस्तो छैन भन्ने धेरै लाई हेक्का छैन । बाहिर बाहिर २२ दलको समर्थनमा प्रधानमन्त्री बनेका माधव नेपालले अड्डि कसेको देखिन्छ प्रधानमन्त्री पदबाट राजिनामा दिन्न भन्दै। तर उनलाई तु राजिनामा गराउँछु भन्दै त्यहि दलकै नेता हिँडिरहेका छन् । वार्ताका टेबलमा संबिधान निर्माण, सेना समायोजन, कब्जा गरिएका घर जग्गा फिर्ता जे जे भनिएपनि अहिले प्रधानमन्त्री पदको मुद्दा प्रमुख तिन दलका प्रमुख नेताबाट महत्वपूर्णका साथ उठाइने गरेकोपनि धेरैलाई हेक्का नहोला । तर वास्तबिकता त्यहि भैरहेको भित्र भित्रै । प्रधानमन्त्री पदका लागि तिन वटै दलका नेता हारालुछ गर्ने, एकले अर्कोलाई ‘मलाई प्रधानमन्त्रीमा समर्थन गर’ भन्ने गरिरहेका छन् ।
प्रधानमन्त्री पदका लागि अहिले हारालुछ गर्नेमा नेपाली कांग्रेसका नेता सबैभन्दा अगाडि देखिएका छन् । देउवापत्नी आरजु राणा (देउवा) शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए अहिलेको राजनितिक समस्या हल गर्न सक्ने भन्दै कूटनितिक क्षेत्र चहार्ने गरेकि छन् । कांग्रेस संसदिय दलका नेता रामचन्द्र पौडेलले त प्रचण्ड निवासमा गएर प्रचण्डसित सिधै प्रस्ताब राखे- तपाईको लागिपनि प्रधानमन्त्रीमा सहमती हुने अवस्था छैन । मलाई प्रधानमन्त्रीमा समर्थन गर्नुस् । म माधव नेपाललाई राजिनामा गराउँछु । त्यसपछि सहमती गरेर जाउँ ।
उता नेपाली कांग्रेसले भने पार्टीगत रुपमै अब सरकारको नेत्रित्व फेरिने अवस्थामा दुई ठुला दलले सरकारको नेत्रित्व गरिसकेकाले पालो कांग्रेस को हो । कांग्रेसको नेत्रित्व कार्यबाहक सभापती शुसिल कोइरालाले गर्ने निर्णयनै गरेको छ । यसरि कांग्रेसमा शुसिल कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेल तिनै जनाले प्रधानमन्त्रीको पद दाबी गरिरहेका छन् । तिनै पक्ष प्रधानमन्त्री पदकलागि आफैं सबै भन्दा उपयुक्त भएको दाबी गर्ने र एकले अर्कोलाई छिर्कि लगाउने गरिरहेका छन् । अहिले माधव नेपाललाई राजिनामा गर्न नदिनुपनि यि तिन समदूरीका ठानिएका नेतामा आपसी प्रतिस्पर्धा र हानथापकै कारण हो भनिन्छ । आफु प्रधानमन्त्री हुनु भन्दा बरु माधव नेपालनै ठिक भन्ने रणनीति ।
उता एमालेकै अध्यक्ष झलनाथ खनाललेपनि आफ्नो पक्षमा लबिङ गरिरहेका छन् । एक महिना अघिनै उनले प्रचण्डलाई त्यो प्रस्ताब राखेको बताइन्छ । अहिले पनि झलनाथ खनालले मधेशी जनअधिकार फोरमका नेताहरुलाई भेटेरै आफुलाई प्रधानमन्त्री पदमा समर्थन गर्न आग्रह गरिसकेका छन् । उनलेपनि अहिले प्रचण्डको पक्षमा एमाले र कांग्रेसले सहमती नगर्ने, माधव नेपाललाई जसरिपनि नहटाए माओवादीहरु सहमतीमा नआउने हुनाले आफुनै अहिलेको उत्तम दाबेदारका रुपमा प्रस्तुत गरेका छन् । उनले आफ्नो नेत्रित्वमा राष्ट्रिय सरकार निर्माणको प्रस्ताबपनि गर्दै हिँडेका रहेछन् ।
माओवादी अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ को त झन बिकल्प नै देखिएन । पहिले राजिनामा दिँदा अब सरकारमा नजाने बरु पार्टी हाँक्ने बताएका उनले फेरी प्रधानमत्री पदकै कुर्सी ताके । पार्टीबाटै फेरीपनि प्रचण्डनै प्रधानमन्त्री हुनुपर्ने, प्रचण्डकै प्रधानमन्त्रीत्वमा राष्ट्रिय सहमतीको सरकार निर्माण गर्ने निर्णय गराए । प्रधानमन्त्रीमा प्रचण्ड बाहेक अरुको बिकल्पबारे प्रस्ताब गर्दा कुनैपनि हालतमा त्यो मान्यै नहुने माओवादी पार्टीलेनै सार्वजनिक गर्यो ।




