आक्रामक हुन्छ अबको आन्दोलन

लगातार तिन दिनदेखि आम हड्ताल गर्दै आएको माओवादी अब आक्रमक रुपमा प्रस्तुत हुने देखिएकोछ । मे १ को विशाल प्रदर्शनपछि सायद माओवादीले जनताको शक्ति देखेर वर्तमान सरकारले राजिनामा दिन्छ भन्ने आँकलन गरेको थियो । तर सरकार सञ्चालन गर्ने दलहरुको स्वर झन चर्किँदै गयो । माधव नेपाल, दिनप्रतिदिन झन कठोर बन्दै गए । अब माओवादीले वार कि पार छिट्टै गर्नुपर्ने निष्कर्ष निकालेको बुझिन्छ ।

किनभने शान्तिपूर्ण आन्दोलन लम्ब्याउँदै जाँदा स्वयं माओवादीकै लागिपनि आन्दोलन धेरै दिन टिकाई राख्न सहज छैन । काठमाडौंका ठुला पसल खुलेका छैनन । खुद्रा पसले कहाँ भएको सामान्य खाद्य सामाग्रि अब लगभग केहि दिनमै सकिने अवस्था छ । अत पाँच दिनदेखि कुनैपनि सामाग्रि राजधानी भित्रिएको छैन । यस्तै अवस्था रहिरहे स्थानिय जनतालाई मात्रै होइन कि हजारौं संख्यामा रहेका माओवादी कार्यकर्तालाईनै पाल्न माओवादीलाई सहज हुने देखिन्न । अहिलेनै खाने पानी, सुत्ने वास र औषधीको अभावले समस्या भोग्दै गरेका कार्यकर्तालाई भोली खाद्यान्ननै पुर्‍याउन मुस्किल परे कसरि राजधानीमा टिकाईराख्ने ?

अर्को तिर जतिसुकै जनता उत्रेपनि अब शान्तिपूर्ण आन्दोलनको शक्तिलाई सरकारले टेर पुच्छर लगाउँदैन भन्ने अहिलेकै प्रदर्शनले देखायो । त्यसैले माओवादीहरु अब छिटो वार कि पारको अवस्थामा पुगोस भन्ने चाहेको देखिन्छ । त्यसैको परिणामले होला हिजै माओवादी अध्यक्ष प्रचण्डले अब माओवादी दिनप्रतिदिन कठोर बन्दै जाने अभिब्यक्ति दिएका । आम हडताल आक्रामक होस् भनेरै हुनुपर्छ आज उनीहरुले सिंह दरबार प्रवेशमा मन्त्री र कर्मचारीहरुलाई निषेध गरेका थिए । सरकारले सुरक्षाकर्मी लगाएर मुठ भेड निम्त्याउँछ । त्यसले एक खालको द्वन्द स्रिजना गर्छ । कार्यकर्ताहरु तात्तिन्छन् । बढि आक्रामक बन्छन् । स्थानिय जनतामापनि शान्तिपूर्ण आन्दोलन गर्दा गर्दै सरकार दमनमा उत्रियो भन्ने सन्देश जान्छ । अनि सरकार जति कठोर बन्छ, दमनमा उत्रिन्छ उतिनै आफुलाई प्रतिकारात्मक कार्यक्रम दिन सजिलो हुन्छ भन्ने माओवादीको आशय देखिन्छ । जति स्थिति असामान्य बन्छ उतिनै सरकार सञ्चालक दलाह्रुबिच पनि बिग्रह र फाटो देखा पर्छ । नत्र शान्तिपूर्ण आन्दोलन भैराखे उनीहरुबिच कुनै टकराव र असहमती देखिन्न्न । जति संकट देखा पर्‍यो उति दलहरुबिच बिग्रह देखिन्छ र त्यसले माओवादीलाई सजिलो पर्छ ।

अर्को पक्ष अब बिस्तारै वर्षादको याम पनि लाग्दैछ । केहि दिनमै झरी र बादल शुरु हुन्छ । वर्षाद शुरु भयो भने आन्दोलनलाई थेग्न सकिन्न । कार्यकर्तापनि खेतीपातीकालागि घर घर फर्किन थाल्छन् । समय लम्बिँदै जाँदा पार्टीलाई आर्थिक बोझपनि उत्तिकै पर्छ । त्यसको अर्थ जति समय लम्बियो उति माओवादीको आम हड्ताल मत्थर हुन सक्ने संभावना देखिन्छ । सरकारलेपनि त्यहि रणनीति बोकेको माओवादी बुझाई छ । यदि अहिलेको स्थितिमा आन्दोलन मत्थर भयो र बिना उपलब्धि फर्किनु पर्‍यो भने माओवादीलाई सबै भन्दा ठुलो घाटा लाग्छ । पार्टीमा बिबाद चुलिन सक्ने संभावना पनि उत्तिकै हुन्छ। किनभने पार्टीभित्र हार्ड लाईनर भन्ने पक्षले जनबिद्रोहका लागि उपयुक्त परिस्थिति तयार भएको भनेर दबाब दिएको निकै समय भैसकेको छ । पटक पटकका आन्दोलनहरु बिना कुनै उपलब्धि टुंगिने गरेको भनेर नेत्रित्व आलोचित पनि भैसकेको छ ।

त्यसैले अहिलेको आन्दोलन कम्तिमा पनि माओवादी सरकार गठन बिना टुंगिए नेत्रित्व र जनतालेपनि माओवादीलाई पत्याउने छैनन् । किनभने नेत्रित्वले भनिपनि सकेको छ-  कुनै हालतमा बिजय नभै हामी फर्किन्नौं, यो अन्तिम लडाई हो । त्यसैलेपनि माओवादी आन्दोलनबाट त्यसै फर्किन सक्ने अवस्था छैन र त्यसको लागि उसले छिटो भन्दा छिटो सरकारलाइ गलाएर वार कि लगाउन आन्दोलनलाई आक्रमक रुपमा अगाडि बढाउन लागेको देखिन्छ। त्यसैलेपनि आज देखि राजधानी र देशका अन्य भागमापनि थप भिडन्त र झडपका घटनाहरु हुन सक्ने अवस्था छ ।

तपाइँको प्रतिक्रिया